‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तराईका जिल्लामा चिसो बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या पनि बढे

बुटवल । तराईका जिल्लामा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइडका बिरामी बढेका हुन् ।

चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा.मनोहर जोशीले बताउनुभयो । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रुघाखोकी लगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लगायतका अस्पतालमा पुस लागेसँगै रुघाखोकी, निमोनिया र टाइफाइडका बिरामी बढेका हुन् ।

“चिसोबाट जोगिन हिटर अथवा आगो बालेर झ्याल ढोका हावा नछिर्ने गरेर बन्द गर्छन् । यस्तो अवस्थामा निसास्सिएर ज्यान जाने सम्भावना हुन्छ” जोशीले भन्नुभयो, “हिटर बाल्दा झ्याल खुला राख्नुपर्छ ।”

रुपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बनेका छन् ।

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामी चिसोका कारण बढेको लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाका अहेव भोजराज पोखरेलले बताउनुभयो ।

गौतम बुद्ध मुटु अस्पतालमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डा.समीर गौतमले जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभयो।

 

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ५८ बजे