बुटवल । सहकारी ठगीमा पक्राउ परेर अनुसन्धान भइरहेका रवि लामिछालेनलाई आज रुपन्देहीबाट कास्की लगिँदै छ । बुटवलको सु्प्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लिखित बयान सकिएपछि पुन: कास्की लैजान लागिएको हो ।
कास्कीबाट बयानका लागि रूपन्देहीको भैरहवामा रहेका लामिछानेको मंगलबारदेखि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान सुरु गरिएको थियो । ३ दिनमा साढे २३ घण्टा वयान लिइएको सरकारी न्यायधिवक्ता पौडेलले बताउनुभयो । त्यसक्रममा लामिछानेलाई ७४ प्रश्न सोधिएको थियो । सरकारी वकिलको कार्यालयले बयानका आधारमा प्रतिवेदन तयार गर्ने छ ।
लामिछानेको लिखित बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पन्डित , प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता थियो । बयान सकिए लगत्तै लामिछानेलाई कडा सुरक्षा घेरामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रंजीतसिंह राठौरले बताउनुभयो ।
प्रहरीले बयान सकिएलगत्तै हिजै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्धएयर मार्फत कास्की पठाउने तयारी गरेको थियो । यद्यपि बाक्लो हुस्सुका कारण साँझको विमान नउडेपछि लामिछानेलाई रुपन्देहीमै राखिएको हो । अब लामिछानेलाई आज कास्की पठाइने छ ।
प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ८ : ५७ बजे
प्रतिक्रिया