‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संस्कृत शिक्षाको भोक: आश्रममै रमाउँदै बटुकहरू

​​​​​​​

​​​​​​​काठमाडौँ । पुसको ठण्डी । खपिनसक्नुको जाडो । धोती पछ्यौरा ओढेका विद्यार्थीहरू । त्यस्तो मौसममा पनि हातमा वेदका पुस्तक लिएर वेदका मन्त्र घोकिरहेका । शान्त वातावरणमा वरिपरी धुपी र बगैँचाले सुसज्जित ठाउँ । हल्ला कतै सुनिँदैन, बरु सुनिन्छ मिठो स्वरमा वेदका मन्त्र उच्चारण गरिरहेका बटुकहरूको स्वर । गुरुले कण्ठस्थ गर्न दिनुभएको वेदका मन्त्र कसले पहिले गएर सुनाउने भन्ने प्रतिस्पर्धा चलिरहेको माहौल । उनीहरूको आँखा झिमिक्क पनि भएको देखिँदैन । झट्ट हेर्दा लाग्छ कुनै मन्दिरमा प्रवेश गरेको जस्तो देखिन्छ । रातो रङ्गको जस्तामाथि शिरमा गजुर हरियाली वातावरण ।

यो ठाउँ अन्त कतै नभएर नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय वनकालीको हो । अझै रोचक कुरा त के छ भने यहाँ अध्ययनरत केही विद्यार्थीहरू घर नगएको पनि वर्षौँ भइसक्यो । यहाँका विद्यार्थीहरूले दसैँ, तिहार लगायतका चाडपर्वहरू समेत यहीँ मनाउँदै आएका छन् । 

संस्कृत सिक्नकै लागि विगत पाँच वर्षदेखि गुरुकुल नछाडेको हुम्लाका कविन्द्र उपाध्याय बताउनुहुन्छ । गाउँमा रहँदा चिसोका कारण वर्षको ६ महिना पढाइ नभएर यसै बस्न बाध्य उहाँ यहाँ आएर पढ्न पाउँदा निकै हर्षित हुनुहुन्छ । भन्नुहुन्छ, “हाम्रो गाउँमा विवाह, व्रतबन्ध र पूजाआजाको दिनमा समेत विद्यालय बन्द हुन्थ्यो । यहाँ पाँच वर्ष बितिसक्दा पनि समय बितेको पत्तै भएको छैन ।” पाँच वर्षदेखि आफूले परिवारका सदस्यलाई समेत देख्न नपाएको उहाँले बताउनुभयो ।

संस्कृत अध्यापनका कारण न उहाँलाई चाडपर्वको नै रौनक छ । सधैँ पशुपति वेद विद्याश्रममा भेटिनुहुने उहाँलाई गाउँको झल्को भने आइरहन्छ । चक्रपथसँगको कुराकानीमा परिवार र आफन्तको धेरै नै याद आउने उहाँ बताउनुहुन्छ । परिवारको याद आए पनि आफू निराश भने नभएको उहाँले बताउनुभयो । 

यहीँ अध्ययन गर्दै आइरहनुभएका दोलखाका रामचन्द्र न्यौपानेको कथा भने फरक छ । उहाँ भने बिदाका समयमा नियमित आफ्नो घर जाँदै आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “यहाँको पढाइले परिवारसँगको निकटता पनि छुटेको छैन भने नियमित पढ्न पनि पाएको छु ।”

२०३९ सालमा स्थापना भएको यस विद्यालयमा हाल १ सय ८ जना बिद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् । हाल यस विद्यालयमा कक्षा ४ देखि १२ कक्षासम्म पढाइ हुँदै आइरहेको छ । 

हाल सर्वत्र चासोको विषय भए पनि नेपालमा यसको प्रभावकारिता खासै नदेखिएको अभिभावक श्रीकृष्ण वाग्ले बताउनुहुन्छ । “कलिका मान्छेले धर्म छाड्दै गए । अस्तित्व माटोमा मिलाए । जसका कारण परापूर्वककालदेखि मान्दै आएको सबै रीतिरिवाज तथा संस्कृति मासिँदै गएको देखिन्छ”, उहाँ थप्नुहुन्छ, “नेपालमा संस्कृत शिक्षालाई हलुका रूपमा लिइँदै आएको देखिन्छ । यसरी नै चल्दै जाने हो भने हाम्रो अस्तित्व नै कुनै दिन मेटिन सक्छ ।” आफ्नो संस्कृतिलाई बचाउनका लागि नै आफ्ना सन्तानहरूलाई गुरुकुलमा भर्ना गरेको उहाँले बताउनुभयो ।

संस्कृत प्रतिको मोह बढ्दै जाँदा नेपालमा पनि रुचि बढ्दै गएको विद्याश्रमका शिक्षक कृष्णप्रसाद भण्डारी बताउनुहुन्छ । “नासाले संस्कृत भाषा र हाम्रो पूर्वीय दर्शनका बारेमा खोज अनुसन्धान गरिरहेको छ । संस्कृत शिक्षालाई कुनै समय बुर्जुवा शिक्षा भन्नेहरू नै अहिले यस विषयमा आकर्षित भएको देखिन्छ ।” कुनै दिन संस्कृत शिक्षाको अवलम्बन विश्वभर हुने उहाँको विश्वास छ । 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : ३९ बजे