मकवानपुर । हेटौंडामा पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मंगलबार राति १ बजे मधेश प्रदेश ०३-००२ ख ०३०० नम्बरको पेट्रोल ट्यांकरको टायरबाट हावा फुत्किएपछि मर्मतका क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
विस्फोटमा परी हेटौंडा–११ थानाभर्याङका टायर मर्मत पसल सञ्चालक ३४ वर्षीय मोहम्मद ऐजाजको मृत्यु भएको हो। भारतीय नागरिक ऐजाजको टाउको र शरीरको बायाँ भागमा गम्भीर चोट लागेको थियो। उनको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताउनुभयो।
घटनामा परी पर्साको धोबिनी गाउँपालिका–२ का १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ स्मारका ३९ वर्षीय ट्यांकर चालक देवान लामा, धादिङको धुनिबेशी नगरपालिका–२ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौंडा–११ नवलपुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन्।
घाइतेमध्ये चालक लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। अन्य चार जना घाइते उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार १० : ५८ बजे
प्रतिक्रिया