बगेर खेर गइरहेछ भोटको नुन

यात्रा संस्मरण:

भारत यात्राले भवानीप्रसादसँग जुराएको भेट 

मनश्चित्र उत्कण्ठालाई नामेट पार्दै पैतालाले देश छोड्छ । तमाम विषय थाती रहन्छन् । सिक्ने हुटहुटीमै भ्रमणको तारतम्य मिल्छ । 

अनि प्रारम्भ हुन्छ रापिलो दक्षिण भारतको यात्रा । 

जुन यात्रा– भावना, उत्सवसँग जोडिन्छ ।  प्राकृतिक महिमा र सांस्कृतिक महत्वसँग जोडिन्छ । परिवार,सङ्घर्षसँग जोडिन्छ । र, जोडिन्छ बेङ्लोरी नेपालीहरूसँग । 

भारत भ्रमणको यो सिलसिला दोस्रो हो । यसअघि थोरै दिनका लागि अयोध्या पुगेको थिए । तर,नेपाली परिवारकै घरमा बस्ने, खाने, घुम्ने र घुलमिल हुने मौकाका हिसाबले भने यो नै पहिलो हो । संस्कृति अध्येता घनश्याम कोइरालाले भ्रमणको चाँजोपाँजो मिलाउनुभएको हो ।  

३० असोजको बिहानै पूर्वी नेपालको काँकडभिट्टाको मेची पुल तरेपछि भारत भ्रमणको औपचारिक यात्रा सुरु हुन्छ । त्यहाँबाट २०/२२ किलोमिटर रिक्साको यात्रापछि बागडोगरा एयरपोर्ट पुगिन्छ । मेरो चिलगाडीको पहिलो अनुभव हो । फेरी पहिलो अनुभव नै देश बाहिरको एयरपोर्टबाट भयो ।  

३० असोजकै दिउँसो १२ बजे बेङ्लोर पुगेँ । आफ्ना ज्वाइँ तेज गौतमसँगै घनश्याम गुरु सहधर्मिणी जानकी कोइरालासहित विमानस्थलमा पुग्नुभएकोले अगाडिको यात्रा—ठरठेगानाबारे कुनै समस्या हुने कुरै भएन । त्यस दिन घनश्याम गुरुकी छोरी जाह्नवी र तेज गौतमको घरमा पुगियो । भात भान्सा त्यहीँ गरियो । 

बाँकी यात्राको रूपरेखा पहिल्यै तयार थियो । हामी त्यसै दिन २०—३० मिनेटको दूरीमा रहेको अर्को घर पुगियो, यो घर हो ९२ वर्षका पाका नेपाली भवानीप्रसाद सुवेदीको । 

झमक्क साँझ परिसकेको थियो । एउटै घरमा धेरै जना नेपाली । तर, अरू कोही होइन, भवानी प्रसादको परिवार । भवानीप्रसादकी श्रीमती देवीकला, जेठा छोरा कोमल, जेठी बुहारी राधा, कान्छा छोरा हरि, कान्छी बुहारी जनु । नातिनीहरू र नाति क्रमशः केसर, ऋद्धिका, विभूती, प्रांशु र जेठी छोरी जानकीका छोरा बिराज । ११ जनाको परिवार ।

हामी भोलिपल्ट (कात्तिक १ गते) भारतकै अर्को प्रान्त आन्ध्र प्रदेशका विभिन्न ठाउँहरूको अवलोकनका लागि भ्रमणमा निस्कनुपर्ने थियो । भवानी दम्पती, घनश्याम दम्पती, कोमल, बिराज र म गरी ७ जनाको टोली थियो । हाम्रो यात्रा कात्तिक १ गते झिसमिसेमै आरम्भ भयो । भ्रमण तीर्थाटनमा बढी केन्द्रित थियो । 

टोलीमा फरक फरक उमेर समूहका थियौँ । शताब्दी पुग्नै लाग्नुभएका भवानीप्रसाद सुवेदी यात्रामा सबैभन्दा ज्येष्ठ हुनुहुन्थ्यो । 

बेङ्लोरबाट नान्द्यालतर्फ हाम्रो गाडी हुइँकियो । कार कोमलले हाँक्नुभएको थियो । यात्राका क्रममा गीत—सङ्गीत सुन्न कमै रुचाउने भएकाले यात्रा अवधिभर हामी कसैले गीत सुनिएन । गीत नसुनेकैले हामी गफागफमा बढी व्यस्त भयौँ । 

शताब्दी पुग्नै लाग्नुभएका भवानी प्रसादसँग  मेरो बातचित सुरु हुन्छ । 

‘उमेरले नेटो काट्यो, बुढ्यौलीले छोप्यो, शक्ति कमजोर भयो, आफ्ना कुरा बिक्न छाडे, पत्याउन पनि छाडे’ भवानीप्रसादले गुनासो गर्नुभयो । ‘उमेर हुँदा नगरेको कुनै कुरै भएन, दुःख भने दुःख गरियो, सुख भने सुख काटियो ।’ उहाँले विगत स्मरण गर्नुभयो । 

बाटोमा नास्ता गरेर हामी नान्द्याल पुग्छौँ । सूर्यनन्दीको दर्शन गरेर अघि बढ्छौँ र महानन्दीतर्फ हाँकिन्छौ। 

मैले बुवा भवानी प्रसादसँग सोधेँ, ‘बेङ्लोरमा कति वर्ष पुरानो हो हजुर ?

‘१६ वर्षमा आएको हुँ, अहिले ९२ लागेँ, कति वर्ष पुरानो हो आफैँ हिसाब गर्नुस् ।’ उहाँले सरासर उत्तर दिनुभयो ।  

‘बेङ्लोर आएर के काम गर्नुभयो ?’ 

मेरो प्रश्नमा उहाँ मौन हुनुभयो । म अल्लि सतर्क भएँ । मैले सोध्न नहुने कुरा सोधेँ कि रु कुतूहल भयो । उमेरजन्य कारणले होला, उहाँ कान कम सुन्नुहुँदो रहेछ । त्यतिबेला मेसिन लगाउन भुल्नुभएको रहेछ । कोमल सुवेदीले मलाई यसबारे जानकारी गराउनुभयो । 

यस्तै कुराकानी गर्दै हामी महानन्दीबाट श्रीशैलम् लम्कियौँ । साँझ परिसकेको थियो । बाटोमै साक्षी गणेश यात्राको साक्षी बनेर बसेका रहेछन् । हामीले ढोगभेट ग¥यौँ । 

यात्रामा हावाबाट बिजुली निकालिएको देखियो । साना साना थुम्काथुम्कीहरूबाट बिजुली निकालिएको रहेछ । तर, दुर्भाग्य भन्नुपर्छ नेपालमा केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा हावामै उडाइयो । नेपालमा थुप्रै अग्ला अग्ला पहाडहरू छन् । एकदिन नेपालीहरूको त्यो सपना पनि पूरा हुनेछ । 

साक्षी गणेशको दर्शन गर्दा हामी विलम्ब भइसकेका थियौँ । घडीको झिनो सुई ८ अङ्कमा तेर्सिइसकेको थियो । हामी देव तिलकुल धर्मशाला पुग्यौँ । धर्मशालाको बन्दोबस्त पहिल्यै भएकाले केही असहज भएन । मल्लिकार्जुन ९१२ ज्योतिर्लिङ्ग मध्ये एक०को दर्शन गर्ने मन बनाएर त्यो रात धर्मशालामै निदायौँ ।

‘प्रिय सबैका लागि प्रिय हुन्छ । अप्रिय कसैका लागि पनि प्रिय बन्न सक्दैन । त्यसैले सबैको प्रिय बन्नुपर्छ ।’ भवानीप्रसादले प्रमिलभावमा स्नेहसाथ भन्नुभयो । 

उहाँ १६ वर्षको उमेरमै टुहुरो हुनुभएको रहेछ । बागलुङको भिरमा जन्मिनुभएका भवानीप्रसाद कामको सिलसिलामा भारत आउनुभएको हो । उहाँ कुनै प्रसङ्गमा विगत सम्झँदै भन्नुहुन्छ, ‘बाबु, खान लाउन पनि गाह्रो थियो । अहिले घुमफिर, तीर्थव्रतलाई पनि पुगेको छ ।’ 

भवानीप्रसाद सङ्घर्षको जीवन्त उदाहरण हुनुहुन्छ । उहाँसँगको गफागफ मेरा लागि थुप्रै प्रेरणा बने । उहाँको विवाह पनि ढिला भएको हो । ३८ वर्षको उमेरमा १५ वर्षकी सँग  उहाँको विवाह भएको हो । उहाँको अहिले ५ सन्तान छन् । 

उहाँसँगको गफ धेरै बाक्लियो । उहाँ नेकपा एमाले निकट प्रवासी नेपाली सङ्घ बेङ्लोरको १० वर्ष अध्यक्ष हुनुभएको रहेछ । उहाँका राजनीतिक विषय अन्यत्र चर्चा गरौँला । 

कात्तिक २ गतेको सूर्योदयसँगै मल्लिकार्जुनको दर्शन गरियो । सँगै रहेकी भ्रामम्बिकाको पनि दर्शन गरियो । मन्दिर निकै सफा छ । अबिर केसरी धुपआदि निषेध छ । दर्शनार्थीहरुका लागि लाइनको व्यवस्थापन निकै प्रशंसनीय छ । दर्शनार्थीहरुको स्वास्थ्य दृष्टिलाई ध्यानमा राखेर प्रसादीमा ओजनदार प्रसादी खुवाइन्छ । त्यहाँ जे उत्पादन हुन्छ । त्यही वस्तु प्रसादीको रूपमा बढी ग्रहण गरिँदो रहेछ । हामी हाम्रोमा उत्पादन भएको वस्तुलाई कम महत्त्व र बाहिर उत्पादन भएको वस्तुलाई बढी महत्त्व दिन्छौँ र महँगो मूल्य हालेर किन्छौँ । हामी जुम्लामा फलेका स्याउलाई प्रयोगमा ल्याउँदैनौ । भारतबाट आयात भएका नरिवललाई बढी प्राथमिकता दिन्छौँ । जुम्लाको स्याउ कुइन्छ । नरिवल व्यापारबाट भारतले अर्बौँ भित्र्याउँछ । हामीले त्यतातिर पनि ध्यान दिन जरुरी छ । 

मल्लिकार्जनको दर्शन पश्चात् रिक्सामा चढेर हामी अटकेश्वर महादेव पुग्यौँ । अग्लो ठाउँमा रहेकाले हामीले मल्लिकार्जनलाई थप नियाल्यौँ । रिक्साकै यात्राबाट ललितादेवीलाई ढोगभेट गर्‍यौँ । 

आदि शङ्कराचार्यले तपस्या गरेको पावन भूमिमा हाम्रा पाइला टेकिए । पालधारा—पन्चधाराले हामीलाई स्वागत गरे । (स्थानीय भाषामा पाल भनेको दूध हो ।) हामीले पञ्चाङ्ग स्नान गर्‍यौँ, वरपर विचरण गर्‍यौँ । शङ्कराचार्यले शिवानन्दलहरीको रचना त्यही भूमिमा गर्नुभएको रहेछ । त्यहाँबाट नजिकै रहेको कृष्णा नदी ड्यामको  स्थलगत भ्रमणपश्चात् धर्मशाला फर्कियौँ । 

दक्षिण भारतका थुप्रै सहरहरूमा फुटपाथमा सहजरुपमा व्यापार गरिरहेका छन् । त्यसले निम्न आयस्रोत भएका नागरिकहरूको बेरोजगारी दर घट्न सक्छ । राज्यलाई पनि राजश्व सङ्कलनमा टेवा पुग्छ । नेपालले पनि फुटपाथ व्यवस्थापन भारतबाट सिक्नपर्दछ । काठमाडौँलगायत सहरहरूमा पनि फुटपाथको सहज व्यवस्थापन हुनपर्दछ । त्यसले तल्लो तहको आर्थिक अवस्था भएका जनतालाई अझ थप सहज हुन्छ ।  

कहिल्यै नचाखेका खानेकराहरुले मेरो जिब्रो स्वादे भइसकेको थियो । त्यहाँका विभिन्न परिकार र स्वादिष्ट खानाले मेरो स्वाद फेरियो । नेपालमा बिहान ९ बजे दाल भात तरकारी खाने गर्छौँ । हामी थोरै आइटम बनाउँछौँ । तर,त्यहाँ थुप्रै परिकारले थाल भरिए । 

त्यहाँ प्रान्तैपिच्छे फरक फरक भाषाको प्रयोग हुँदो रहेछ । भाषा पटक्कै बुझिँदैन । त्यहाँ घुम्न बाहिरी पर्यटकहरूलाई गाइडको आवश्यक पर्दछ । त्यसले रोजगारी सिर्जना गरेको छ । साइनबोर्डहरूमा स्थानीय भाषाकै प्रयोगले पनि गाइडको अझ बढी आवश्यक पर्छ ।

३ गते घाम उदाउनु पूर्व नै हामी ‘अहोबिलम्’ को यात्रामा निस्कियौँ । (अहो भनेको अचम्म र बिलम्  भनेको गुफा)

नरसिंहहरूको दर्शनको लागि सार्वजनिक बसहरू नपाइने रहेछ । निकुञ्जको मध्यबाट जानुपर्ने भएकाले जिप मात्रै पाइने रहेछ । निकुञ्जबाट जान ५ सय रुपैयाँ ट्याक्स तिरेर हामी उकालो यात्रामा लाग्यौँ । जिपको रोमाञ्चक यात्रा गर्दै पावन नरसिंहसँगको एउटा रूप मानिएको पावनको दर्शन गर्‍यौँ । वराह, भार्गवलगायत नरसिंहको दर्शनपश्चात् अहोबिलमको एउटा गेस्ट हाउसमा बस्यौँ ।

भवानीप्रसाद बुवासँग बिचबिचमा कुराकानीको क्रम पनि चलेको थियो । मैले वहाँलाई सोधेँ नेपाल कस्तो होस् भन्ने चाहनुहुन्छ ?

वहाँले भन्नुभयो, देशमा सुशासन कायम होस्,समृद्ध नेपालको आकाङ्क्षा पूरा होस् । हामी त अस्ताउन लागेका घाम भयौँ । नयाँ पीढीले समृद्धि पाओस् । 

भवानीप्रसाद अझै पनि देशको राजनीतिमा चासो राख्नुहुन्छ । कर्मले भारतमा भएपनि मन नेपालकै भिरपाखामा बरालिन्छ । त्यहीँका वनपाखाका चरीको सुसेली उहाँको कानमा अझै गुनगुनिइरहन्छ । 

कात्तिक ४ गते हाम्रो यात्राको अन्तिम दिन हो । बिहान हामी जङ्गल र खोला हुँदै ज्वाला नरसिंह पुग्ने तयारीमा जुट्यौँ । लामो समय हिँड्नुपर्ने भएकाले भवानीप्रसाद सुवेदी,कोमल सुवेदी र आमा देवीकला सुवेदी तल बस्नुभयो । 

म घनश्याम गुरु दम्पती र बिराज ज्वाला नरसिंह पुग्न कसियौँ । खोलाको चिप्लो बाटो भएकाले जानकी उपाध्याय हिँड्न सक्नुभएन । उहाँलाई साथी बस्न घनश्याम गुरु पनि त्यहीँ अडिनुभयो । बिराज कोइराला र म २ घण्टाको बाटो बनाएर ज्वाला, मलोला नरसिंहको दर्शन गरेर फर्कियौँ । यात्राको गन्तव्य बेङ्लोर थियो  । त्यसैले हतार हतारमै हामी त्यहाँबाट निस्कियौँ । 

भवानीप्रसाद सुवेदीसँगको सुखद साक्षात्कार मेरा लागि सुखद र प्रेरणादायी रह्यो र त्यसले मलाई ऊर्जा थपेको छ । उहाँका जीवन्त जीवन सङ्घर्षले धेरैलाई प्रभावित पार्न सक्दछ । उहाँका कथा पक्कै पनि प्रेरणादायी छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १ : ४७ बजे