“न हिजोलाई दोष दिएर हुन्छ न त भोलिको अनावश्यक सुर्ता गरेर, केही बन्नुछ र केही गर्नुछ भने आज नै सकारात्मक र रचनात्मक रूपमा सक्रिय हुँदै सबैखाले भ्रम र लोभहरूबाट हामी मुक्त हुनुपर्छ।”
सचेत नागरिक सधैं सत्य, न्याय, स्वतन्त्रता र लोकतान्त्रिक प्रणाली बलियो बनाउने गरी क्रियाशील हुन्छ। ऊ राजनीतिक रूपमा साक्षर पनि हुन्छ। त्यसैले सचेत र साक्षर नागरिक सधैं राजनीतिक आवरणमा हुने सबै गलत गतिविधिहरूको विपक्षमा उभिन्छ। खराब भाष्यमा आधारित राजनीति र कुनियत भएको पात्रको जाली कुरामा पर्दैन्। गुण दोषको तुलनात्मक अध्ययन गरेर धारणा बनाउने क्षमता राख्छ। यो खालको चारित्रिक क्षमता भएको नागरिकहरूले मात्र लोकतन्त्रलाई परिपूर्ण बनाउँदै बलियो बनाउन योगदान गर्न सक्छन्। अनि देशमा सुशासन, स्थायित्व र समृद्धिको यात्रा सुनिश्चित गर्न सकिन्छ।
आरोपहरूलाई छोडौं, सत्यतथ्यहरूका आधारमा धारणाहरू बनाउन थालौं। राजनैतिक परिवर्तनहरूपछि अपेक्षित रूपमा सामाजिक आर्थिक रूपान्तरण किन भएन? वस्तुनिष्ठ भएर अध्ययन गरौं। के हुनुपर्थ्यो, के भएन? कति हुनुपर्थ्यो, कति भयो? हिजोभन्दा आज कति फरक भयो? यसका मुख्य कारण के के हुन? भ्रमित भाष्यमा परेर होइन, सत्यमा आधारित भएर तुलनात्मक विश्लेषण पनि गरौं। समयानुसार सोच्न, बुझ्न र व्यवहार गर्न सक्ने बनौं। देवत्वकरण र दानवीकरण गर्ने खराब प्रवृत्तिलाई त्यागौं। सबै कुराको अनुभव गर्ने समय र श्रोतको अभाव छ। त्यसैले अरूहरूको अनुभव र अभ्यासहरूबाट पनि सिकौं।
हामीले बुझ्नुपर्छ, राजनीतिमा अराजकता हावी भयो भने त्यसले नायकत्वको खोजीमा खलनायकलाई अघि लगाउँछ। अहिले नेपालमा त्यही प्रयास भइरहेको छ, जसरी सन् २०१४ ताका युक्रेनीयनहरूले नायक खोज्दा कमेडियन भोलोदिमिर जेलेन्स्की उदाए, अहिले युक्रेन देशको अस्तित्व संकटमा छ। हिजो पुरानो राजनीतिक दलको ठाउँमा नयाँ दल र पुराना नेताका ठाउँमा नयाँ नेता खोज्दा, त्यो नयाँ दल र युवा नेता जेलेन्स्कीले युक्रेन ध्वस्त बनाउँदैछ। बाह्य अनुदान र निर्देशनमा युद्धमा रमाएको छ। लाखौं लाख युक्रेनीयनहरूलाई शरणार्थी जीवन जीउन बाध्य बनाएको छ। जबकि त्यो विनासको बाटो थियो। युक्रेनको राजनीतिबाट हामीले के सिक्न सक्छौं? उत्तरहरू खोज्नु पर्ने भएको छ।
२०७९ माघ १५ अघिसम्म रवि लामिछाने नेपाली नागरिक नभएको सर्वोच्च अदालतले पुष्टी गरेको छ। हिजो जो नेपाली नागरिक नै थिएन, उसले नेपालमा कुन कानुनमा टेकेर सञ्चारलगायतका क्षेत्रमा संलग्न भयो? कसरी बैंक खाता खोल्यो? कसरी नेपाली राहदानी बनायो? कुन नागरिकता देखाएर चितवन अदालतमा मुद्दा लड्यो? यी प्रश्नहरूको सही उत्तर खोजियो भने रविका नियत थाहा हुन्छ। अनि स्पष्ट हुन्छ, त्यो दिनभन्दा अघि रविले नेपालमा गैरकानुनी ढंगले गतिविधिहरू गरेका थिए। गैरकानुनी ढंगले काम गर्नु भनेको कानुनतः दण्डित हुन योग्य हुनु हो। अहिले त्यो दण्डको सुरूवात भएको हो। यसलाई पहाड नबनाऔं।
यहाँ स्पष्ट हुनुपर्ने कुरा के हो भने “रवि लामिछाने राजनीतिक र देशभक्तिपूर्ण आन्दोलनमा संलग्न भएका कारणले होइन, सहकारी ठगी गर्न संगठित अपराध गरेका कारणले अनसन्धानका लागि पक्राउ परेका हुन।” त्यसैले राजनीतिक प्रतिशोध भयो भन्दै सडकमा उफ्रनु र सामाजिक सञ्जालहरूमा पोखिनुको कुनै औचित्य छैन्। कानुनलाई काम गर्न दिनुपर्छ। भीडतन्त्रको प्रभाव देखाएर लोकतन्त्र र न्यायलयमाथि दबाब बढाउनुको कुनै अर्थ छैन्। जिबी, छवि र रविहरू मिलेर सहकारी ठगीका लागि गोरखा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टिभी चलाएका थिए। रविले विगतमा आफूले गरेका कानुनविपरीतका गतिविधि अर्थात अपराधहरूबाट जोगिन राजनीतिको साहारा लिएको स्पष्ट देखिन्छ।
त्यसैले त रविपछिका नेताहरू दिउँसो आन्दोलनमा ‘रविमाथि राजनीतिक प्रतिशोध’ भो भन्दै नारा लगाउँछन् त साँझ परेपछि रविलाई जोगाई देऊ भन्दै सत्ताधारी दलका नेताहरू समक्ष हारगुहार गर्दैछन्। यदि रविले विगतमा कुनै गल्ती गरेका थिएनन् भने हारगुहार किन? यो हामीले बुझ्नुपर्ने भएको छ। दिउँसो सडकमा अराजक भएर प्रस्तुत हुँदै जनतालाई अलमल्याउने र साँझ बालुवाटार धाउने रास्वपाका नेताहरूको गतिविधिहरूका बारेमा जनतालाई सुसूचित गर्नु हरेक सचेत र साक्षर नागरिकको कर्तव्य हो। किनभने भीडतन्त्रको साहारा लिएर लोकतन्त्रलाई परिपूर्ण बनाउन सकिन्न।
त्यस्तै हिजोआज रविको भ्रमपूर्ण राजनीतिले एकातिर जनता भ्रमित भइरहेका बेलामा अर्कातिर बालेनको अराजक गतिविधि र रहस्यमय प्रवृत्तिका कारण जनता अर्को भ्रमको जालमा पर्दैछन्। बालेनले “काठमाडौंका सडकमा गरीबका गाँस लुट्ने र मञ्चहरूबमट देश बनाउने सपना बेच्ने” गतिविधिहरू गरिरहेका छन्। सहरमा गरीबलाई टिक्न नदिने जीविका चलाउन बञ्चित गर्ने, गरीबका समान लुट्ने र धनी अर्थात सामन्तहरूको स्वार्थमा रहस्यमय ढंगबाट सक्रिय हुनुलाई बालेनले आफ्नो धर्म ठानेका छन्। यस्ता पात्र र यीनका गतिविधिहरूबाट देशमा न लोकतान्त्रिक प्रणाली सुदृढ हुन्छ न त सामाजिक न्याय नै कायम गर्न सकिन्छ। यस्ता रहस्यमय पात्रलाई नायक बनाएर परिवर्तन खोज्दा अग्रगमन होइन प्रतिगमनको खतरा बढ्छ। यो सत्य हामीले बुझ्नुपर्छ, जनतालाई बुझाउन सक्नुपर्छ।
राजनीति भ्रम र रोमाञ्चकतामा अघि बढ्न सक्दैन्। यसका लागि वैचारिक स्पष्टता, वैयक्तिक नैतिकता, राजनीतिक संघर्ष, त्याग र योगदान पनि चाहिन्छ। अन्यथा आवेगमा आएर विवेक गुमाउँदा देशले ठूलो मुल्य चुकाउनु पर्छ। बहरहरूले गरेका गतिविधिहरूले न लोकतान्त्रिक गणतन्त्र बलियो हुनेवाला छ न देशले समृद्धिको यात्रा नै तय गर्न सक्छ। त्यसैले यतिबेला हामीले देशमा लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन योगदान गर्नुपर्ने भएको छ। यसका लागि निम्न प्रश्नहरूको सही उत्तर खोज्न वृहत् गृहकार्य आवश्यक भएको छ।
१) लोकतन्त्र कसरी प्रगतिशील र संवैधानिक व्यवस्था गतिशील हुन्छ?
२) लोकतान्त्रिक प्रणाली सामाजिक रूपमा कसरी बलियो बन्छ?
३) कुन राजनीतिक विचारले सामाजिक लोकतन्त्रको बढी पक्षपोषण गर्छ?
४) कुन राजनीतिक विचार बलियो भयो भने जनअपेक्षाहरूको सम्बोधनसँगै जनताको लोकतान्त्रिक अधिकार संरक्षण हुन्छ?
५) कुन राजनीतिक विचारले लोकतान्त्रिक गणतन्त्रसँगै राष्ट्रियता बलियो बनाउन योगदान गर्छ?
माथिका प्रश्नहरूको उत्तर खोजिरहँदा हामीले यो प्रश्नमा पनि मस्तिष्क मन्थन गर्नुपर्छ। “के विद्यमान संरचना र मानसिकताले भविष्यलाई दिगो र सशक्त बनाउन सक्छ त?” आज देशको परिस्थिति र जनताको मनस्थिति नकारात्मक बन्नुमा राजनीतिको मात्र भूमिका नभएको हामीले बुझ्नुपर्छ। राज्यका संयन्त्रहरूको क्षमता, नियत र भूमिकाका बारेमा स्पष्ट हुन आवश्यक छ। हाम्रा शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक संरचनाहरूले कसरी काम गरिरहेका छन्, बुझ्नुपर्छ। “नागरिक निर्यात गरेर वस्तु आयात गर्न सघाउने प्रणाली, नीति र संरचनाहरू कायम राखेर सामाजिक न्यायसहित लोकतन्त्रलाई परिपूर्ण बनाउन सकिन्न।”
“लोकतान्त्रिक गणतन्त्रलाई प्रगतिशील र संवैधानिक व्यवस्थालाई गतिशील बनाउन आजको हाम्रो संरचना र मनस्थिति मुख्य बाधक बनिरहेको छ।” यो बाधा हटाउन वैचारिक र दूरदर्शी राजनीतिका पक्षमा हामी उभिनु पर्ने भएको छ। यो त्यति सजिलो काम होइन किनभने यसका लागि जनताले सत्य र विचारको जगमा चलेको राजनीतिक संघर्ष, त्याग र योगदान चिन्न सक्नुपर्छ। यसका लागि प्रत्येक नागरिक राजनीतिक रूपमा सचेत र साक्षर बन्नै पर्छ। अन्यथा नेपालमा खराब भाष्य र पात्र स्थापित गर्ने विचारहीन राजनीतिको चर्चा भइरहन्छ। अनि यो लोकतान्त्रिक गणतन्त्र बदनाम बनाउने माध्यम बनिरहन्छ।
हिजो नेपालमा प्रचण्डको नेतृत्वमा द्वन्द्व खेती भइरहँदा देशमा केही हुन्न भन्दै देश त्यागेर अमेरिकन बनेका रवि अमेरिकामा रहँदा कैयौं फ्रड र अनैतिक क्रियाकलापहरूमा संलग्न भएपछि त्यसबाट दण्डित हुनबाट जोगिन अमेरिकाबाट भागेर नेपाल आएका थिए। यहाँ आएपछि नेपालको कानुनविपरीत गतिविधिहरू गरेको घटनाहरूले पुष्टी गर्छ। रविले अनुमति विना नेपालमा काम मात्र गरेनन् फौजदारी प्रकृतिको गतिविधिहरूमा पनि संलग्न भएको देखियो। सञ्चार क्षेत्रमा संलग्न हुँदा ब्ल्याकमेलिङ गरेर धन कमाएको चर्चा नचलेको पनि होइन। नेपाल आएपछि आफूले गरेका कानुनविपरीतका गतिविधिहरूको कानुनी कारवाहीबाट जोगिन राजनीतिक दलमा संलग्न हुन पुगेको घाम जत्तिकै छर्लङ्ग छ। अहिले कानुनले बाटो लिन थालेपछि निलो क्रान्तिको भ्रम छर्दैछन्। जबकि राजनीतिक आवरणमा अपराधबाट जोगिन सकिदैनथ्यो।
महाभूकम्प लगत्तै भारतले लगाएको नाकाबन्दी र मधेशको प्रयोजित आन्दोलनलाई असफल बन्नाउन सकेका हामी नेपालीहरूले बहरहरूको मिसन राजनीतिलाई पनि सुझबुझका साथ असफल बनाउन सक्नुपर्छ। यसका लागि राजनीतिक र वैचारिक स्पष्टता सहित हामी सचेत र साक्षर पनि बन्नुपर्छ। त्यतिबेला भारतीय नाकाबन्दी र मधेश आन्दोलनको नियत हाम्रो क्षमता कमजोर बनाउन थियो भने यतिबेला मिसन राजनीतिमार्फत बाह्य हस्तक्षेप बढाउने चेष्टा देखिन्छ। यसले भोलिका दिनमा हाम्रो राष्ट्रिय अस्तित्व संकटमा पार्ने प्रबल सम्भावना पनि देखिन्छ। आज गणतन्त्र विरोधी, प्रचण्ड र रविहरू देश असफल बनाउन अघोषित रूपमा एक ठाउँमा उभिएको अवस्था छ।
प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ३ : ५६ बजे
प्रतिक्रिया