६० वर्षमा नेपालमा हुन नसकेको विकास एमालेले तीन वर्षमा गर्‍यो : महासेठ

सप्तरी – नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार स्थिर भएर सही नेतृत्व नभएसम्म देश विकाश सम्भव नरहेको बताउनुभएको छ ।

नेकपा एमाले सप्तरी ९औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासेठले ६० वर्षमा नेपालमा हुन नसकेको विकास एमालेले साढे तीन वर्षमा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, 'सबै पार्टी चाहन्छ नेकपा एमालेले नेतृत्व नगरोस् । तर, अबको सरकार एमालेको हुनेछ ।'

प्रदेश २ को सहइन्चार्जसमत रहनुभएका पूर्वमन्त्री महासेठले सप्तरी जिल्ला ऐतिहासिक जिल्ला भएको बताउनु भएको छ । सप्तरीलाई अगाडि बढाउन परिवर्तन जरुरी रहेको उहाँको भनाइ थियो ।

उहाँले एमाले देश बदल्ने ऐतिहासिक पार्टी रहेको धारणा व्यक्त गर्नुभयो ।  एमालेको पोलिट ब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले मुलुकमा एमाले बाहेक कुनै पार्टी नरहने बताउनुभयो ।

सप्तरीको तीनवटा निर्वाचन क्षेत्रमा कुनै पार्टीले एमालेलाई हराउन नसक्ने प्याकुरेलको दाबी थियो । एमाले नेतृ ज्वाला साहले,पाँच दलीय गठबन्धनको कठपुतली वर्तमान सरकारले जनताको अधिकार हनन गरिरहेको आरोप लगाउनुभयो ।

-सुधा देव

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : ३२ बजे