गालीलाई आशिष मान्नुस् (कविता)

तिनीहरुलाई शंका गर्न दिनुस्

तिनीहरुलाई रिस गर्न दिनुस्

तिनीहरुलाई गाली गर्न दिनुस्

तिनीहरुलाई खेदो गर्न दिनुस्

तिनीहरुलाई खिसी गर्न दिनुस्

तिनीहरुलाई ईर्ष्या गर्न दिनुस्

तिनीहरुलाई घृणा गर्न दिनुस्

तिनीहरुलाई ईख साँध्न दिनुस्

जति बोल्छन्, बोल्न दिनुस् 

जति भुक्छन्, भुक्न दिनुस्

जति टोक्छन्, टोक्न दिनुस्

जति जल्छन्, जल्न दिनुस्

किनकी,

तिनीहरुको स्वभावै खोटी छ

तिनीहरुको मनमा सन्त्रास छ

तिनीहरुमा डाह र सन्ताप छ

तिनीहरुको सोंच नै बबाल छ  

तिनीहरु अत्यन्तै कायर छन्

तिनीहरु असाध्य कपटी छन्

तिनीहरु अखप्नै ईर्ष्यालु छन्

तिनीहरु अचाक्ली ढोँगी छन्

पर्दोष लाउनुमा स्वार्थ छ होला

तपाईंको सत्वले तर्साउँछ होला

तपाईंको विचारले लतार्छ होला

तपाईंको प्रतापले पोल्दछ होला

सारमा,

म साह्रै बलिष्ट छु भन्ने ठान्नुस्

वैरीको गालीलाई आशिष मान्नुस्

त्यसलाई अमूल्य उपदेश ठान्नुस्

दुत्कारको प्रतिकार कामैले गर्नुस्

२५/०७/२०८१, काठमाण्डौ l

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : ५५ बजे