सन् १९७१ तिर हुनुपर्छ मैले भारतको असम राज्यको मरियानी भन्ने ठाउँको एउटा प्रारम्भिक स्कुलमा पढ्दा पाठ्यक्रमहरूमा सिद्धार्थ गौतम प्राचीन भारतको कपिलवस्तु राज्यको लुम्बिनीमा जन्मेका थिए भन्ने लेखेको हुन्थ्यो । मैले सम्भवतः बुद्धबारे पहिलो पटक सुनेको पनि त्यतिबेला नै थिएँ । त्यो कुरा गलत थियो भन्ने मलाई त्यसबेला थाहा हुने कुरा भएन । केही वर्षहरूपछि नेपालका स्कुलमा आएर पढ्दा थाहा भयो, बुद्ध नेपालको कपिलवस्तुको लुम्बिनीमा जन्मेका रहेछन् । त्यस बेलाको कपिलवस्तु राज्य अहिलेको नेपाल पारी भारततिर पनि फैलिएको थियो । त्यस अर्थमा वर्तमान भारतको कपिलवस्तु राज्यमा बुद्ध जन्मेको भन्दा अर्धसत्य भए पनि भारतको लुम्बिनी भन्नु अनर्थ नै थियो ।
सन् १९८४मा म नेपालबाट फेरि भारत फर्किसकेको थिएँ । त्यस बखत म भर्खरै माध्यमिक स्कुल पास भएर मेघालय राज्यको खानापाडाको एउटा स्कुलमा पढाउन थालेको थिएँ । खानापाडाको पूर्वी भेकको किलीङ भन्ने अर्को गाउँमा स्थानीयहरूले खोलेको प्राथमिक स्कुल थियो । त्यहाँ नेपालको सर्लाहीतिरबाट आएका चुडामणीज्यू शिक्षक हुनुहुन्थ्यो । बिदाको एक दिन उहाँ सधैँ झैँ खानापाडाका हामी तीन जना शिक्षकहरू बस्ने ठाउँमा आउनुभयो । उहाँले पाठ्यक्रमको एउटा किताब आफूसँगै लिएर आउनुभएको थियो । त्यसमा नेपालको सुदूर उत्तरतिर रहेको संसारको सबैभन्दा अग्लो शिखर माउण्ट एभरेष्ट भारतमा छ भनेर लेखिएको थियो । यो मिथ्या प्रचार अज्ञानताको पराकाष्ठा थियो कि नेपाललाई छायाँमा राख्ने अभीष्टको एउटा हिस्सा थियो भनेर हामीले धेरै बेरसम्म चर्चा गरेका थियौँ । पछि मित्र चूडामणिले यो त्रुटीबारे पुस्तकका प्रकाशकलाई भुल सुधार गर्न पत्र पनि लेखेको बताउनुभएको थियो । प्रसङ्गमा आएको सगरमाथा एउटा उपप्रसङ्ग मात्र भएको हुनाले यसलाई यहीँ छोडेर बुद्ध चर्चालाई अगाडि बढाउन सान्दर्भिक हुनेछ ।
धेरै पछिसम्म पनि स्कुलका पाठ्यक्रम र यताउतिका सामान्य पुस्तकहरूबाट मैले बुद्धले यशोधरासँग विवाह गरेपछि आफ्ना सारथिसँग टहलिन जाँदा रोगी, वृद्ध, सन्यासी र मृतक छुट्टाछुट्टै सडकमा देखेपछि वैराग्य उत्पन्न भयो र २७ वर्षको उमेरमा गृह त्याग गरेको भन्ने बुझ्दै आएको थिएँ । बुद्धको बाल्यकाल र किशोरावस्थाबारे लेखिएका साहित्यहरू हेर्दा त्यहाँ पनि वैराग्यको प्रचुरता अनुभव हुन्छ । सडकमा टहलिन जाँदा देखिएका उपरोक्त दृश्यहरूबारे बुद्धले सारथि छन्नसँग गरेका प्रश्नले उनले यी अवस्थाहरूबारे पहिले कल्पना नै नगरेको जस्तो देखिन्छ । सिद्धार्थको जन्म भएपछि भविष्यवेत्ताहरूले बालक कि चक्रवर्ती सम्राट् बन्ने कि ज्ञानी सन्त बन्ने भविष्यवाणी गरेपछि चिन्तित राजा शुद्धोदनले बालकलाई सांसारिक मोहमा रहोस् र कपिलवस्तुको सम्राट् बनोस् भन्ने चाहना राखेका थिए । मगध र कोशल जस्ता शक्तिशाली राजतन्त्रको प्रभुत्व रहेको त्यस समयमा दबाबमा रहेको सानो गणराज्य कपिलवस्तुका राजा अथवा गणपतिले यस्तो कामना गर्नु अस्वाभाविक थिएन ।
निश्चय पनि राजाले छोरालाई वैराग्य उत्पन्न नपरोस् भनेर सजगता अपनाएको देखिन्छ । राजाको सजगताका कारण हुनसक्छ तरुणावस्थामा पनि उनलाई सांसारिक दुःखको कुनै आभास नै थिएन । सिद्धार्थ जस्तो मेधावी किशोर सांसारिक दुःखका चार अवस्थाको ज्ञान नै थिएन भनेर मान्न सकिने देखिँदैन ।
यस्ता प्रसङ्गमा सिद्धार्थले सडकमा देखेका यी दृश्यहरू बुद्धको बाल्यकाल तिरका नै होलान् कि भन्ने सन्देह उत्पन्न गराउँछ । यदि ती घटनाहरू राज्य त्यागभन्दा केही अघिका हुन् भने तीनको महत्त्व बुद्धका लागि वर्णन गरिए जस्तो गृह त्यागका निम्ति उत्प्रेरक नरहेको सम्भव छ ।
गत कार्तिक महिनाको पहिलो सप्ताहतिर मेरो बुटवलतिरको संक्षिप्त यात्रामा थियो । देवदहतिर आउँदा जाँदा सानो रोहिणी खोला देखेँ । बुद्धकलामा कपिलवस्तु राज्य र कोलिय राज्यको साँध थियो यो खोला भन्ने उल्लेख गरिएको पाइन्छ । दौडिँदो बसबाट भए पनि मैले त्यसको आकार, पानीको मात्रा र दिशा बसको गतिले साथ दिँदासम्म हेरिरहेँ । यस नदीको किनारै किनार खोज्दै गए बुद्धकालीन केही साक्ष्य पाइन्थ्यो कि भन्ने पनि मनमा आयो । बुद्धको खोजी गर्ने धुरन्धहरूले यो प्रयास गरिसकेका होलान् भन्ने लाग्यो । आपसमा बिहेबारीको सम्बन्धमा रहेका शाक्य र कोलियहरू यही खोलाको पानीको उपयोगलाई लिएर आपसमा झगडा गरिरहन्थे । खोलामा प्रशस्त पानी भएको भए पानीका लागि झगडा गर्नुपर्ने अवस्था आउने थिएन । आजको रोहिणी नदीको स्वरूपले पनि यसको आँकलन गर्न सकिन्छ । सिँचाइका लागि पानीमा भएको झगडाले ती दुई राज्यमा कृषिको महत्त्वलाई पनि सङ्केत गर्दछ ।
वर्तमान भारतको संविधानको प्रारुप तयार गर्न शीर्षस्थ भूमिका खेलेका डा. बाबासाहेब भीमराव आम्बेडकरका अनुसार बुद्धलाई २७ वर्षको उमेरमा गृह त्याग गर्न बाध्य पार्ने दुई राज्यबीच रोहिणी नदीको पानीलाई लिएर भएको झगडा थियो । उनको यो मतले बुद्ध घुम्न जाँदा देखेका चार विरक्ति उत्पन्न गर्ने दृश्यहरूको तात्कालिक प्रभावले गृह त्याग गरेको भन्ने प्रचलित तर्कलाई खण्डन गर्दछ । यो प्रभाव परेको भए पनि जुन अवस्थामा बुद्धले गृह त्याग गर्न बाध्य हुनुपर्यो, त्यसको मुख्य कारण झन्डै युद्धको अवस्थामा पुगेको रोहिणीको पानी माथिको दुई राज्यको झगडा नै थियो भन्ने अम्बेडकरको मत रहेको देखिन्छ । उनले आफ्नो पुस्तक ‘बुद्ध र उनको धम्म’मा यो कुरा सविस्तार उल्लेख गरेका छन् ।
दलित हिन्दु परिवारमा १४ अप्रैल १८९१ मा जन्मेका उनी हिन्दूवर्ण व्यवस्थाका कट्टर आलोचक थिए । उनले कोलम्बिया विश्वविद्यालय र लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा डाक्टरेट उपाधि प्राप्त गरे । कानुन र राजनीतिक शास्त्रमा उनले शोध कार्यहरू पनि गरे । भारतको स्वतन्त्रता सङ्ग्राममा पनि उनको अग्रणी भूमिका रह्यो । महात्मा गान्धीले दलितप्रति उदारता देखाउन प्रयोग गरेको ‘हरिजन’ परिभाषाका पनि अम्बेदकर आलोचक थिए ।
सन् १९४७ मा उनी भारतको संविधानको मस्यौदा समितिका अध्यक्ष भए । उनले सन् १९५६ मा आफूलाई बौद्ध धर्ममा दीक्षित मात्र गरेनन्, सबै भारतीय दलितहरूलाई बुद्धको अनुयायी भएर हिन्दु वर्णाश्रमको पासोबाट आफूहरूलाई मुक्त गर्न अपिल समेत गरे । सन् १९४७ देखि १९५१ सम्म उनी स्वतन्त्र भारतको जवाहरलाल नेहरुको सरकारमा कानुन मन्त्री भए । यी विद्वानको बुद्धको गृह त्यागको सन्दर्भको मत चर्चामा रहँदै आएको छ ।
बर्षेनि पानीको विषयलाई लिएर सानोतिनो झगडा हुने गरेको भए पनि खडेरी पर्दाको वर्ष यो विवाद उग्र बन्दथ्यो । पानी उपयोग गर्ने मामिलामा दुई राज्यबीच चलेको झगडा मिलाउन कपिलवस्तु राज्यको गणसभागारमा बोलाइएको गणसभामा कोलियभन्दा शक्तिशाली शाक्य गणको राज्य कपिलवस्तुले युद्ध गरेर नै आफ्नो दाबी अनुसारको पानी लिई छाड्ने बहुमतको निर्णय भयो । सिद्धार्थले युद्ध गरेर मानव रगतको खोलो बगाउन भन्दा दुवै पक्षले आपसी सहमति गरेर पानीको उपयोग गर्नु पर्नेमत गणसभामा राखेका थिए । हिंसालाई कुनै हालतमा स्वीकार नगर्ने उनको अडानका कारण अल्पमतमा परेका उनीमाथि गणको निर्णय उल्लङ्घन गरेको आरोप लागेको थियो । नियमानुसार यस्तो अवस्थामा सिद्धार्थ र उनको परिवार नै राज्यबाट निष्कासित हुनुपर्ने थियो । गणपति राजा पिता शुद्धोदनको परिवार नै राज्यबाट निष्कासित हुनुपर्ने अवस्था सामान्य थिएन । निश्चय पनि यसले ठुलो चिन्ता शुद्धोदनको परिवारमाथि आइपरेको थियो । प्रचलित बुद्ध साहित्यमा सिद्धार्थ पत्नी यशोधरालाई पतिको गृह त्यागको पूर्वाभाष भएको वर्णनले पनि कता कता अम्बेडकरको तर्कलाई बल मिलेको अनुभव हुन्छ । सिद्धार्थले आफू धर्मार्थ राज्य त्याग गर्ने निश्चय गरेपछि भने सपरिवार निष्कासित हुनुपर्ने बाध्यता टरेको थियो । यसले चार दृश्यहरू देखेरभन्दा रोहिणीको जल विवादबाट सम्भावित रक्तपातले सिद्धार्थमा वैराग्य जागृत गराएको हो कि जस्तो देखिन्छ । बौद्ध साहित्यहरूमा बुद्धको गृह त्यागलाई महाभिनिष्क्रमण भनिएको छ ।
(लेखक साहित्य र इतिहासका अध्येता हुनुहुन्छ ।)
प्रकाशित मिति : २५ पुस २०७८, आइतबार ९ : ०९ बजे
प्रतिक्रिया