कात्तिक १३ । बिर्तामोड स्थित सिटी सेन्टरमा फोक्सोको क्यान्सर पीडित ज्ञानु बुढाथोकीको याङरुप उपन्यासको एक भव्य समारोहमा विमोचन सम्पन्न भएको छ । झापाली स्रष्टा समाज, र सप्तक संगीत विद्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष हरि बरालका अध्यक्षतामा सुरु भएको थियो ।
सभाका प्रमुख अतिथि प्रख्यात आख्यानकार कृष्ण धराबासीले लेखन स्वतन्त्र र स्वच्छन्द हुन्छ भन्दै लेखनमा कुनै पनि वाद विचारलाई सिरानी हाल्नु पर्दैन भन्दै प्रगतिशील लेखनप्रति कटाक्ष गर्नु भयो । प्रमुख अतिथि लगायत सबै अतिथिहरुले सामूहिक रुपमा उपन्यासको लोकार्पण गर्नु भएको थियो ।
विशेष अतिथि वरिष्ठ समालोचक प्रा.डा. बद्रीविशाल पोखरेलले याङरुप उपन्यासका अन्जु ठटाल,याम, उर्वशी र चेलुङ लगायत पात्रहरुले देश भक्तिपूर्ण भावना र विचार व्यक्त गरेको प्रसंग उठान गर्नु भयो । यसै क्रममा नौनौ दिनसम्म पानी सम्म नखाई नेपालको किल्ला काँगडामा नेपाली नर नारीले गरेको अपूर्व बलिदान गरेको उपन्यासमा उल्लिखत सन्दर्भको चर्चा गर्नु भयो ।
उपन्यासमा परिवर्तित सन्दर्भ अनुसार देश अब एक जात, एक नश्ल, एक धर्म एक संस्कृति र समुदायको वर्चस्व आधारित नभएके सन्देश उपन्यासमा चर्चा गरिएको र वेद र मुन्धुम सहितको समग्र र समष्टि पहिचान युक्र भएको सान्दर्भिक सन्देश दिएको डा. पोखरेलले बताउनु भयो । तैपनि उपल्ला तहका राजनीतिक नेतृत्वको अल्प चेतनाका कारण देशलाई बदलिएको परिस्थिति अनुसार धार्मिक सांस्कृतिक रुपान्तरण गर्ने विषयको शून्य चेतले गर्दा राष्ट्रिय चाडपर्वहरु एक जात,धर्म र संस्कृतिपक्षधर रहिरहेको बताउनु भयो ।
यो बेला पनि दशैँलाई वडा दशै र विजया दशमी भन्ने गरिएकामा आपत्ति प्रकट गर्दै डा. पोखरेलले सरकार र पार्टी नेतृत्वले सामन्तवादी संस्कृतिलाई शिरोपर गर्दा सांस्कृतिक अन्तघुलन हुन नसकेको बताउनु भयो । एमाले र नेका लगायत प्रमुख पार्टीहरुले परिवर्तित राजनीतिक अवस्थामा सबै जात,जाति,संस्कृति र समुदायका नेपाली सन्तानलाई राजनीत र राजकीय क्षेत्रका उपल्ला तहसम्म पुग्ने अधिकार सुनिश्चित गरेको सकारलाई समर्थन गर्नु भयो । सप्तक संगीत विद्यालयका बालबालिकाको देशभक्ति पूर्ण गीत गायनको समेत प्रशंसा गर्दै देश प्रेम केवल गायन,वाद्यवादन र मुख बोलीको मात्र विषय नरहेको हुँदा यसलाई व्यवहारमा उतार्नु पर्ने र आत्मसात् गर्नु पर्ने डा.पोखरेलले बताउनु भयो ।
नेपालको संविधान २०७२ जारी गर्दा भारतीय शाषकले दृढताका साथ राखेको ७ बुँदे प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र अझ यसका विपक्षमा एमाले अध्यक्ष के. पी.शर्मा ओलीले चट्टानी अडान राखेको हुँदा देश विखण्डित हुनबाट जोगिएको पोखरेलले ठोकुवा गर्नु भयो । उहाँले यस खालका महानतम गुन बिर्सिएर कुनै पनि देशभक्त नेपाली बैगानी र कृतध्न बन्न नसक्ने बताउनु भयो । तर देशलाई माया गर्छु भन्नेहरु विदेश र विदेशीका सामु राष्ट्रपति र प्रधानमन्त्रीलाई तथानाम भन्नेहरु सारमा देशभक्त होइनन् भन्नु भयो ।
कार्यक्रममा प्रा.डा.टङ्क न्यौपाने, समीक्षक तारा विविध,समालोचक मधु केरुङ,डा. बालचन्द्र सुब्बा,चन्द्र भण्डारी,कुमार सुवेदी,आख्यानकार ज्ञानु बुढाथोकी,रीता पोखरेल,र सूर्य ढुङ्गेल लगायतले मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार १२ : १५ बजे
प्रतिक्रिया