काठमाडौं । काठमाडौं ७ बाट २ पटक निर्वाचित सांसद रामवीर मानन्धर करिब ३ वर्षपछि एमालेमै फर्किएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपचुनावमा एमालेलाई जिताउने घोषणा गर्दै उहाँ पार्टीमा फर्किनुभएको हो ।
मानन्धर २०४९ र २०५४ मा दुईपटक १६ नम्बर वडाको वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । २०७० र २०७४ मा सोही क्षेत्रबाट सांसद जित्नुभएका उहाँ दुई पटक मन्त्रीसमेत बन्नुभइसकेको छ । पछिल्लो २०७९ को चुनावमा घण्टाघर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका मानन्धरले १२ सय मत पाउनुभएको थियो ।
मंसिर १६ गते हुने उपनिर्वाचनको मुखैमा उहाँ एमालेमा फर्किनुभएको हो । उहाँ काठमाडौं वडा नं. १६ को वडाको चुनावी अभियानमा सक्रिय हुनुभर्एको जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताउनुभयो । मानन्धर सोमवार आयोजित १६ नम्बर वडाको उम्मेदवार घोषणा कार्यक्रममा सहभागी हुनुभएको थियो ।
दुई पटक सोही वडाको वडाध्यक्ष हुनुभएका स्थानीय नेता मानन्धरको एमालेमा फिर्तिले उपचुनावमा निर्णायक असर गर्ने बताइएको छ । सो वडामा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएर घरदैलो थालिसकेको छ ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त स्थानमा हुन लागेको उपचुनावमा कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ । सो वडामा बाँकि ४ सदस्य एमालेले नै जितेको छ ।
मानन्धर २०७९ को स्थानीय तह निर्वाचनदेखि नै एमालेमा निष्क्रिय हुनुभएको थियो । उहाँले केशव स्थापितलााई मेयर उम्मेदवार बनाउने निर्णयमा असहमति जनाउँदै एमालेबाट अलग हुनुभएको थियो ।
१६ नम्बर वडाको उम्मेदवार घोषणा सभामा एमाले नेताहरु डा. राजन भट्टराई, रघुजी पन्त,कृष्णगोपाल श्रेष्ठ, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, पूर्वमेयर विद्यासुन्धर शाक्य, पूर्वसांसद रामवीर मानन्धरलगायतका नेताले एक साथ उभिएर लक्ष्मीरत्न तुलाधरलाई विजयको शुभकामना दिनुभएको थियो ।
प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार २ : ०५ बजे
प्रतिक्रिया