काठमाडौं । नागरिक लगानीकोषले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सेवा शुल्क तथा कमिसनबाट ३९ करोड १६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष यो आम्दानी करिब १९ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३२ करोड ९५ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको थियो ।
पहिलो त्रैमाससम्म गत वर्षभन्दा यस वर्ष कम्पनीले करिब १४ प्रतिशतले खुद नाफा बढाएको छ । गत वर्ष २६ करोड ४८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ३० करोड ९ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । कम्पनीको कुल आम्दानी यस वर्ष करिब १३ प्रतिशत बढ्दा कुल खर्च ९ प्रतिशतभन्दा बढी भएको छ ।
यस वर्ष ५१ करोड ७० लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले ११ करोड ५७ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको हो । १४ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ कायम गरेको कम्पनीको जगेडा कोष रकम भने १८ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी कायम छ ।
स्मरण रहोस् पहिलो त्रैमाससम्म कम्पनीले विभिन्न क्षेत्रमा गरेको लगानी रकम २ खर्ब ५० अर्ब ९९ करोड रुपैयाँभन्दा बढी छ ।
प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १२ : ३४ बजे
प्रतिक्रिया