एमालेका सबै जिल्लामा आज अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल रुपमा एकैसाथ उद्घाटन गर्नुहुने

काठमाडौँ । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । 

महाधिवेशन पूर्व तोकिएको एकै दिनमा पालिका स्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले यही पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो । 

महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । 

ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृह जिल्लामा पुगेका छन् ।  

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : २० बजे