देशका अधिकांश भागमा आज मौसम सफा रहने

बगेर खेर गइरहेछ भोटको नुन

घुस प्रकरणमा मन्त्री सांसदबीच आरोप प्रत्यारोप

काठमाडौं । भैरहवाको हिमालयन टाइगर प्यालेसमा संचालित रोयल टाइगर रिक्रियशन सेन्टरलाई क्यासिनो संचालन अनुमति दिदा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सोवापत करोडौं घुस लिएको प्रकरणले आफ्नै पार्टी कांग्रेसका सांसद राजेन्द्र बजगाई, मन्त्री पाण्डे र इन्भेष्टमेन्ट ग्रुपबीच आरोप प्रत्यारोप चलेको छ।

घुस दिएको भन्ने समाचार प्रति स्यंयं इन्भेष्टमेन्ट ग्रुपले पनि आपति जनाएको छ।
हिमालयन टाइगर इनभेष्टमेन्ट ग्रुपका अध्यक्ष बुद्धिसागर सुवेदीले एक विज्ञप्ती प्रकाशित गर्दै आर्थिक मन्दीको चपेटामा परेको देशमा ठूला व्यावसाय संचालनलाई सुचारु गर्न प्रोत्साहन गर्नुको साटो छोटो समयमा भैरहवाको अन्तराष्ट्रिय विमानस्थल संचालन लगायतका सकारात्मक काम गरिरहेका मन्त्री बद्री पाण्डेलाई आक्षेप लगाउनुले उद्योगी व्यावसायी तथा सकारात्मक काम गर्नेलाई निरुत्साहित पार्ने बताएका छन् ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सामाजिक संजालमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले एउटा क्यासिनोलाई अनुमति दिएको र सोवापत करोडौं घुस लिएको भन्ने टिप्पणीका आधारमा समाचार प्रकाशन प्रसारण भएको थियो ।

अध्यक्ष सुवेदीले विज्ञप्तीमा सांसद बजगाईलाई लक्षित गर्दै टाइगर प्यालेस रिसोर्ट संचालनमा अवरोध गर्न विगतदेखि नै एउटा गिरोह लागिरहेको उल्लेख गर्दै सोही समूहबाट प्रवाहित गलत सूचनाका आधारमा प्रकाशित÷प्रसारित समाचारमा कुनै सत्यता नभएको उल्लेख गरेका छन् ।
उनले सरकारले तय गरेको मापदण्ड पूरा गरी सरकारले तोकेको राजश्व तिरेर संचालनको अनुमति लिएको जनाएका छन् । त्यस्तै अध्यक्ष सुवेदीले राज्यले विदेशी लगानीको अपेक्षा गरिरहेको अवस्थामा गैरआवासिय नेपालीहरूले दुख गरि आर्जन गरेको रकम मिलिजुली लगानी गरेर संचालन गरिरहेको व्यावसाय बन्द गराउन सक्रिय गिरोहको भ्रमपूर्ण सूचना प्रकाशन प्रसारण नगर्ने पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ४ : १३ बजे