राष्ट्र बैंकले गर्ने भयो डेढ अर्ब रकम मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ अर्ब बढी रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा १ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे सो बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागेको हो । आगामी मंसिर २ गते देखि लागू हुनेगरी २०८२ मंसिर १ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ३६ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २५ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ८ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी कात्तिक २७ गते बेलुका ७ बजेसम्म बोलकबोल पेश गनु पर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १२ : १८ बजे