एमाले अछामको जिल्ला अधिवेशनको आज उद्घाटन हुँदै

अछाम । एमाले अछामको आजबाट सुरु हुने आठौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

आज मध्यान्ह १२ बजे मंगलसेनको खुलामञ्चमा उद्घाटन हुने अधिवेशनमा गाउँगाउँबाट प्रतिनिधि आइरहेका छन । अधिवेशन सफल पार्न बनाइएका विभिन्न उपसमितिले आ(आफ्नो जिम्मेवारीअनुसार कामलाई अन्तिम चरणमा पुर्‍याइसकेका छन् । खुलामञ्चमा उदघाटनसहित अतिथिले मन्तव्य राख्ने काम सकिएपछि २४ पुसबाट मालिका रंगशालामा नयाँ नेतृत्व चयनका लागि बन्दसत्र हुने भएको छ ।

२०६९ सालमा नयाँ नेतृत्व चयनका ७औँ जिल्ला अधिवेशन भएको एमालेमा ८औँ जिल्ला अधिवेशनमा पदाधिकारी तथा जिल्ला सदस्यका लागि थुप्रै नेता आकांक्षी देखिएका छन् । जिल्ला नेतृत्व लिन अध्यक्ष पदमा विशेष दुई नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेता प्रकाश शाहले उम्मेद्वारी घोषणा गरिसकेका छन् । अर्का नेता चन्द्र बोहराले समेत नेतृत्व लिन दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ११ : ४२ बजे