… बाटो हेर्दै कुर्दाकुर्दै थाके मेरा आँखा
आशा थियो दुवै मिली गाउने गीतका भाखा
मन मझेरीमा क्यासेटबाट
बाटो हेर्दै कुर्दा कुर्दै बोलको गीतकी रचयिता लेखटाओ, क्यालिफोर्नियाँ अमेरिका निवासी पुनम पोखरेल भट्टराई हुन् । उक्त गीतमा अविवाहित, विवाहित युवती ( आमा) र नेपाल आमाका प्रेमिल भावहरु व्यक्त भएको पाइन्छ । उक्त गीत सुप्रसिद्ध गायिका अन्जु पन्तको कोकिल कण्ठमा गायन गरिएको तथा प्रसिद्ध संगीतकार विनोद पछाईको सुमधूर साजबाजमा सङ्गीत आबद्ध गरिएको छ । यस गीतलाई मन मझेरीमा नामको गीति चक्कामा आकर्षक आवरणमा समेटिएको छ । गीतकारका रुपमा परिचित पुनम पोखरेल भट्टराईको वास्तविक नाम प्रतिभा पोखरेल हो । उनका बुबा ठाकुराराम बहुमुखी क्याम्पस, वीरगन्जमा प्राध्यापनरत रहेकै अवस्थामा भारतस्थित रक्सौलको डङ्कन अस्पलतालमा २०३७ साल कात्तिकमा पुनम जन्मिएकी हुन् । मिथिला पोखरेल र प्राडा.बद्रीविशाल पोखरेलकी ठूली छोरी पुनम बाल्य कालदेखिका सिर्जनात्मक गतिविधिको स्मरण गर्छिन् । बुबाले ६ वर्षकै उमेरमा पुनमलाई गर्मी याममा इटहरीस्थित आफ्नै घरमा झुण्डिएको पङ्खा देखाएर भनेको गीत यसरी स्मरण गर्छिन्,
पङ्खा घुम्छ फनन,खुसी हुन्छ मेरो मन
पङ्खा धेरै महँगो छ गरीवले कहाँ किन्छ ?
बाल्यकालमा झगडा गर्दा र रुँदा आफू र भाइ बहिनीलाई फकाउँदा यस्तैयस्तै लयबद्ध रचना र गीत बाल्यावस्थामा बुबाले सुनाएको प्रभाव अहिलेसम्म पनि रहेको पुनम बताउँछिन् । बुबाले बेलाबेलामा घरमा नै टोलभरिका बालबालिका भेला पारेर सिर्जनात्मक शिक्षामूलक बाल गोष्ठी गराएको पनि उनले स्मरण गरिन् ।
यसरी नै एक प्रसंगमा विराटनगर निवासी मामली हजुर्वा शिवराज दाहालले खेतीमा जाँदाआउँदा इटहरी स्थित हाम्रा घरमा कोसेली लिएर आइरहनुहुन्थ्यो । तर एक पटक चाहिँ म इटहरी निस्कन्न किन भने छोरी मिथिलाका घरमा निस्कन्न किनभने मिथिलाका छोरा छोरी मलाई देख्ने बित्तिकै हामीलाई के ल्याइदिए भनेर आश गरेर बसेका हुन्छन् भन्नु भएछ । यो कुरा जेठो मामा विशाल दाहाललाई मार्फत् बुबा बद्रीविशाल पोखरेलले थाहा पाउनु भयो । उक्त कुराले हामीलाई मादीका बिर्तावाल दाहालले गरीव भनेर हेला गरेर बोलेका भन्ने परेछ र अलि बिझेपछि एउटा व्यङ्ग्य बालगीत तत्काल लेखिदिनु भएको पुनमले स्मरण गरिन् र उनले उक्त गीत बुबाले भाइ बहिनी प्रशान्त र प्रशंंसालाई गाउन सिकाउनु भयो । उनीहरुले कण्ठ पारेको उक्त गीत मामलका हजुर्वा हजुरआमाहरु आएका बखत सुनाउँथे । उनीहरु ससाना भएकाले नबुझी गीत गाउँथे भने आफू्र चाहिँ भाइ बहिनीले उक्त गीत सुनाउँदा लजाएको बताइन् ,जुन गीत निम्न अनुसार रहेको उनले बताइन्,:
हामी चरा बचारा गर्छौँ हामी मुख आँआँ
चारोकै आशमा गछौँ मुख बाँबाँ
हाम्रो घर झोपडी पानी धरर
जाडोको लुगा नभै काम्छौँ थुर्थुर
पढ्न लेख्नलाई किताव कापी छैन
भोको पेट नाङ्गो आङ्ले पढ्न मान्दैन
हाम्रा बाबा गरीब झुत्रेझाम्रे लाउँछन्
हाम्री आमा झ्याउरी नाका काना छैनन्
गरीव छौँ जरुर भीक मान्दैनौँ
परिश्रम गरी खान्छौँ इमान बेच्तैनौँ
ठूलाठालु सँग हामी त्यसै झुक्तैनौँ
बुबाले बेला बेला कविगोष्ठीमा पनि हामीलाई लाने गर्नु हुन्थ्यो,पुनमले भनिन् । एक दिन भाइले सबैले कविता भनेको देखेर उसले पनि केही भन्न मन परेछन् र बुबाले सिकाए अनुसार उद्घोषकलाई आफैँले भनेर एउटा गीत गाएका थिए । यस्तै यस्तै घरायसी परिवेशको प्रभाव गीतकार प्ुनममा बाल्यकालदेखि परेको पाइन्छ । यति मात्र होइन प्रसिद्ध समालोचकका रुपमा परिचित डा. पोखरेलको व्यक्तित्व बहुआयामिक देखिन्छ भने उनकी जीवन साथी मिथिला पोखरेलको समेत चेलीको चीरहरण नामको पुस्तक दुई वर्ष अघि नै प्रकाशित भएको पाइन्छ । घरको अगुवा वा गार्जियनले प्रभावित पार्न सक्दा परिवार नै सिर्जनात्मक तथा सकारात्मक हुँदो रहेछ भन्ने यो उदाहरण हो नत्र बाहिर बाहिर अग्रगमनका समग्र विषयमा मुट्ठी बटार्ने अधिकांश नेता र सर्जकका पत्नी र परिवार सचेतताका दृष्टिले दयनीय देखिन्छन् । त्यसैले पुनमको लेखनमा घरपरिवारको पहिलो गहन प्रभाव देखिन्छ भने प्रवासको कर्मशील जीवनबाट बचेको समय उनले साथीभाइसित लयात्मक तथा कवितात्मक संवाद गर्दागर्दै सिर्जनाको स्तर बुद्धि भएको बताएकी छिन् । निरन्तरको साधनाबाट सुन्दर सृष्टि हुन्छ भन्ने पुनमको गीत सिर्जनाबाट पनि अवगत हुन्छ ।
नेपाली कला,साहित्य र संगीतका क्षेत्रमा रोजगारका लागि बिदेसिएका नेपालीहरुको महत्वपूर्ण भूमिका र योगदान रहेको देखिन्छ । यसैक्रममा पुनम पोखरेल भट्टाराईको बाटो हेर्दै कुर्दा कुर्दै ..संगीतबद्ध आधुनिक गीत तीनवर्ष पहिले देखि बजारमा एउटा भाइरल बनेको छ । गीतमा एक साथ त्रिआयामिक प्रेम एक साथ अभिव्यक्त भएको पाइन्छ । गीतमा एकातिर शिष्ट श्रृङ्गारिक पक्ष अभिव्यक्त भएको छ । यसमा एउटी प्रेमिकाले पे्रमीलाई प्रेमिल सम्बोधन गरेकी छिन् भने अर्कातिर आफ्नै भ्रूणमा क्रमशः विकसित सन्तानप्रतिको स्वप्नील प्रेम व्यक्त गरिएको छ भने अर्कातिर रोजगारको खोजीमा बाह्य मुलुकमा क्रियाशील नेपालीहरुको देशप्रतिको अपूर्व प्रेमजन्य कोमल भावनाहरु पनि यस गीतका मुखरित भएको पाइन्छ ।
मोरङ जिल्ला स्थित गोठगाउँ पुख्र्याैली घर भएका यस लेखकका सहकारी अभियन्ता प्रिय मित्र टङ्क भट्टराईकी जीवन साथी वा पत्नी पुनम पोखरेल भट्टराई अमन र अंङ्शु नामका दुई छोरा सहित अमेरिकामा बीसौँ वर्षदेखि बसोबास गरिरहेकी छिन् । बारबार नेपाल आइजाइ गरिरहने पुनम देशमा रहँदा भन्दा देश बाहिर हुँदा देशप्रतिको चोखो मायाँ अझ उर्लिएर आउँदो रहेछ भन्छिन् र उक्त कुरा उनको गीतबाट व्यक्त हुन्छ । त्यसैले पुनमका गीतमा नेपाल आमाले आफ्नो चिरप्रतिक्षित अधुरो सपना पूरा गर्ने सन्तानको शीघ्र आगमनको आशा र अभिलाषा गीतमा अभिव्यक्त भएको देखिन्छ । त्यसैले पुनमको उक्त गीतमा बाह्य आवरणमा देशभक्तिका सुललित तथा कोमल भावनाहरु सप्तरङ्गी साङ्गितिक स्वरलहरीमा प्रवाहित भएको छ ।
यस गीतमा तीन लियर छन् । यो प्रेम गीत हो तर यस गीतमा प्रेमका तीनपत्र विद्यमान रहेको अनुभव हुन्छ । एक युवायुवतीका बीच हुने प्रेम अभिव्यक्त छ । गीतको यस पत्रमा प्रेमिकाले प्रेमीप्रति सुकोमल तथा हार्दिक प्रेमिल भाव व्यक्त गरिएको छ । गीतमा एउटी बैसालु कुमारी युवतीले आफ्नो अज्ञात तर भावी भरपर्दो प्रेमी सितको सुखद्,सुखमय र सुरक्षित दाम्पत्यको परिकल्पना गरिएको छ र प्रणय सम्बन्धी मार्मिक एकालाप अभिव्यक्त छ भने अर्कातिर दाम्पत्य जीवनका सुखद् र सुन्दर प्रेमाभिव्यक्ति व्यक्त भएको छ । एकसाथ अविवाहित युवती र विवाहित पत्नीका शिष्ट श्रृङ्गारिक तथा सिर्जनशील प्रेमाभिव्यक्ति गीतमा ध्वनित भएको देखिन्छ ।
यस सुमधूर गीतमा देश प्रेमका उदात्त भावनाहरु पनि एक साथ सघन बिम्बप्रतीक मार्फत् छचल्किएको पाइन्छ । बाटो हेर्दा हेर्दै थाकेका आँखाले …जस्ता शब्दावलीले नेपाल आमाले र नेपाली जनताले देशको भाग्य र भविष्य सुनिश्चित गर्ने युग पुरुष आउने र देशको भाग्य र भविष्य सबल बनाउने आकांक्षा पालेर पनि आशा पूरा होलान् कि भनी हेर्दाहेर्दै थाकेको तर आश चाहिँ मारिनसकेको भावना अभिव्यक्त गरिएको छ । तथापि ती आशा र आकांक्षाहरु सुसुप्त रहेको भाव सहित भविष्यप्रतिको आशावाद गीतमा व्यक्त भएको देखिन्छ । गीतमा दुवै मिली अर्थात् नेपाल आमा र नेपाली जनता अभिव्यक्त भएको छ भने दुबै मिलेर गीतका भाखा गाउने शब्दले देश निर्माणमा समवेत स्वरलाई सुस्पष्ट पारेको देखिन्छ । अर्कातिर गीतमा दुबै मिली गीत गाउने जिजीविषाबाट गीत शब्दले निर्माण,सिर्जना,पुननिर्माण जस्ता बहुआयामिक देश विकासका पक्षहरुलाई अभिव्यक्त गरेको देखिन्छ ।
सपना अझै अधूरा छन्,कहिले पूरा होलान्
मेरो मनको कुरा बुझ्ने कहाँ को होलान्
उक्त गीतांशमा प्रयुक्त सपना शब्दले नेपाल आमा र नेपाली जनताको चिरप्रतीक्षित अधूरो सपना कहिले पूरा होला भन्ने तीव्र आकांक्षा लक्षित देखिन्छ । गीतमा सुखी नेपाली र समृद्ध नेपालको सपनालाई कहिले पूरा होलान् भन्ने भाव अभिव्यक्त गरेको पाइन्छ । उपर्युक्त खालका सपना पूरा गरिदिने सन्तान कहाँ होलान् भन्दै नेपाल आमाले आशा र भरोसाको नजर लगाइरहेको भाव समेत व्यक्त भएको पाइन्छ । नेपाल आमाले उपर्युक्त सपनाहरु कहिले पूरा होलान् भन्ने तीव्र र व्यग्र प्रतिक्षा गरिरहेको भाव गीतमा व्यक्त गरिएको छ । त्यसैमा मेरो भनेर देशको र देशवासीको र तिनको मनको कुरा बुझ्ने कोही त होलान् नि भन्ने भाव गीतमा पाइन्छ । अर्थात् भविष्यको गर्भमा कोही न कोही युग पुरुष,सन्तान जन्मेलान् भन्ने सघन भाव गीतमा अन्तर्निहित रहेको अनुभूत हुन्छ । उक्त गीतमा अर्कातिर एउटी प्रेमिकाले आफ्ना मर्म र वेदनालाई राम्ररी अनुभूत गर्ने प्रेमी वा पतिको स्वप्नील परिकल्पना गरेको अर्को भावार्थ गीतमा व्यक्त भएको देखिन्छ । त्यसैगरी एउटी जननी,आमा र पत्नीले आफ्नो प्रियजन वा सन्तान देश,जनता र घरपरिवारको बलियो ओत बनोस् भन्ने आकांक्षा राख्नु स्वाभाविक रहेको गीतमा व्यक्त भएको छ । उपर्युक्त खालको सन्तानको परिकल्पना गरेको वा आफ्ना भ्रूणमा निहित र विकसित सन्तान चाहिँ आफ्नो मर्म र बेदना बोध गर्ने हुनसक्ने यथार्थमूलक काल्पनिक बिम्ब समेत गीतमा प्रतिबिम्बित भएको पाइन्छ ।
देखेकी जानेकी छैन को हौ तिमी भनी
मनको छेउमा बसाइसकेँ प्रिये तिमी भनी
यस गीतमा पनि मातृभूमि,माता,प्रेमिका, र पत्नीका आशा र भरोसा एक साथ सम्मिश्रित भएको देखिन्छ । तिमी कोहौ भनी नदेखे पनि नजाने पनि गीतकारले मनको छेउमा प्रिये भनी बसाइसकेको भाव जाहेर गरेकी छिन् । यसको मूल तात्पर्य नेपाल आमाले भ्रूणमा रहेको वा नरहेको वा बीजका रुपमा रहेको भावी सन्तानलाई आफैँले प्रत्यक्ष नदेखे पनि प्रेम,वात्सल्य र प्रणयका भाव नैसर्गिक रुपमा स्वतः प्रस्फुटित हुन्छन् । तर गीतमा बहुअर्थ समेत प्रतिध्वनित हुन्छ । यसमा एक नवयुवती भावी प्रेमी वा पतिलाई देख्दै नदेखे पनि प्रेम अङ्कुरित हुने भाव अन्तर्निहत रहेको अनुभव हुन्छ भने नेपाल आमा र माता दुवैका आशा,आस्था र भरोसा एक साथ अभिव्यक्त भएको पाइन्छ ।
भिडियोमा छायाँकन गरिएको उक्त गीतको भावसौन्दर्य अनुकूल संगीत र सज्जायुक्त मनोहारी संवेगात्मक तथा मार्मिकरहेको देखिन्छ । गीत सिर्जनाको अनवरत साधाना जारी रहे अझ अरु भाव सघन तथा मार्मिक गीतहरुको सिर्जना पुनमबाट सम्भव हुने सम्भावना निकट देखिन्छ ।
(लेखक प्रगतिशील लेखक संघका केन्द्रीय पार्षद् तथा वरिष्ठ सर्जक हुन्)
प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार ९ : २८ बजे
प्रतिक्रिया