विगतमा नराम्ररी विथोलिएको नेपालको राजनीति विस्तारै लयमा फर्कँदै छ । नेपाली कांग्रेस र नेकपा एमालेको सुझबुझपूर्ण निर्णय र सहकार्यले गलत बाटोमा हिंडेको नेपालको राजनीतिलाई सही ट्र्याकमा फर्काउन विस्तारै सफलता मिल्दैछ ।
उग्र वामपन्थी ह्याङ ओभर बोकेका शक्ति र अराजकताको जगमा राजनीति गरिरहेका शक्तिबाट देशलाई सही गन्तव्यमा पुर्याउन असम्भव प्रायः हुने हुँदा देशलाई जोगाउन दुई चीर प्रतिद्वन्दी एमाले र कांग्रेस सहमतिमा पुग्न वाध्य भए । देशलाई सङ्कट परेको बेला आफूबीचका सारा असहमतिलाई थाँती राखेर सहकार्य गर्ने इतिहास बनाएका देशका दुई प्रमुख दलले फेरि एकपटक यो सफल प्रयास गरेका हुन् ।
नेपाली कांग्रेस र एमालेलाई भिडाएर आफ्नो सत्ता स्वार्थ पूरा गरिरहेका माओवादी सुप्रिमो प्रचण्ड र अराजकताको जगमा हुर्कँदै गरेका रास्वपालगायतका दललाई एमाले(कांग्रेसको यो मिलनले औडाहा पैदा भएको छ । सदाको लागि सत्ताविमुख हुने भय पैदा भएको छ । जनसमर्थनको धरातल गुमाउँदै गएका प्रचण्ड र आफ्नो वितण्डाकारी विगतको कारण एकपछि अर्को समस्यामा पर्दै गएको रास्वपा घाइते बाघ जसरी आफ्नो व्यवहार देखाइरहेका छन् । उनीहरूले जतिसुकै आफूलाई मात्र सही र अरूलाई गलत भने पनि उनीहरूको धरातल निरन्तर खस्कँदै गएको छ ।
नेकपा९एमाले० र नेपाली कांग्रेसले संसदको बाँकी अवधिको लागि सत्ता साझेदारीमात्र गरेका छैनन्, यो अवधिमा संविधान कार्यान्वयनको क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, खर्चिलो निर्वाचन प्रणालीमा सुधार गर्ने, सुशासन दिने, संघीयतालाई सरल, सहज र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, अर्थतन्त्रलाई सकारात्मक मार्गमा डोहोर्याएर सबल र स्वावलम्बी बनाउनेजस्ता महत्वपूर्ण लक्ष राखेका छन् । उनीहरूले वाचा गरेका उल्लिखित काम समयमा सम्पन्न भएमा देशले साँच्चिकै छोटो समयमा काँचुली फेर्नेछ ।
अर्कातिर माओवादीलगायतका विपक्षी दलहरू झण्डै दुई तिहाइ संसदीय गणित आफ्नो पोल्टामा बोकेर बसेका सत्तारूढ दुई दलको योजना असफल बनाउन न्वारानदेखिको बल लगाउँदैछन् । सरकार बन्ने वित्तिकै नेपाललाई बङ्गलादेश वा श्रीलङ्का बनाइ दिन्छौं भन्दै कुर्लने, संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको ओझिलो उपस्थितिलाई हाँसिमजाक गर्ने, बाढी(पहिरो पीडित जनतालाई राहत, उद्दार र पुनस्स्थापनामा तीव्र तथा प्रभावकारी ढङ्गले काम गरिरहेको सरकारलाई हप्तौंपछि ज्ञापन पत्र बुझाउने, साफ महिला फुटबलको फाइनलमा खेलाडीलाई हौसला प्रदान गर्न दशरथ रङ्गशाला पुगेका प्रधानमन्त्रीविरूध्द नारावाजी र हुटिङ गर्ने, हजारौं वर्षदेखि आयोजना हुँदै आएका हाम्रा सांस्कृतिक चाडपर्वलाई आफ्नो राजनीतिक अखडा बनाउने तथा संसदीय छानविन समितिले सर्वसम्मत रुपमा कारबाहीको सिफारिस गरिएका व्यक्तिको प्रहरी छानबिन र अदालती प्रक्रियामा रोक्न हुलहुज्जत गर्ने अचम्मका क्रियाकलाप गरिरहेका छन्।
अझ अचम्मको कुरा त के छ भने मानव तस्करीको आरोप लागेका कोसी प्रदेशसभा सांसद लीलाबल्लव अधिकारीलाई एमालेले तत्क्षण पार्टीबाट निलम्बनको कारबाही मात्र गरेन, एमाले नेतृत्वको वर्तमान सरकारले अनुसन्धानको लागि नियन्त्रणमा लिइसक्दा पनि सहकारी ढगीको गम्भिर आरोपमा हिरासतमा रहेका आफ्ना सभापति रवी लामिछानेलाई कारबाही त परै जावोस्, सभापति पदबाट निलम्बन समेत गर्न सकेको छैन । उल्टै अदालती प्रक्रिया अवरोध गरेर उनलाई हिरासत मुक्त गराउन ‘कडा आन्दोलन’ गरिरहेको छ ।
आफू प्रधानमन्त्री हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणका ठूलै डङ्का पिट्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रवीलाई सरकारले प्रतिसोध साँधेको भन्न छोडेका छैनन् । सरकारलाई धुलो चटाउने बन्दर घुर्की लाउन छोडेका छैनन्। इतिहासको गर्भमा हराइसकेको ‘कार्यकारी राष्ट्रपति’को मुध्दा बोकेर हिड्न थालेका छन् । महादेवले बोकेको सतिदेवीको मृत शरीरझैं करिब विसर्जनमा पुगेको माओवाद बोकेर पुनस् जनतामा जाने उद्घोष गर्दैछन् ।
वास्तवमा राजनीति समस्याहरूको पहाड हो र सँगसँगै समाधानहरूको अनन्त नदी पनि हो । समकालिन नेपालमा सबैभन्दा धेरै जनताले विश्वास र भरोसा गरेका नेता के पी शर्मा ओली नेपाली राजनीतिमा देखिएका समस्याहरूलाई छिचोलेर र उग्र वामपन्थ र अराजकतालाई निचोरेर देशलाई अपेक्षित गन्तव्यमा सहजै पुर्याउन सक्छन् भन्ने सहज निष्कर्ष निकाल्न सकिन्छ ।
प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार १ : २५ बजे
प्रतिक्रिया