एनपीएलको ट्रफी सार्वजनिक

सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका व्यवसायी कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष रहेका रम्तेललाई सहकारी ठगीमै अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा रूपन्देहीबाट काठमाडौं ल्याइएको हो ।

रम्तेलले सूर्यदर्शनका तत्कालीन अध्यक्ष जीबी राईले आफूलाई कोषाध्यक्ष बनाइदिएको बयान दिएका थिए ।

जीबीसँगको सहकार्यबारे रम्तेलले नेचर नेष्ट प्रालिमा २०७४ सालदेखि बजार व्यवस्थापकको रूपमा नियुक्ति भएको बताउँदै आएका छन् । यसै सिलसिलामा नेचर नेष्ट प्रालीका कार्यकारी अध्यक्ष जीबीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा कोषाध्यक्ष पदमा राखिदिएको बयान रम्तेलको छ । 

सुप्रिम बचत तथा ऋण सहकारी संस्था पनि आफूलाई जानकारी नगराई सचिव बनाइएको उनको दाबी छ । यस्तै, सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. वीरगञ्ज, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत थाहै नदिईकन कोषाध्यक्ष बनाइएको बयान रम्तेलले यसअघि नै सहकारी ठगी विशेष छानबिन समितिमा दिएका थिए । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले बयान लिँदा रम्तेलले सोही आशयको बयान दिएका थिए । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार रम्तेललाई आजबाट बयान लिइने छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १२ : ५७ बजे