सन्दर्भ
केही दिनअघि एउटा स्टाटस लेखेँ– नयाँले सडकमा गर्ने गरेको उपद्रो र पुरानाका नाममा हुने तिनको विरोधको बारेमा । अस्तिका दिन एउटा अर्को स्टाटस लेखेँ– नेता कार्यकर्तामा बढ्दो अस्वभाविक चाकरी वा चाकडी र यसको शब्दार्थसहित पात्रविशेष प्रवृत्तिका बारेमा । दुबै स्टाटस लेखनपछि मैले ठूलै दारका मानिसको असजिलो अभिव्यक्ति, रागमिश्रित झम्टाइ र हप्कीदप्की खाएँ । कसैले रिमरिम साँझ पर्न नपाउँदै अर्थात् दिउँसै झपारे, कसैले अबेर राति । हाम्रा पछिल्ला शौखिन आनीबानी, जीवनशैली, खाजादिको प्रभावका हिसावले दुबैलाई यो समयको उपज हो भन्ठानेर स्वभाविक रूपमा लिएँ ।
राजनीतिकसत्ता लिने हो भन्ने पहिलो पक्षले भन्छ– हामीलाई कमजोर देख्नुभयो ? हाम्रो भूमिकालाई औंल्याउनुभयो ? हाम्रा गतिविधिलाई उपद्रो भन्नुभयो ? वर्तमान राजकीयसत्ताको आडमा उभिएको दोस्रो पक्ष भन्छ– मलाई भन्न खोज्नुभएको ? मेरो आलोचना गरेको ? ममाथि औंल्याएको ? म को हुँ थाहा छैन ? पखलास् आदि–आदि ।
मलाई लाग्यो– सुधार यहिँबाट आरम्भ गर्नुपर्छ, जहाँ सभ्य–आचरण अभावमा ठालू पल्टिएका हामी र हाम्रा अस्वभाविक उद्वेगहरू छन्, आवेगहरू छन्, भीमकाय दम्भ छ र चुलिएको घमण्ड पनि ।
नीतिशास्त्रमा एउटा श्लोक छ–
वृथा वृष्टिः समुद्रेषु, वृथा तृत्तेषु भोजनम् ।
वृथा दानं धनाढ्येषु, वृथा दीपो दिवाचि च ।।
अर्थात्– समुन्द्रमा वर्षा हुनु वा पानी पर्नु व्यर्थ हो । अघाएको मानिसलाई मीठो भोजन दिनु पनि व्यर्थ हो । धनाढ्य व्यक्तिलाई दान पनि व्यर्थ हो । अनि दिउँसोको उज्यालोमा बत्ति बाल्नु पनि व्यर्थ हो ।
श्लोकबाट प्राप्त हुने शिक्षा के हो भने अहिले केन्द्रदेखि जिल्ला तहसम्म बन्दै गरेको दलीय संयन्त्रहरू आफ्नो अस्तित्व रक्षा, अवसर प्राप्ति र लाभ लिइरहनकै लागि मात्र हो भने सर्वथा व्यर्थ हो । राज्य र राज्यका ठूला दलसमक्ष लक्षित समुदायको आधारभूत अपेक्षाको परिपुरणको उद्देश्य भए सर्वथा ठीक हो ।
दलीय संयन्त्रले समाजमा राजनीतिक व्यवस्था सञ्चालन गर्नमा कुशल र रणकौशल मशिनको काम गर्नुपर्छ । परिस्थितिलाई सहज बनाउनुपर्छ । राजनीतिक संरचना र प्रक्रिया जनपहुँच बढाउनुपर्छ । विकसित परिस्थितिमा निर्मित नीति, नीतिअनुरुपका निर्णय कार्यान्वयन गर्न गराउन सर्वस्वीकार्य भूमिका खेल्नुपर्छ । समाजमा देखिएका सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रमा उब्जेका आवश्यकताहरूको पहिचान गर्न सक्नुपर्छ । प्राथामिकता निर्धारणका आधारमा यी मुद्दाहरूको सम्बोधन र व्यवस्थापनका लागि भूमिका खेल्नुपर्छ । सारसंक्षेपमा भन्नुपर्दा केन्द्रदेखि जिल्ला तहसम्म अहिले बनेका राजनीतिक संयन्त्रहरूले नागरिकको हितसर्वोपरिलाई ध्यानमा राख्दै समाजलाई संविधानको भावना र मर्मअनुरुप व्यवस्थित, सुरक्षित र प्रगतिशील रुपान्तरणको दिशामा अग्रसर तुल्याउनुपर्छ ।
राजनीतिक पृष्ठभूमि
आज प्राप्त राजनीतिक व्यवस्था आर्जनका लागि मरिहत्ते गर्ने, लड्ने र मर्ने मानिसको राजनीतिक आस्थाको प्रतिफलस्वरुप नेकपा (एमाले) लोकप्रिय रोजाइको पहिलो पार्टी बनेको छ भने संसदमा उपलब्ध अंकगणितमा नेपाली काँग्रेस सबभन्दा ठूलो पार्टी बनेको छ । यो बलियो राजनीतिक पडक र पहुँच दुबै हो । यही वास्तविक जगमा एमाले र काँग्रेस प्राप्त राजनीतिक लडाइँलाई समुन्नत तुल्याउन, राजनीतिक स्थायित्व लिन र विकास–निर्माणका काममा अगुवाइ गर्न एक ठाउँमा आइपुगेका छन्, परस्पर सँगसँगै उभिएका छन् ।
तत्कालीन अवस्थामा प्राप्त संविधानमा आफ्ना दृष्टिकोण र आलोचनाका २७ बुँदाहरू अघि सार्दै गर्दा २०४७ सालमै जननेता मदनकुमार भण्डारीले एमाले र काँग्रेस एक ठाउँमा उभिएर जिम्मेवारीबोधका साथ प्राप्त राजनीतिक व्यवस्थालाई उत्कर्षमा लैजान चाहनुहुन्थ्यो, पटकपटक यसको आवश्यकता, अनिवार्यता र औचित्वमाथि सार्वजनिक महत्त्वका साथ वकालत गर्दै आउनुभयो । उहाँको सक्रियता रहँदै गर्दा एमाले काँग्रेसबीच सहकार्य भइदिएको भए मुलुकले यो दुःख पाउने थिएन होला ! यत्रो ठूलो भार थेग्नुपर्ने थिएन होला ! माओवादीसहित क्षेत्रीय राजनीतिक शक्तिको उदय र संसदमा हैसियतसहित प्रवेशको अवस्था बन्ने थिएन होला ! हिंसा र प्रतिहिंसाको मार हामी नागरिकले सहनुपर्ने थिएन होला ! विकास–निर्माणमार्फत अग्रगामी छलाङ मार्दै देशले एउटा निकास पाइसकेको हुन्थ्यो होला ! नेपाली तरुणतन्नेरी पुस्ताले स्वदेशमा भविष्य नदेखेर देशबाहिरिनुपर्ने वा छाड्नुपर्ने थिएन होला !
यो पृष्ठभूमिसामु बिस्मतका साथ भन्नुपर्छ– जननेता मदनको दुःखद् अवसानको तीन दशकपछि यो शक्ति परस्पर सहअस्तित्वमा आधारित रहँदै सहकार्यमा जुटेको छ । मूलतः दुबै ठूला दलीय शक्तिबीच संविधान संशोधनमार्फत अग्रगमनका योजनाहरू अघि सार्ने र दृढतापूर्वक कार्यान्वयनको चरणमा ओर्लने निष्कर्ष निस्कियो । जननेता मदनकुमार भण्डारीले अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलनभित्र उत्तर र दक्षिणलाई बराबर महत्त्व दिनुभएको पाइन्छ । दुई दलीय सत्तासाझेदारी सँगसँगै प्रधानमन्त्री बन्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली निकट दिनमा उत्तर छिमेकको भ्रमणमा निस्कँदै हुनुहुन्छ र सद्भाव एवम् शुभेच्छा आर्जन गर्दै हुनुहुन्छ । यी विभिन्न जोड र कोणबाट हेर्दा १२ वर्षमा खोले फर्किन्छ भनिन्थ्यो तर ठूला दलको सुद्धिबुद्धि झण्डै अढाइ १२ वर्षमा फर्कियो । अर्थात् अर्को अर्थमा भन्नुपर्दा राष्ट्रिय राजनीतिले पुनः जननेता मदनको बाटो समात्यो । बिहानीको झुल्कँदो घामले दिउँसोको संकेत गर्छ भने झैँ आजको राजनीतिक सत्तासमिकरणमार्फत जनताको बहुदलीय जनवादको आलोकमा नेपाली समाजले फड्को मार्नेतर्फ वर्तमान राजनीतिकसत्ता र राजकीयसत्ता अग्रसर भयो भनेर भन्न सकिन्छ ।
दल र दलबाहिर दलबल
नेपाली राजनीतिमा बिचार निर्दिष्ट एमालेलगायत केही दल छन् भने केही दलबाहिर दलबल छन् । अहिले बिचारले निर्दिष्ट दलको अगुवाइमा काँग्रेस सम्मिलित सरकार छ । दलबाहिरको दलबलसहित केही उपद्रवकारी शक्तिहरू सडकमा मुखर भएका छन् । वाणी स्वतन्त्रताका नाममा उनीहरूले जे गर्दैछन्, यो राम्रो र सुखद् संकेत होइन । उनीहरू अनिष्ट ल्याउन र निम्त्याउन चाहन्छन् ।
बगैँचा सजिएको फूल सुन्दर लाग्नु स्वभावित हो । माली जसले फूल सजाउनुपूर्व ब्याड र बेर्नामार्फत यसलाई तयार पार्दै ल्यायो, उसलाई त्यो सुन्दर फूलप्रति मोहमात्र होइन, आफ्ना छोराछोरीसरह अगाध माया पनि हुन्छ । एउटा सजिव फूलको सट्टा बजारमा उपलब्ध बनावटी वा देखावटी फूलमा रमाउने र हराउनेलाई के मतलब हुँदैन । चाहे त्यो सजिव फूल होस् वा निर्जिव !
अहिले एकातिर फूल फुलाउनुपूर्व ब्याड र बेर्ना तयार गर्ने एमालेसहितको पंक्ति छ र अर्कोतिर बजारिया वस्तुको दरभाउ र हाउभाउमा रमाउन चाहेको नयाँ नाउँधारी शक्ति छ । यो दुबैबीचको तँछाडमछाड, पौठेजोरी, जुहारी फूल मास्ने कि पोस्ने ? अर्थात् व्यवस्थालाई सुधार्ने सपार्ने कि तहसनहस पार्नेबीचको रस्साकसी छ ।
शहरकेन्द्रीत मतका हिसावले सडक होस् वा बहुसंख्यकको पहुँच रहेको सामाजिक सञ्जालले सिर्जना गरेको साझा मञ्च ! ठूला र पुराना दलकेन्द्रीत चर्को आलोचना, अश्लील वाणीबौछार, गालीगल्लौज आदि वास्तवमै अवाञ्छीत र अस्वभाविक छन् । सहकारी प्रकरणमा दोषी करार भएसँगै हिरासतमा लिएर अनुसन्धान भइरहेको रास्वपा अध्यक्ष रवि लामिछानेको रिहाइमा जोडबल दिन खबरदारीसभामार्फत समर्थन गर्न पुगेको माओवादीका कारण समाज अलिअलि मात्र होइन, निकै भाँडिएको छ । हिजो जातीय राजीतिक बिउँले बाँडिएको समाज एक ठाउँमा सुसंगठित हुन नपाउँदै फेरि सामाजिक अराजकतातर्फ भाँडिन पुगेको छ । वस्तुतः यो पनि सफलतापूर्वक संस्थागत हुँदै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको बेर्ना मास्ने प्रपञ्च नै हो । यसविरुद्ध एमाले काँग्रेसबीचको विकसित राजनीतिक संयन्त्र जरुरी छ । संयन्त्रमार्फत एकस्वरमा जवाफ, एकलयमा जनापेक्षित कार्यारम्भ, एकसुरमा अग्रसरता लिन ढिला भइसकेको छ ।
संयन्त्र र स्वशासन
संयन्त्र गठन भइरहँदा अलिअलि आत्मसमिक्षाका लागि केहीबेर घोत्लँदै सिंहावलोकन पनि गर्ने हो भने संयन्त्रमाथि उठेको एउटा प्रश्न आजको यो राजनीतिक शक्तिले सुशासन दिन सकेन । व्यवस्था अफाव किमार्थ होइन, तर यसका चालक परिचालक कैयौँ नेतृत्व र नेतृत्वलाई पटकपटक माननीय बनाउने ठूलो जनमतबीच फराकिलो सम्बन्ध बढ्दै गयो, नेतृत्व समृद्धिउन्मुख समाजवादको पर्याय भयो, जनमत ज्यूकातिहुँ रह्यो, परस्पर दूरी बढ्यो । अर्थात् संयन्त्रमार्फत संगठित शक्ति अनुचित आनीबानी, आचरण विकास आदिका दृष्टिकोणले पनि स्वशासित भएन भन्ने पनि हो । एकपटक माननीय भइखाएको पात्र भुइँमा झर्न र भुइँमा बस्नेसँग नजिकिन चाहँदैन ।
राजकीयसत्ताको कुरै रहेन, निर्धक्क संगठन गर्न पाउने राजनीतिकसत्ता नपाएर पनि जनप्रिय रहेका गान्धी, पुष्पलाल, मदन भण्डारीजस्तो बिचारले निर्दिष्ट र व्यवहारले आँखामा राख्दा पनि नबिझाउने नेतृत्व बन्न सकेन, आफैंमा आदर्शको पर्याय बन्न सकेन । हाम्रो नेतृत्व निर्धारित उद्देश्य हासिल गर्न अग्लो र सग्लो इमान र निष्ठासाथ उभिन सकेन । हाम्रो नेतृत्वले कर्मचारी संयन्त्रलाई राजनीतिक बैचारिक हिसावले निर्दिष्ट दलीय प्रतिबद्धता र घोषणापत्रलाई दिशानिर्देश मूल मन्त्रको रूपमा कार्यान्वयनमा ल्याउन सकेन । जनतन भए गरिएको कार्यसम्पादनले उल्लेख्य गति लिन सकेन । सम्पादित कैयौँ राम्रा र हाम्रा विषयगत कार्याेन्नति र प्रगतिप्रति मानिसको नजर परेन । तलतलसम्म यसतर्फको आकर्षणता बढेन । सञ्चार र प्रवाह भएन । फलतः स्वतन्त्र छविका साथ उभिएका वा निर्वाचित जनप्रतिनिधिका अघिपछि मानिसको भीड हुने र दलीय आस्थाको प्रतिनिधित्व गर्ने चुनाव चिन्ह लिएर उभिएका र जितेपछि जनअनुमोदित प्रतिनिधि भएका व्यक्ति र शक्तिका अघिपछि जनसमर्थन भएन ।
विद्यमान राजनीतिमा परस्पर राजनीतिक बिचार, उद्देश्य र मान्यताहरूमा समानता छ । तर स्वचालित र परिचालित रंग र गुणमा भिन्नता छ । यसलाई समयमै ठम्याउन र एक ठाउँमा ल्याउन सकिएन । सहभागिताको प्रवर्धन हुन सकेन । आर्थिक नीति, कर प्रणाली र बजेट व्यवस्थापन सन्तुलनमा आधारित भएर होइन, पाखुराको गलबलमा आधारित भएर भयो भन्ने हो । शिक्षा, स्वास्थ्य, यातायात जस्ता मानव जीवनका दैनन्दिन संवेदनशील पक्षउपर समतामा आधारित समानता खोजबिन भएर होइन, अनुचित अर्थको पहुँचमा आधारित वितरण प्रणाली आकर्षित भयो भन्ने हो । सानालाई ऐन, ठूलालाई चैन यदाकदा अहिले पनि छ । अर्थात् समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक पक्ष न्यायोचित भएन भन्ने हो । यो सँगसँगै आर्थिक, शैक्षिक र जीवनको सर्वांगिण विकासका दृष्टिले पछाडि परेका वर्गहरूको पहुँच, पहिचान, प्रतिनिधित्व, सक्षमता, अस्तित्व र स्थायित्व अभिवृद्धि गर्ने क्रियाकलापमा संयन्त्रले जोड दिनुपर्छ, नत्र नयाँ भनिएका शक्तिले यहिँबाट उछलकुद आरम्भ गर्ने खतरा रहन्छ ।
यसतर्फ गठित तहगत विभिन्न संयन्त्रहरूको ध्यान जान जरुरी छ । हार्दिक शुभेच्छासहित !
प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ४ : ३६ बजे
प्रतिक्रिया