एमाले खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने 

खोटाङ । नेकपा (एमाले) खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको छ । 

शनिवार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित एमालेको नयाँ नेतृत्वले सम्मेलन गर्दै समस्यामा परेका आफ्नो नेता तथा कार्यकर्ताको सहयोगका लागि कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

एमाले अध्यक्ष रामप्रसाद दंगालले ‘टोल–टोलमा पार्टी कमिटी, घर घरमा पार्टी सदस्यताको’ नारा कार्यान्वयन गर्दै उनीहरूको सहयोगमा कोष उपयोग गरिने जानकारी दिनुभयो ।

विशेष गरी दुर्घटना, रोग तथा विभिन्न स्वास्थ्य समस्या निम्तिएको बेला उपचारका लागि कोषको रकम उपयोग गरिने अध्यक्ष दंगालले जानकारी दिनुभयो । 

एमाले अधिवेशनले प्रविधिमैत्री पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी प्रवेश तथा घर फर्क अभियान सञ्चालन गर्ने, व्यवस्थित सङ्गठन–प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने, युवालाई काम ज्येष्ठलाई सम्मान गर्ने नीति अवलम्बन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ०७ बजे