‘एउटै नाउरको सिकार गर्न २३ लाख’

परम्परागत ज्ञान र सीपको विकास – आत्मनिर्भरता र स्वाभिमानको आधार 

परापूर्व कालदेखि चल्दै आएका चलन र व्यवहारहरू धेरैजसो वैज्ञानिक थिए । हाम्रा पुर्खाले गर्ने प्रत्येक कार्यका पछाडि विज्ञान अन्तर्निहित रहेको पाइन्छ । जीविकोपार्जनका हरेक तप्काहरूमा प्रकृति सँगको तालमेल यसका उदाहरण हुन् । अहिलेजस्तो अध्ययन र अनुसन्धान गर्न प्रविधिको विकास नभएको भए तापनि व्यावहारिक ज्ञानका आधारमा धेरै कुराहरूमा सफलता मिलेको पाइन्छ । अनुशासन कायम गर्न धेरै कुराहरूलाई धार्मिक संस्कारसँग जोडी कानुनजस्तै बनाइएको थियो । कृषि सभ्यतालाई स्वाभिमानका साथ जोगाइएको थियो, जसले गर्दा आत्मनिर्भरता साथै उत्पादन कार्यले उनीहरूको शारीरिक व्यायाम र स्वस्थ्यकर खाना उपलब्ध थियो ।  

दैनिक आवश्यकताका सरसमान आफ्नै सीप र जाँगरले आफै उत्पादन गरी तयार गरिन्थ्यो । कृषि उपजको सङ्कलन, स्याहार, भण्डारण गर्न डोका, डाला, भकारी, सुपो, कोठो, सोली  आदि विविध किसिमका सामग्रीहरू आफै बनाइन्थ्यो । यी सबैका लागि आवश्यक पर्ने बाँसको रोपिन्थ्यो ।  ओछ्याउन चाहिने गुन्द्री, मान्द्रो, चकटी, पिर्का, माछा मार्ने बल्छी, पेरुङ्गो आदि आफै बनाइन्थ्यो । त्यसरी नैे बस्तुभाउलाई बानेर राख्न दाम्ला आफै बाटिन्थ्यो । जाडोबाट बच्न अल्लाको कपडा, बर्षातमा चाहिने ओढना स्याखु, छतरी आदि आफै बनाइन्थ्यो ।  

पशुजन्य उत्पादनको व्यवस्थापनका लागि स्वस्थकर काठका  ठेका, ठेकी, गावु, हर्पे, चाँैठी, मदानी, आरी आदि भाँडा गाउँकै सिपालुहरूबाट बनाइन्थे । कृषि कार्यका लागि आवश्यक पर्ने हलो, जुवा, नारा आदि गाउँकै मानिसहरूबाट बन्दथे । प्रकृतिका अमूल्य वरदानका रूपमा रहेका जङ्गली जडीबुटीको पहिचान गरी फरक फरक रोग ब्याधको उपचार  स्थानीय स्तरमा निःशुल्क गरिन्थ्यो । यसरी जनकल्यणकारी काम गर्नु उनीहरूको पहिचान थियो । जनावरदेखि मानव सम्मका हड्डी भाँच्चिएमा काप्रा बाँध्न लहरे गिठी, बिलाजोर, हात्तिकाने र हडचुर  जस्ता जडीबुटीको  प्रयोग गरिन्थ्यो । यस्ता प्राकृतिक स्रोतहरूको संरक्षणको माध्यमबाट आत्मनिर्भरताको बलियो नमुना  स्थापित थियो । केवल नुन र मट्टितेल मात्र मात्र किन्नुपर्थ्यो । सम्भव भएका ठाउँमा उज्यालोको लागि सल्लाको दियालो प्रयोग गरिन्थ्यो ।

यसरी हाम्रा पुर्खा आत्मनिर्भर र स्वाभिमानी थिए । आफ्ना पुर्खाका यस्ता कार्यहरूको अनुसरण गर्नु, ज्ञान र सीपलाई आफूमा सार्नु र थप विकास गर्दै आत्मनिर्भर हुनु आजको आवश्यकता हो । तर आजको पुस्ता यसको १८० डिग्री विपरीत ध्रुवमा छ । परम्परागत ज्ञान र शीपलाई आर्जन गर्नु आजको पुस्ताका लागि लाज लाग्ने विषय बन्न पुगेको छ । यसरी स्वाभिमानी जिन्दगी बाँच्न सिकाउने अग्रज—पूर्वजहरूबाट शिक्षा लिएर युग सुहाउँदो विकासमा अघि बढ्नु पर्ने वर्तमान पुस्ता अन्धविश्वासी र रुढीवादी परम्पराहरूलाई निरन्तरता दिने या सबै पुराना विषयको घनघोर विरोध गर्ने, जस्तासुकै विदेशी खानपान तथा आचरणको सिको गरिरहेको अवस्था छ । आडम्बरी जीवनशैली, सहरी बसाइ, प्लाष्टिकका समानको प्रयोग, कम परिश्रम, तयारी खाना, मोबाइल र कम्प्युटरको आवश्यकताभन्दा बढी प्रयोग र निर्भरता, एलोप्याथिक औषधि, अङ्ग्रेजी भाषा प्रतिको  अतिरिक्त मोह स्वाभिमान र आत्मनिर्भरताका विपरीत विषय हुन् । 

परम्परागत ज्ञान र सिपलाई नयाँ पुस्तामा सार्न आवश्यक छ । यसमा वर्तमान पुस्ता स्वयंले चासो राख्नुपर्दछ । पूर्वजका परम्पराको नाममा खराब काम—कुरालाई निरन्तरता दिनुपर्छ भन्ने छैन । जन्मदिन,  व्रतबन्ध,विवाहमा तडक भडक देखाउने उद्देश्यले गरिने भोजभतेरहरू फजुल खर्चका हुन्, जसबाट न त शारीरिक स्वास्थ्य राम्रो हुन्छ, न आर्थिक स्वास्थ्य न त सामाजिक स्वास्थ्य नै । 

के हामीलाई थाहा छ १०० दाना चामल तौलिँदा औसतमा १४.७५ ग्राम हुन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या २,६४,९४,५०४ छ । प्रत्येक नेपालीले १ सिता भात फालेमा ३,९०५ केजी चामल फालिन्छ । एक केजीले सरदर ३ जनालाई एक छाक खान पुग्दछ  । यसरी ११,७१५ जनाले एकछाक  खान पाउँछन् । पेट पाल्नका लागि रोजगारीको अभावमा दैनिक १५०० नेपाली युवा विदेशतिर लागिरहेको अवस्थामा दैनिक पार्टी प्यालेसहरूमा देखिने तडक भडकले के नेपालीहरू साँच्चिकै गरिब छन् त भनेर सोच्नै पर्ने देखिन्छ । 

परम्पराको अनुसरण गर्ने नाममा श्रावण महिना लागेदेखि घरदेखि कार्यालय सम्मका दर खाने चलन, मादक पदार्थको सेवन, जुवातास के यो अग्रगमन हो ? यही हो महिला मुक्तिको छलाङ्ग ! के हामीले खोजेको  विकास र समानता यही हो ? के सबै नेपालीहरूले यस्तै गर्न सकेका छन् ? सबैलाई यस्तो पुगिसरी आएको छ ?  यो सबै कहाँबाट खर्च गर्न पुगेको छ ? के यही हो लोकतन्त्र र समावेशी समाजको परिकल्पना ? 

सभ्य, भव्य र स्वतन्त्र समाज स्थापना गर्न परिवर्तन आवश्यकता हुन्छ । परिवर्तन आफैले सुरु गर्नु पर्दछ । परिवर्तन सादा जीवन, उच्च विचार र परिश्रमबाट सम्भव हुन्छ । जनताको सहभागितामा ऐतिहासिक मठ-मन्दिरहरू, पाटी-पौवाहरू, धार्मिक स्थलहरूको संरक्षण गर्न सकिन्छ । चौतारीहरू चिन्ने,  वर—पीपल, समी लगाउने, हस्पिटल, बाटो, पुल, पानीका धारा, सरकारी भवन, विद्यालयहरू, क्याम्पस र सामुदायिक भवनहरू निर्माण, मर्मत र संरक्षण गरिनु पर्दछ । पुर्खाले देखाएको बाटोलाई आत्मसात् गरी आफ्नो मौलिकतामा प्रगति गर्न स्थानीय स्रोत र साधनको प्रयोग गरी उद्यमशीलता विकास गर्नुपर्दछ । कृषि, पशु  र वनजन्य उद्योगहरू स्थापना र विकास गरी युवा जनशक्तिलाई नेपाल मै रोजगारीको  रोजगारीका अवसर उपलब्ध गराउनु पर्दछ । गरिब, असहाय, भिन्न क्षमता भएकाहरूका लागि जीविकोपार्जनका स्रोतहरूको व्यवस्था गर्नुपर्दछ । शिल्पी समुदायका  सीपहरूलाई स्तरोन्नति गरी उनीहरूको सम्मानजनक पहिचान स्थापित गर्नुपर्दछ । 

गाउँ—घरमा सामाजिक चेतना र शिक्षाको कमी छ । यसबाट अन्धविश्वास र रुढीवादले जरा गाडेको छ । गरिबी र जातीय विभेद कायमै छ । कृषि क्षेत्र, वन क्षेत्रमा गर्नुपर्ने काम  धेरै छन् । शिक्षा, स्वास्थ्य, उद्यम विकासका लागि नयाँ प्रविधिको खाँचो छ । सरकारी सेवा तथा अन्य सेवामूलक कार्यस्थलमा उच्च दक्ष कर्मचारीको खाँचो छ । नीति र प्रविधि कागजमा बनाएर  मात्र हुँदैन, व्यवहारमा उतार्नु आजको आवश्यकता हो । ज्ञान प्राप्त गरेकाले गरेर देखाउनुपर्दछ । अरूलाई अह्राउने मात्र कामले दक्षता पुष्टि हुँदैन । 

जन्मदिन, व्रतबन्ध, विवाह, मृत्यु संस्कार, दान, सेवा र सहयोगलाई निरन्तरता दिई अनुशासन, शान्ति र सद्भाव स्थापना गर्नु पर्दछ तर तडक—भडक देखाउने उद्देश्यले गरिने फजुल खर्चहरू बन्द गरिनु पर्दछ, खानेकुरा फाल्नु एक जघन्य अपराध हो भन्ने कुरा स्थापित गर्नुपर्दछ ।  धर्म र पितृ सत्ताको आडमा महिलामाथि लगाइएका अन्धविश्वासी र रुढीवादी परम्पराहरूलाई परित्याग गरी महिलाहरूलाई वास्तविक अर्थमा सशक्तीकरण हुन दिनुपर्दछ । नारीलाई दासी बनाउने जुनसुकै प्रचलनलाई निरुत्साहित गरिनुपर्दछ ।  कन्यादान भन्ने शब्दको प्रयोग गर्नुहुँदैन मानिस दान गर्ने वस्तु होइन ! दान गर्नुछ भने रक्तदान, नेत्र दान, भूमि दान, श्रमदान, अन्नदान, धनदान गर्नुपर्छ, धेरै ठाउँ र क्षेत्रमा यस्ता दानको खाँचो छ । 

हाम्रो कृषि सभ्यता र योग विश्व विजयी छ । यिनैको विकासबाट शिखर चढ्नुपर्दछ । श्रमजीवि वर्गको सम्मान गर्ने सिद्धान्तलाई व्यवहारमा लागू गरी आर्थिक र सामाजिक अधिकारद्वारा समानता स्थापना गर्न सकिन्छ, यसैमा देशको मौलिकताको दम भेटिन्छ । 

मादक पदार्थको सेवन, जुवातास, गरगहना र व्यभिचारले भ्रष्टाचार र हिंसा निम्त्याउँछ । यसलाई समाजबाटै निर्मूल गरी सभ्य समाज निर्माणमा जोड दिनु जरुरी छ । स्वस्थ खाना, सादा जीवन, परोपकार र परिश्रमले उच्च विचार विकास हुन्छ, जसबाट सकारात्मक परिवर्तन सम्भव छ । परम्परालाई जस्ताको तस्तै कायम राखे रूपान्तरण हुँदैन । नयाँ कुराको अनुसरण गर्न सजिलो हुन्छ तर पुरानो कुरा त्याग्न धेरै कठिन हुन्छ । कृत्रिम गतिविधि सृष्टिको गति होइन, प्राकृतिक होइन ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ४१ बजे