एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

अध्यक्ष ओलीसँग संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा  अहिले भरखर ओली निवास बालकोट पुग्नुभएको हो । 

प्रधानमन्त्री देउवा बालकोट जान लाग्नुभएसँगै यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने थुप्रै सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो । 

यसअघि, बुधवार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट पुगेर ओलीसँग भेटघाट गर्नुभएको थियो । 

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको विषयलाई लिएर २३ भदौयता एमालेले सांसद बैठकमा नाराबाजी गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ३५ बजे