डोटी । डोटीमा शनिबार जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा साँझ ६ बजेको समयमा भएको उक्त दुर्घटना परी दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ सिर्खोलीका २३ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडि सवार साउँदको सुजङ अस्पताल राजपुर डोटीमा उपचारको क्रममा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जनाएको छ ।
त्यस्तै गम्भीर घाइते हुनेमा सोही ठाउँ सिर्खोलीकै २७ वर्षीय मोटरसाइकल चालक प्रकेश बिक रहेका छन् । बिकलाई सुजङ अस्पताल राजपुरबाट धनगढीतर्फ रेफर गरिएको छ ।
डडेलधुराबाट दिपायलतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको सेतो बोलेरो जिपले सु.प.प्र. ०३-००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
ठक्कर दिने बोलेरो जिपको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार ८ : २२ बजे
प्रतिक्रिया