राष्ट्रपति भवनमा घटस्थापना

एमाले बैतडी जिल्ला नेतृत्वमा सहमति जुटेन, निर्वाचनको तयारी

बैतडी ।  नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन पाटनमा शुक्रबारदेखि जारी रहेको छ । शुक्रबार उद्घाटन सभा सम्पन्न गरेको एमालेले आज बन्दसत्र पनि टुंग्याएको छ । बन्दसत्रबाट सहमतिमा नयाँ नेतृत्व चयनको प्रयास गरिए पनि सहमति भने जुट्न सकेको छैन । 

निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार अहिले मतदाता नामावली सार्वजनिक गरिएको छ । विभिन्न स्थानीयतहबाट आएका ५ सय ९ जना र जिल्ला कमिटीले मनोनयन गरेका २६ जना प्रतिनिधि गरी जम्मा ५ सय ३५ जना मतदाताको नामावली सार्वजनिक गरिएको छ । 

साँझ ५ बजेदेखि उमेद्‍वारहरूको मनोनयन दर्ता हुने बताइएको छ । यसअघि दिउसो १ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भनिएकोमा प्राविधिक कारणले प्रक्रिया केही ढिला भएको प्रमुख निर्वाचन अधिकृत नरेश विश्वकर्माले जानकारी दिए ।

एमाले बैतडीको जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द आकांक्षी रहेकाछन् । यता एमाले बैतडीका सहइञ्चार्ज लिलाधर भट्टले निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि अझै पनि सहमतिको अन्तिम प्रयास जारी रहेको बताएका छन् । 

अध्यक्ष र सचिव पदमा चुनाव हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ५ : ४९ बजे