काठमाडौँ । पछिल्लो समय बाणिज्य बैंकहरुको बोनस दरको हिसाब हेर्ने हो भने कतिपयको राम्रो देखिन्छ भने कतिपयको फितलो अवस्था छ । यसरी बैंकहरुले वितेको ३ महिना (साउन–असोज)मा कर्मचारीको तलव सुविधामा मात्र झण्डै साढे १४ अर्ब रुपैयाँ खर्चिएका छन् भने अहिले तलबमा ज्यादै धेरै पैसा खर्च गर्ने संस्था नबिल बैंक हो ।
नबिलले १ अर्ब ११ करोडभन्दा धेरै तलब बाँडेको छ । त्यसपछि सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब ८ करोड र एनआईसी एसियाले ९७ करोडभन्दा धेरै रकम कर्मचारीमा खर्चिएका छन् । लक्ष्मी सनराइज, कुमारी, ग्लोबल आईएमई र प्रभूले पनि लगभग उस्तै–उस्तै रकम (९३–९५ करोड) खर्चेका छन् ।
सरकारी स्वामित्वकै कृषि विकास र नेपाल बैंक तेस्रो श्रेणिमा पर्छन्, उनीहरुले तीन महिनामा ८७ करोड हाराहारी कर्मचारीमा खर्च गरेका छन् । ठूलै बैंक भएर पनि नेपाल इन्भेष्टमेन्ट मेगा र हिमायलन बैंकको कर्मचारी खर्च ७५–७६ करोड हाराहारी छ ।
त्यसैगरी सिद्धार्थ, माछापुच्छ्रे र एनएमबीले पनि ५० करोडभन्दा बढी नै खर्च गर्ने गरेका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा स्याण्डर चार्टर्डले आफ्नो कुल कर्मचारी खर्चको ४८.२५ प्रतिशत बोनस दिने सामथ्र्य बनाएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकले ४४.४८ प्रतिशत र नेपाल एसबीआईले ३७.४३ प्रतिशत बोनस क्षमता बनाएका छन् ।
एभरेष्टले ३६.१८ र एनएमबीले ३२.६३ प्रतिशत बोनस दिने क्षमता तयार पारेका छन् । प्राइमलाई छाड्ने हो भने यी सबै विदेशी साझेदारीमा सञ्चालित बैंक हुन् ।
बोनसको सामथ्र्यका हिसाबले एनआईसी एसिया सबैभन्दा निम्छरो देखिएको छ ।
सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकको विश्लेषण गर्ने हो भने उनीहरुको स्थिति पनि निकै कमजोर छ भने सिटिजन्स, नेपाल बैंक, सिद्धार्थ र लक्ष्मी सनराइज बैंकले पनि १० प्रतिशत बोनस दिने हैसियतमा पुग्न सकेका छैनन् ।
रकमका आधारमा सर्वाधिक बोनस (३१ करोड ५१ लाख) बाँड्ने क्षमता बनाएको नबिल पनि कर्मचारी खर्चको केवल २८ प्रतिशतमात्रै बोनस दिने अवस्थामा छ । उसको कर्मचारी खर्च नै ज्यादा भएका कारण यस्तो अवस्था आएको हो । ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगाले पनि ठूलो अंकमा बोनस बाँड्ने तयरीमा रहेको बुझिएको छ । ।
प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ११ : ४७ बजे
प्रतिक्रिया