काठमाडौँ । नेकपा एमालेले भारतीय पत्रिका द हिन्दूमा अन्तर्वार्ता मार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारका बारेमा गरेको टिप्पणीमा आपत्ति जनाएको छ ।
शनिबार बिदाको दिन पार्टी कार्यालयमा परराष्ट्र विभागको अनौपचारिक बैठक नै राखेर एमालेले विज्ञप्ति जारी गर्दै प्रचण्डको हिन्दूसँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गरेको छ । एमालको परराष्ट्र विभागका प्रमुख रघुबीर महासेठले अंग्रेजी भाषामा प्रकाशित गरेको विज्ञप्तिमा केपी शर्मा ओलीले ‘चाइना कार्ड’ प्रयोग गरी चीन भ्रमणको निर्णय गरेर अपरिपक्वता देखाएको भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्याउने कार्य रहेको उल्लेख गर्नुभएको छ ।
दाहालले भारतीय अखबार ‘द हिन्दु’ सँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड प्रयोग गरेको’ बताएका थिए ।
प्रधानमन्त्री ओलीले मंसिर १७ देखि गर्न लाग्नुभएको चीन भ्रमणको विषयलाई लिएर दाहालले गैर राजनीतिक ‘विष वमन’ गरेका थिए । दाहालको उक्त अभिवयक्तिको यत्तिखेर चौतर्फी विरोध भइरहेको छ । कुटनीतिक मर्यादाको सीमा नाघेर दाहालले गरेको उक्त हर्कतको एमालेले जनजागरण अभियान मार्फत पनि विरोध गर्ने तयारी गरिरहेको छ ।
प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार ७ : ३७ बजे
प्रतिक्रिया