संस्कृत साहित्यका शास्त्री गर्नुभएका तथा सांस्कृतिक अभियान्ता घनश्याम कोइरालाद्वारा लिखित पुस्तक, “आस्था र संस्कृति” धर्मका बारे हाम्रो अचेत् दृष्टि उघार्ने एक संगालो बनेको छ । गौरी पब्लिक रिलेसन एन पब्लिकेसनद्वारा प्रकाशित यस पुस्तकका १९१ पृष्ठहरुमा २१ विषयवस्तुहरु समेटिएका छन् । लेखकले सुरुमै यस पुस्तक नितान्त आफ्नो रुचि र दृष्टिकोण प्रस्तुत गर्न लेखिएको कुरा प्रष्ट पार्नुभएको छ । पुस्तक पढ्दै गर्दा धर्मका नाममा राम्रा पक्ष केलाउन नसकि नकारात्मक पक्षलाइ मात्र अँगाली राजनीति गर्नेहरुलाई यो पुस्तकमा वर्णित शब्दहरुले दरै झापड हानेको महसुस हुन्छ । यस पुस्तकमा भएका २१ लेख मध्ये ५ लेखहरुमा लेखकले व्यवहारिक दृष्टिकोणमा बढि जोड दिनुभएको छ । धर्म र धार्मिक कुराहरुलाइ बढि दार्शनिक र मनगढन्ते मान्ने प्रवृत्ति बढ्दै गर्दा लेखकले धर्मका हरेक आयाममा व्यवहारिक पक्ष हुन्छन् भन्ने कुरामा जोड दिनु सकारात्मक देखिन्छ । सरल भाषाशैलिमा लेखिएको यो पुस्तक भित्रका हरेक लेखहरु पाठकले सजिलै बुझ्नसक्ने तरिकाले प्रस्तुत गरिएका छन् । पुस्तकमा उल्लेखित संस्कृत श्लोकहरु र वेदका अंशहरुले लेखकको अध्ययनको निरन्तरता र ज्ञानबारे उच्च तहको विवेचना महसुस गराउँदछ ।
पुस्तकका हरेक लेखमा हामीले जानि नजानि प्रयोग गर्ने, कटाक्ष गर्ने र आलोचना गर्ने शब्दहरु र तिनको अर्थको विस्तृत व्याख्या गरिएको पाइन्छ । विचार होस् या त तथ्य, त्यसकोप्रकट गर्ने निकै महत्वपूर्ण माध्यम हो शब्द। शब्दहरुका उत्पत्ति र तिनको मूल अर्थ नै जान्ने चेष्टा नगरि हाम्रा कल्पोकल्पित अनुमानहरुलाइ परिस्थितिसँग जोडेर हामी निष्कर्श निकाल्छौँ । यस्तो गर्नु जुनसुकै हिसाबले पनि घातक हुन आउँछ ।लेखकले पौराणिक संस्कृति देखि विद्धमान अवस्थासम्मका चुनौति तण्था बदलिएका र बदल्न लगाइएका पाटोहरुलाइ समग्ररुपमा केलाउनुले यस पुस्तकको महत्वलाइ दर्साउँछ । धर्मलाइ द्वन्द्यात्मक दृष्टिकोणले नहेर्नु र प्रगतिशिलतालाइ नकार्दै रुडिवादि संस्कारमै रहेर धर्म माथि लान्छना लगाइरहने प्रवृत्ति प्रति लेखकको कडा आपत्ति रहेको प्रष्टै देखिन्छ । धर्म ग्रन्थहरु तथा पुराणहरुमा सबल र दुर्बल पक्ष दुवै खुलस्त हुँदा पनि यति उदारवादि संस्कृतिमा प्रगतिशिल हुन नसकि नकारात्मक पक्षमा मात्र जकडिएर राजनीति गर्न खोजिरहेकाहरुलाइ यस पुस्तकले राम्रै पाठ पढाउने देखिन्छ । संस्कृतका शब्दहरुलाइ अंग्रेजि शब्दका अर्थसँग दाँजेर निष्कर्श निकाल्ने परिपाटि त विद्धमान छ नै । यस पुस्तकमा पितृपक्षको महत्व देखि नारीशक्ति गुरुपूर्णिमा स्वस्थानी आदि विभिन्न पर्वहरुको सकारात्मक पक्ष र परिस्थिती अनुरुपको आचरणलाइ केलाइएको छ । लेखकका विचारहरु प्रस्तुत गर्ने शैलीमा द्वन्द्त्मक प्रवृत्ति भेटिन्छ जसले लेखकको मार्क्सवादी दृष्टिकोणलाइ प्रष्ट्याउँदछ । मार्क्सवादी भन्ने बित्तिकै धर्मको नाम नै लिन नहुने संकोचित विचार राख्नेहरुका लागि यो पुस्तक तेस्रो नेत्र कै रुपमा उपयोगि हुने देखिन्छ । विश्वास र अन्धविश्वासमा फरक छ विश्वास आस्था हो दृष्टिकोण हो भने अन्धविश्वास अज्ञानता ।
कुनै पनि कृति वा लेखकको शुभचिन्तकले मात्र समालोचनाका साथै आलोचना गर्ने चेष्टा गर्दछ । त्यसैले यो पुस्तक पढ्दै गर्दा केहि ठाँउहरुमा मैले समाधानमुलक आयामहरुको कमि पाएँ । हो, समस्या र गलतफहमी छन् तर सबल पक्षलाइ लिँदै गर्दा हाम्रो समाजमा नैतिक दबाब सृजना हुने गरेको र निम्न आयवर्गहरु आर्थिक चपेटामा पर्दै जाने र त्यसको परिणाम स्वरुप बिस्तारै बिस्तारै आफ्नै संस्कृतिप्रति वितृष्णा पलाउने प्रवृत्तिको विकास हुँदै गएको देखिन्छ । यी र यस्ता विषयवस्तुहरुलाइ पनि समेटेर लेखकको विचार पढ्न पाएको भए थप उत्कृष्ट हुने थियो। पुस्तकका लेखहरुमा पुराणहरुका वर्णन सुन्दै गर्दा मेरो महिलावादी हृदय खल्लो हुँदै गयो । मैले पुराण चाणक्य नीति आदि पढ्ने जमर्को गर्दा महिलामाथि गरिएका विभेदले मेरो पढ्ने इच्छाशक्ति बचाइराख्न असफल भएँ । हो किताबमा भनिए झैँ नकारात्मक पक्षलाइ हटाउनु जरुरी छ तर पितृसत्तात्मक र पुँजिवाद फस्टाएको अहिलेको सामाजिक व्यवस्थामा नैतिक चेतको कमि र असाधारण शक्ति प्राप्तिको होडबाजिमा समानताका लागि आफ्ना विवेक प्रयोग गर्ने निकै कम हुन्छन् ।त्यसैले यसका लागि सांस्कृतिक चेत् भएकाहरुले धर्मको आर्थिक, सामाजिक र नैतिक दृष्टिकोणलाइ सरल र छरितो ढंगले प्रस्ट्याउन सक्नु पर्दछ र मात्र सम्पूर्ण पाठकले पुस्तकबाट लिनु पर्ने ज्ञान सहजरुपमा लिन सक्दछन् ।
समग्रमा नेपालको परम्परा, सम्पदा, संस्कृति र संस्कारले असल सामाजिक र नैतिक एक्यबद्दताको चित्रण गर्ने गर्दछ । यसलाइ परिवर्तित र सकारात्मक दृष्टिले हेर्न सकियो भने नेपाली समाजलाइ सु संस्कृत नैतिक चेतना मुलक र सामाजिक सद्भाव युक्त बनाउन सकिन्छ । हाम्रा धर्म र संस्कारहरु सम्पूर्ण प्रकृति र हरेक प्राणिको आदर सत्कार गर्ने भएकाले यीनका नकारात्मक पक्षलाइ बढावा नदिइ मानिसको विवेकी पहिचान गर्न यस पुस्तकले पाठकलाइ प्रेरित गर्दछ । अहिलेको समाजको अवस्था हेर्दा युवाको महत्व निकै बढ्दो छ । हामीले कोरिया, चीन लगायत विभिन्न देशका उदाहरण हेर्दा देख्छौँ युवा जता मोडिन्छन् देश त्यतै मोडिन्छ । आफ्नो मौलिकता र इतिहासलाइ नकारेर कुनै पनि देशले दिर्घकालिन विकास गर्न सफल भएको छैन, बरु झनै खस्किएका छन् । देशभित्रको एकतालाइ बचाइ राख्ने मुख्य भुमिका इतिहास संस्कार र संकृतिले नै गर्दछ । यिनै कुरामा यदि कुनै बैरिले लोभ र क्षणिक सुखसयलका लागि द्वन्द निम्त्याए भने देश उठ्न नसक्ने गरि थला पर्ने अवस्था सृजना हुन्छ । संस्कृति मासिन्छ सद्भाव रहन्न र नेपालीको अस्तित्व नै नरहन पनि सक्छ । यस पुस्तकबाट के कुरा पुष्टि हुन्छ भने हाम्रा संस्कारहरु हामिले सोँचे जस्ता अतिवादि छैनन् बरु उदारवादि छन् । मानिसले आफ्नो आचरण जस्तो राख्छ उसले आफु वरिपरिको समाजलाइ पनि त्यस्तै देख्छ र त्यसै अनुरुपको व्यवहार गर्दछ ।
हाम्रा धर्म ग्रन्थहरुले कर्मलाइ बढि जोड दिइएको पाइन्छ आदर सत्कार प्राथमिकतार अहम्, घमण्ड बिनाको जिवनलाइ महत्व दिएको पाइन्छ । यसले के पनि बुझउँछ भने एकताका लागि त्याग र नैतिकता हाम्रो संस्कृतिमा अहम् रहेका छन् । शक्तिका लागि पिताको हत्या गर्ने, भाइ भाइ लड्ने हाम्रो संस्कार हैन । एकअर्काको सहअस्तित्वको सम्मान र पारिवारिक महत्व हाम्रो संस्कार हो । यी कुराहरु युवाहरुलाइ बुझाउन नसक्नु हाम्रो ठूलो कमजोरि हो । मेरो विचारमा जबसम्म पश्चिमि सिद्धान्तमा प्रमुख रहेको शिक्षा प्रणालि फेरिँदैन तबसम्म यी यावत् कुराहरु मनैबाट अँगाल्ने युवाहरु र नागरिकहरु उत्पादन हुँदैनन् । बालकहरु नै देशका भविष्य हुन् बालकहरु नै काँचो माटो हुन् जसले समाजलाइ र देशलाइ आकार दिन सक्छन् । ती बालकले कस्तो शिक्षा पाएका छन् र घरमा कस्तो वातावरण र संस्कार पाएका छन् रु त्यसैले तिनको व्यवहार निर्धारण गर्दछ । जिम्मेवारि हामी सबैको काँधमा छ अझ महत्वपूर्ण जिम्मेवारि सरकारको रहन्छ । स्वास्थ्य र भौतिक पूर्वाधारका तुलनामा शिक्षा प्रति त्यति चासो नदिएको देखिन्छ जबकि विकासउन्मुख देशहरुमा बढि महत्व शिक्षाकै हुन्छ । अहिले पालिका तथा प्रदेशले समेत शैक्षिक पाठ्यक्रम बनाउने अवसर पाउँदा हाम्रा संस्कृति र मौलिक संस्कारलाइ पनि समेट्न आवश्यक देखिन्छ । त्यसको लागि उपर्युक्त जनशक्तिको खभाव त छँलै छ तर नर्न नसकिने भने हैन ।
यस किताबका लागि लेखकलाइ हृदय देखि धन्यवाद । अन्धविश्वास र अचेतको तुँवालोले ढाकेको पाठकहरुका दृष्यलाइ यस पुस्तकद्वारा उघार्न सफल हुनुभएकोमा बधाइ सहित यहाँका अन्य पुस्तक र लेखहरु पढ्ने अपेक्षा गर्दछु ।
प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १२ : १८ बजे
प्रतिक्रिया