“सुरक्षा बालबालिकाहरूको पहिलो आवश्यकता हो। यदि उनीहरूले विद्यालयमा सुरक्षित महसुस गर्दैनन् भने सिक्न उत्प्रेरित पनि हुँदैनन्।” (मारिया मोन्टेसोरी) मारियाको यो भनाईले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा भावनात्मक पक्षको महत्त्वलाई बढी प्राथमिकता दिएको छ। एउटा कुरा पक्का के हो भने जब विद्यार्थीहरूले भौतिक र भावनात्मक रूपमा आफू सुरक्षित भएको महसुस गर्छन् तब उनीहरू सिकाइ प्रक्रियामा प्रभावकारी ढंगले संलग्न हुन्छन्। यो कुरो मनन गरेर हामीले सार्वजनिक शिक्षा र शिक्षालयको स्तर विकासमा योगदान पुर्याउनु पर्ने भएको छ। तब मात्र देशमा दिगो सामाजिक आर्थिक रूपमान्तरणका लागि असल नागरिक तयार गर्न सकिन्छ।
उज्यालो र दिगो भविष्य सुनिश्चित गर्नका लागि युवाहरूलाई असल र क्षमतावान् बनाउनु पर्छ। यसका लागि सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण आवश्यक पर्छ। अनि मात्रै देशमा हामीले चाहेको सामाजिक आर्थिक रुपान्तरण सम्भव बनाउन सकिन्छ। यसलाई सम्भव बनाउन हामीले नयाँ शिक्षा व्यवस्थाको विकाससँगै सोचअनुसारको कार्य योजना, लगानी र प्रभावकारी कार्यान्वयन गर्ने क्षमता देखाउन सक्नुपर्छ।
राम्रो सार्वजनिक शिक्षाले व्यक्तिको मात्र होइन, समाजको व्यवहारमा पनि सकारात्मक परिवर्तन ल्याउन मुख्य भूमिका खेलेको हुन्छ। त्यसैले आजको मुख्य प्रश्न सार्वजनिक शिक्षाको स्तर कसरी राम्रो बनाउने भन्ने नै हो किनभने तथ्यांकमा मात्र होइन यथार्थमा सार्वजनिक शिक्षालयहरूको शैक्षिक उपलब्धि संस्थागत शिक्षालयरूको भन्दा कमजोर देखिन्छ। यतिबेला हामीले बुझ्नुपर्छ, “सार्वजनिक विद्यालयमा आएका सबै विद्यार्थीहरूमा समस्या छैन्। उनीहरू त शिक्षकहरूबाट ठीक शिक्षण र निर्देशन नपाउँदा अनि विद्यालयहरूको व्यवस्थापन राम्रो नहुँदा समस्यामा परिरहेका छन्।”
विद्यालयमा प्रत्येक विद्यार्थीले शिक्षकहरूबाट नियमित उत्प्रेरणा र थप सहयोग प्राप्त गर्नुपर्छ जसले गर्दा शिक्षामार्फत उनीहरूको व्यक्तिगत दृष्टिकोण र व्यवहार उत्कृष्ट बन्दै जान्छ। आज हाम्रा सार्वजनिक शिक्षालयहरूमा यो पक्ष ज्यादै कमजोर देखिन्छ। परिणामस्वरूप सार्वजनिक शिक्षालयहरूमा विद्यार्थीहरूको आकर्षण पनि निरन्तर घटिरहेको छ। यो चिन्ताको विषय बनेको छ। तैपनि हामी निःशुल्क शिक्षाको बेमौसमी हल्लाका पछाडि कुदेर यथास्थितिमा रमाउँदै समय र सामर्थ्य मात्र खेर फालिरहेका छैनौं देशलाई युवाविहिन पनि बनाउँदैछौं र युवाहरूलाई गलत बाटोमा हिंडाउँदैछौं।
वास्तवमा हामीले नयाँ पुस्तालाई असल र सक्षम बनाउनका लागि गुणस्तरीय शिक्षाको अवसर दिनुपर्छ। सानै उमेरदेखि बालबालिकाको मनस्थितिलाई सकारात्मक र रचनात्मक बनाउने क्षमता हाम्रो शिक्षामा हुनुपर्छ। तर आज यो कुराले प्राथमिकता पाइरहेको देखिदैन्। बाल विकास केन्द्रहरू प्रभावकारी देखिएका छैनन्। त्यसैले त सार्वजनिक शिक्षालयहरूमा पूर्व प्राथमिक शिक्षाले प्राथमिकता पाइरहेको छैन्। अनि त बालबालिकाहरूको शैक्षिक जग कमजोर हुँदा सार्वजनिक शिक्षायहरूको शैक्षिक उपलब्धि निरासाजनक भएको समाचारहरू आइरहेका छन्।
सामान्य सत्य के हो भने यदि हामीले विद्यार्थीहरूको आधारभूत आवश्यकताहरू पूरा गर्दैनौं भने, हामी विद्यार्थीहरूमा पूर्ण क्षमता विकासको आशा पनि गर्न सक्दैनौं। अहिले भइरहेको पनि त्यही हो। आजको शिक्षाले नयाँ पुस्तालाई देशप्रति सकारात्मक ढंगले सोच्ने बनाउन सकिरहेको छैन्। त्यसैले त अहिले देशमा होइन परदेशमा भविष्य सुरक्षित हुन्छ भन्ने भ्रममा परेर परदेशिने र उतैको नागरिक बन्ने प्रवृत्तिले प्राथमिकता पाइरहेको छ। यति मात्रै कहाँ हो र आज तिनै भूतपूर्व नेपालीहरू प्रयोग गरेर नेपालमा अराजक, स्वछन्द र खराब पात्रहरूलाई महान देखाउँदै राजनीतिक रूपमा स्थापित गराउने प्रयास पनि भइरहेको छ। त्यसको पछिल्लो उदाहरणका रूपमा रवि लामिछानेहरूलाई लिन सकिन्छ।
आजको हाम्रो मुख्य समस्या खराब शिक्षा व्यवस्था नै हो। खराब शिक्षा व्यवस्थाको निरन्तरताले असल होइन खराब नागरिक तयार गरिरहेको छ। जसले गर्दा हाम्रो शैक्षिक उत्पादन घरपरिवार र देशलाई भन्दा परदेशलाई विश्वास र माया गर्ने भएको छ। त्यसकै परिणामस्वरूप विस्तारै गाउँघरमात्र होइन सहर पनि खाली हुँदैछ। देशमा अस्वभाविक रूपमा परनिर्भरता बढेको छ। यहि मेसोमा बाह्य पक्षले नेपालको राजनीतिलाई अराजनीतिक पक्षको कब्जामा पारेर नेपालमा नियन्त्रित अस्थिरता बढाउँदै आफ्नो प्रभाव बिस्तार गर्न खोज्दैछ। हुन त यो अवस्थाको विकास हुनुमा खराब शिक्षाको मात्र होइन खराब प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्था र नीति पनि उत्तिकै जिम्मेवार देखिन्छ।
आज हाम्रो नयाँ पुस्ता मात्र होइन पुरानो पुस्ता पनि आक्रोशसहित भावनात्मक रूपमा बहकिएर गलत निष्कर्षसहित निर्णयहरू गर्ने ठाउँमा उभिएका छन्। किनभने आक्रोशमा मान्छेले ठीक र बेठीक छुट्याउने क्षमता राख्दैन। भनिन्छ नि “रिसमा मान्छेले वेद पढ्दैन्।” आक्रोशमा मान्छेको दिमाग भ्रमित र असन्तुलित हुन्छ। विवेकसम्मत निष्कर्षमा पुग्ने र सन्तुलित हुने क्षमता गुमाउँछ। जसले गर्दा उसले गर्ने निर्णयहरू कारण र प्रभाव बुझेर होइन, सत्य र असत्य चिनेर होइन भ्रममा परेर हुने गर्छन्। यो नै हाम्रो मुख्य समस्या बनेको छ। हामीले बुझ्नुपर्छ, “जब हामीमा आक्रोशले घर गर्छ तब हामी सत्य खोजेर स्पष्ट हुन खोज्दैनौं।” अहिले नेपालमा भइरहेको पनि त्यही हो।
यतिबेला नेपालमा सत्य छाँयामा परेको छ। भीड र चर्को आवाज भनेको सही हो कि भन्ने भ्रम बढेको छ। लोकतन्त्रलाई भीडतन्त्रले निर्देशित गर्न सकिन्छ कि भनेर प्रयासहरू भइरहेका छन्। त्यसैले त भीडको चर्को आवाजमार्फत जनतालाई भ्रममा पार्न खोजिएको छ। फौजदारी प्रकृतिको अभियोगमा हिरासतमा रहेको पात्रको पक्षमा राष्ट्रिय झण्डाको दुरूपयोग पनि भइरहेको छ। रहस्यको कुरो विदेशका प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका पात्रहरू नै त्यस्ता गलत पात्रका पक्षमा उभिएका छन्। उदाहरणको रूपमा डा. स्वर्णिम वाग्लेहरूलाई लिन सकिन्छ।
हामीले बुझ्नुपर्छ, हामीले प्राप्त गरिरहेको शिक्षा ठीक छैन्। यसले हामीलाई असल वैश्वीक नागरिक बन्नमा सहयोग पनि गरिरहेको छैन्। आजको शिक्षा व्यवस्थाको निरन्तरताले न हाम्रो सामाजिक आर्थिक रूपान्तरणमा सहयोग पुर्याएको छ न त राजनैतिक तथा संवैधानिक स्थिरताको बाटोमा देशलाई हिंडाउन सहजीकरण गरेको छ। यसले त पहिले माटो सुहाउँदो व्यवस्था भन्दै हामीलाई अलमल्याएर निरङ्कुशता स्वीकार्न बाध्य बनायो, कहिले रातो क्रान्तिको भ्रममा हिंडायो भने अहिले निलो क्रान्तिको हल्लामा रमाउने बनाउँदैछ। आज यी तीन पक्ष माटो सुहाउँदो व्यवस्था चलाउने, रातो क्रान्तिको नेतृत्व गर्ने र निलो क्रान्ति भन्नेहरू अघोषित रूपमा एक ठाउँमा उभिन पुगेका छन्।
सामाजिक आर्थिक रूपान्तरण र राजनैतिक तथा संवैधानिक स्थिरताका लागि सबभन्दा पहिले हाम्रो मनस्थितिमा सकारात्मक रूपान्तरण अनिवार्य हुन्छ। हाम्रो मनस्थितिमा सकारात्मक रूपान्तरणका लागि शिक्षा व्यवस्थामा आमूल परिवर्तन आवश्यक हुन्छ। यसका साथै प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्था र नीतिमा पनि संरचनात्मक परिवर्तन खोज्नै पर्ने परिस्थिति बनेको छ। तर हाम्रा प्राज्ञिक भन्नेहरू भने ‘देशको अवस्था बदल्न व्यवस्था बदल्नु पर्छ’ भन्ने खराब भाष्य र नेतृत्व स्थापित गर्न आफ्ना क्षमताहरूको दुरूपयोग गरिरहेका छन्। यसको ज्वलन्त उदाहरण प्रा. डा. सुरेन्द्र केसीहरूलाई लिन सकिन्छ।
त्यसैले सार्वजनिक शिक्षामा आमूल परिवर्तन गर्ने हो भने यसको सुरुवात पूर्व प्राथमिक शिक्षाबाट गर्नुपर्छ। अनि क्रमिक रूपमा माथिल्लो कक्षाहरूलाई व्यावहारिक, वैज्ञानिक र प्रभावकारी बनाउनु पर्छ। यसका लागि विश्वविद्यालयका शिक्षा संकायहरूले सोअनुसारको शैक्षिक जनशक्ति तयार गर्ने पाठ्यक्रम बनाएर प्रभावकारी कार्यान्वयनमा लैजानु पर्छ। सञ्चार माध्यमहरूमा शैक्षिक मुद्दाले प्राथमिकता पाउनु पर्छ। अहिले नेपालको बाल विकास कार्यक्रममा भइरहेको लगानी बालुवामा पानी हाले जस्तो भएको छ। यसले पूर्व प्राथमिक शिक्षाको धर्मलाई सम्बोधन गर्दैन। सार्वजनिक शिक्षालयहरूमा भन्दा संस्थागत शिक्षालयहरूमा विद्यार्थीको आकर्षण र अभिभावकहरूको चासो बढ्नुको एउटा मुख्य कारण पनि यही हो।
“शिक्षाको चरित्रले देशको चित्र निर्धारण गर्छ।” नेपालमा शिक्षा तथा सामाजिक व्यवस्थामा पश्चिमा विश्वदृष्टिकोण हावी हुँदा हाम्रो राष्ट्रिय चरित्र राष्ट्रको स्वार्थ हेर्ने खालको भएन। आफ्नो मौलिकता र पहिचान त्याग्नुलाई प्रगति ठान्ने नागरिक तयार भइरह्यो। त्यसैले शिक्षा तथा सामाजिक व्यवस्थाको चरित्रमा आधारभूत परिवर्तन नगरी न देशका लागि असल नागरिक तयार गर्न सकिन्छ न त राजनीतिक, प्रशासनिक, न्यायिक, प्राज्ञिक र सामाजिक नेतृत्व नै असल पाउन सकिन्छ। आज यो सत्य हामी सबैले स्वीकार गर्नैपर्ने भएको छ।
जनमनोविज्ञान नकारात्मक बनाउने, अराजकता र स्वछन्दतामा रमाउने अनि परदेश पलायनमा प्रगति देख्ने नागरिक तयार गर्ने शिक्षा तथा सामाजिक र आर्थिक व्यवस्था कायम भएसम्म देशले राजनैतिक तथा संवैधानिक स्थिरतासहित समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प पुरा गर्न सक्दैन्। त्यसैले यो नकारात्मक अवस्थाबाट देशलाई मुक्त बनाउन सबभन्दा पहिले शिक्षा व्यवस्थालाई पूर्वीय विश्वदृष्टिकोणको जगमा विकास गरेर पश्चिमा विश्वदृष्टिकोणलाई हाम्रो स्वार्थअनुसार सन्तुलित रूपमा प्रयोग गर्ने परिपाटी स्थापित गर्नुपर्छ।
प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार ४ : ५६ बजे
प्रतिक्रिया