झापा। अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताउनुभयो ।
उहाँका अनुसार क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा पनि जिल्लामा रगत धेरै खपत हुने गरेको छ । उहाँले साउन, भदौ र असोजमा चार हजार दुई सय ८५ युनिट रगत खपत भएको जानकारी दिनुभयो । “चाडपर्वका कारण कुनै सङ्घ संस्थाले रक्तदान कार्यक्रम गर्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “अब रक्तसञ्चार केन्द्रमा एक दिनलाई मात्र पुग्ने रगत छ ।”
उहाँले विगतमा जस्तो रक्तदान गर्ने युवासमेत घटेको बताउनुभयो । धेरै युवा वैदेशिक रोजगार र अध्ययनका क्रममा विदेशिँदा रगत सङ्कलनमा कमी हुन थालेको उहाँको विश्लेषण छ ।
जिल्लामा सबैभन्दा बढी ‘ओ’ पोजेटिभ रगत खपत हुने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रेडक्रसले सञ्चालन गरेका तीन रक्तसञ्चार केन्द्रबाट १५ हजार पाँच सय ७६ यूनिट रगत बिरामीलाई उपलब्ध गराइएको थियो । सो अवधिमा तीन हजार युनिट सेतो रगतसमेत खपत भएको छ ।
एक वर्षमा एक सय ३७ वटा रक्तदान कार्यक्रममार्फत पाँच हजार ५८ स्वयमसेवी रक्तदाताले रगत दान गरेका थिए । सो अवधिमा आठ हजार ५२ रक्तदाताले विर्तामोडको पञ्चकन्या, विएण्डसी र भद्रपुर रक्तसञ्चार केन्द्रमा आएर रगत सो रगत दान गर्नुभएको थियो ।
प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ४ : ५१ बजे
प्रतिक्रिया