साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कम्फर्टेबल सत्ता गठबन्धनको रणनीति ‘नियन्त्रित अस्थिरता’ 

नेपालको राजनीतिमा नियन्त्रित अस्थिरता कायम गरेर आफ्नो स्वार्थ अनुकूल निर्णयहरू गराउन सात दशकदेखि भारतले यहाँ कमजोरहरूको मोर्चा अर्थात् गठबन्धन बनाएर बलियो शक्तिलाई कमजोर बनाउने रणनीतिका साथ लगानी गरिरहेको छ । यो रणनीतिलाई असफल बनाउन सकिएन भने ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय सङ्कल्पलाई व्यावहारिक रूपमा पूरा गर्न सकिँदैन ।

यसर्थ भारतको हामीभित्र खेल्ने र आफ्नो रणनीति सफल बनाउने क्रियाकलापहरूलाई असफल बनाउनका लागि नेपालीहरू बीचको एकता, सद्भाव र सहकार्य प्रभावकारी बनाउनु पर्दछ । तर दुर्भाग्य पछिल्लो समय कम्फर्टेबल गठबन्धन नै बनाएर एकातिर वामपन्थी राजनीति विभाजित बनाइयो भने अर्कातिर राष्ट्रिय राजनीतिमा दक्षिणपन्थीहरूको प्रभाव बढाएर नेपालको आन्तरिक राजनीतिमा बाह्य चलखेल सहज बनाउन माझण्डहरूले प्रमुख सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेबल गठबन्धन र सरकार नै बनाएर भारतले आफ्नो रणनीतिबमोजिम नेपालको राजनीति अघि बढाउन खोजेको स्पष्ट छ । यो खालको खुला रहस्यलाई नजरअन्दाज गरेर जसरी माझण्डहरूले आफूलाई जनताका बीचमा क्रान्तिकारी देखाउन खोज्दैछन्, यसको भण्डाफोर अनिवार्य भएको छ । नेपाली काँग्रेसलाई पहिलेदेखि नै भारतले विभिन्न समयमा आफ्नो स्वार्थ अनुकूल प्रयोग गरिरहेकै थियो, अहिले त्यसमा माझण्डहरूलाई पनि मिसाएर कम्फर्टेबल सत्ता गठबन्धन बनाउन सफल भएको छ । हुन त २०५२ सालदेखि नै प्रचण्डको नेतृत्वमा माओवादीले सुरु गरेको जनयुद्धमा भारतको सदासयता थियो भन्ने कुरा लुकेको थिएन ।  देउवाको  नेतृत्वमा कम्फर्टेबल सत्ता गठबन्धन बनेपछि त्यो खालको आशङ्का व्यावहारिक रूपमा पुष्टि भएको छ ।

केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न माझण्डहरूले २०७७ साल बैशाखदेखि नै गरेको प्रयासलाई असफल बनाउन खोज्दा ५ पुस २०७७ मा राजनीतिक रूपमा संसद् विघटन भएको थियो । त्यतिखेर माझण्डहरूको योजना असफल बनाउन सकिए तापनि २८ असार २०७८ मा आइपुग्दा न्यायालयसँग लेनदेन गरेर परमादेशमार्फत शेरबहादुर देउवाको नेतृत्वमा कम्फर्टेबल सरकार बनाउन नेपालमा ‘नियन्त्रित अस्थिरता’ कायम गर्न चाहनेहरू सफल हुन पुगे । जसलाई मुख्य सञ्चार माझण्डहरूले संविधान र लोकतन्त्र जोगाउन माध्यमहरूले क्रान्तिकारी कदम चालेको भनेर उनीहरूको प्रशंसा गर्दै दक्षिणपन्थी राजनीति बलियो बनाउने भूमिका निर्वाह गरे र गरिरहेका छन्। । 

जबकि सत्तामा शेरबहादुर देउवाको आगमन कुनै पनि कोणबाट प्राकृतिक रूपमा संवैधानिक र लोकतान्त्रिक मान्न सकिँदैन। तर पनि माझण्डहरू देउवाको नेतृत्वमा सरकार बनाउनुलाई अग्रगमन भन्दै जनमन भ्रमित बनाउने प्रयास मात्र गरिरहेका छैनन्, आगामी निर्वाचनसम्म यो गठबन्धन कायम राखेर नेकपा एमालेलाई हराउने परिकल्पना गरिरहेका छन् । किनभने चुनावी गठबन्धनविना एक्लै चुनाव गए पराजित हुने उनीहरूको आन्तरिक मूल्याङ्कन छ । त्यसैले त माझण्डहरू लोकतन्त्र जोगाउन नेकासँग चुनावी गठबन्धन बनाउनुपर्छ भनेर सार्वजनिक रूपमा वकालत गरिरहेका छन् । 

यतिखेर माझण्डहरू नेकाँसँग गठबन्धन कायम राखेर नेकपा एमालेलाई हराउने र केपी ओलीलाई हराएर आफ्नो हैसियत देखाउने राजनीति जोगाउनमा केन्द्रित छ । यसका लागि उनीहरूले प्रधानमन्त्री तथा नेकाँ सभापति शेरबहादुर देउवालाई फकाइरहेका छन् । तर नेकाँभित्र देउवाईतर समूह जसको नेतृत्व शेखर कोइरलाले गरिरहेका छन्, उनीहरू नेपाली काँग्रेसले कुनै पनि खालको चुनावी गठबन्धन बनाउँदैन भन्दैछन् । 

नवनिर्वाचित महामन्त्री गगन थापा नेपाली काँग्रेस एक्लै चुनावमा जान्छ भन्दै आफ्नो प्रभाव देखाउन केपी ओलीकै विरोध गरिरहेका छन् । नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन सघाएर नेकाँलाई पहिलो राजनीतिक शक्ति बनाउन सकिने भन्ने तिनका अनुमान काम नगर्ने भएपछि माझण्डहरू झैँ गगन थापाहरू पनि आत्तिएर केपी ओलीकै विरोधमा केन्द्रित भएका छन् ।

नेपाली काँग्रेसका कार्यकर्ता भन्छन् बरु मर्न तयार, तर काङ्ग्रेससँग मिलेर चितवनमा छोरीलाई जिताउने र एमालेसँग मिलेर आफूले चुनाव जित्ने अनि हाम्रो आस्थामाथि प्रश्न उठाउने दहिचिउरे नेतालाई अबका चुनावहरूमा जिताउन कुनै पनि हालतमा भोट हालिन्न । 

अहिले नेपालको राजनीतिमा नेकपा एमाले अर्थात् केपी ओलीको जबरजस्त उपस्थिति देखिएपछि कम्फर्टेबलवादीहरू हतप्रभ भएका छन् । आफ्नो पार्टीको आन्तरिक कार्यक्रममा होस् वा गठबन्धनको बैठकमा, केपी ओलीका विरुद्धमा अभिव्यक्ति दिइरहेका मात्र छैनन्, सार्वजनिक कार्यक्रममा पनि ओलीकै विरोधमा बोलिरहेका छन् । तर आफ्नो असल र सबल पक्ष के हो भन्न सकिरहेका छैनन् । त्यतिले मात्र नपुगेर बारम्बार मुद्दाहरू परिवर्तन गरेर जनमन भ्रमित पार्ने गरी भ्रमहरूको सहारा लिइरहेका छन् ।

कम्फर्टेबलवादीहरूले बुझ्नुपर्छ, श्रीमान् पाँचहरूसँग सेटिङ गरेर परमादेशमार्फत प्राप्त कम्फर्टेबल सत्ताको आयु सकिँदै छ र भ्रमको खेती गरेर अबका निर्वाचनहरू जित्न सकिन्न । ललिता निवासको जग्गा प्रकरणमा आफूहरू संलग्न भएको मुद्दा अघि बढ्ने अवस्था बनेपछि विषयान्तर गरेर जनमन भ्रमित पार्नका लागि कम्फर्टेबलवादीहरूले नारायणीहिटी संग्रालयमा निर्माण भइरहेको कफी हाउसलाई मुद्दा बनाएर एमालेका नेताहरूलाई बदनाम गराउन खोजिरहेका छन् । यसबाट पनि स्पष्ट हुन्छ, माझण्डहरू नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न अराजनीतिक मुद्दाको सहारा लिएर आफ्नो राजनीति जोगाउने दरिद्र राजनीति गरिरहेका छन् । 

वर्तमान राज्य व्यवस्था जोगाउन र यसलाई प्रगतिशील लोकतान्त्रिक बनाउन सबभन्दा पहिला भ्रष्टाचारीहरूलाई कारबाही गर्न राज्य डराउनु हुँदैन । ठुला हुन् वा साना सबै भ्रष्टाचारीहरूको पाता कस्नुपर्छ, अन्यथा व्यवस्थामाथि सङ्कट आउने छ । तर कसैलाई राजनीतिक रूपमा खतम पार्ने गरी आरोप लगाउनु भनेको बेइमानी हो । तर कम्फर्टेबल सत्ता गठबन्धनले ललिता निवास जग्गा प्रकरणमा संलग्न मुख्य नेता तथा पक्षहरूलाई जोगाउने मनासयका साथ बतास समूहको मुद्दालाई चर्चामा ल्याएको छ ।

यो खालको दरिद्र राजनीतिले न लोकतन्त्र बलियो बनाउन सकिन्छ न त जनअपेक्षा संशोधन गर्ने गरी राज्य अघि बढ्न नै सक्छ । फिल्मी शैलीमा केही निर्णय र अराजक कामहरू गरेर क्षणिक रूपमा लोकप्रिय हुन खोजिँदै छ । लोकतान्त्रिक गणतन्त्रका लागि यो शैली घातक हुन सक्दछ । किनभने कम्फर्टेवलवादीहरूले राष्ट्रको मुख्य मुद्दामा जनताको ध्यान नजाओस् भनेर सेटिङमा बतास समूहसँग सम्बन्धित नयाँ मुद्दा बजारीकरण गरिरहेको बुझिन्छ ।

आज कम्फर्टेबल गठबन्धनको लक्ष्य र रणनीतिलाई जस्ताको तस्तै जनताले बुझ्ने भाषामा प्रस्तुत गरेर राष्ट्रिय स्वार्थ केन्द्रित राजनीति गरिएन भने भोलि माझण्डहरूले नेपालको वामपन्थी राजनीति मात्र होइन समग्र देशको राजनीति नै विकृत बनाउने छन् । त्यतिखेर नेपाली काँग्रेस मात्र होइन, कम्न्युनिष्ट पार्टीको राजनीति पनि सङ्कटमा पर्नेछ अनि नेपालमा नियन्त्रित अस्थिरता अझ बढ्ने छ । त्यही सङ्कट र नियन्त्रित अस्थिरता निम्त्याउने र बढाउने प्रपञ्चका साथ अहिले शेरबहादुर देउवा नेतृत्वको अप्राकृतिक गठबन्धन र सरकारलाई बलियो बनाउने गरी कम्फर्टेबलवादी मिडिया तथा तथाकथित बुद्धिजीवीहरू परिचालित भइरहेका छन् । त्यसैले सचेत पूर्ण खबरदारीसहित राजनीतिक यात्रा अगाडि बढाउनुको विकल्प छैन ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : २४ बजे