काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर बिक्री गर्न लागेको हो ।
बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले नागरिक लगानीको सेयर मूल्य प्रतिकित्ता ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २९७ रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता १७८ रुपैयाँ र निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ मूल्य तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो वा सो मूल्य भन्दा बढी कबोल गरी आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ । उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, विराटनगर मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रनगर सुर्खेतबाट आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार २ : ०२ बजे
प्रतिक्रिया