राष्ट्रपति भवनमा घटस्थापना

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत

धनकुटा । नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको हो । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत हुनुभएको छ । 

उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । 

शुक्रबारदेखि जारी अधिवेशनमा अध्यक्षका दाबेदार तामाङ, राई र आङ्लाले आकांक्षा राखेको भएपनि उहाँहरुलाई क्रमशः उपाध्यक्ष, सचिव र उपसचिव बनाएर पराजुलीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । सुरुमा ४ जनाले दाबी गरेको भएपनि अन्तिम समयमा आएर पराजुली र राईले अध्यक्षमा दाबी गर्नुभएको थियो । अन्तिममा सहमतिमा जिल्ला कमिटी घोषणा गरिएको हो ।

जिल्ला अधिवेशनमा ७ वटा स्थानीय तहबाट करिब ९ सय प्रतिनिधि सहभागी भएका थिए । जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी गराइने जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : ०८ बजे