सुनको मूल्यमा नयाँ कीर्तिमान

‘लकडाउन’ अघि प्राप्त माग पत्र कार्यान्वयन गर्न छ महिनाको म्याद थप

काठमाडौँ । सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका माग पत्र कार्यान्वयनका लागि छ महिनाको म्याद दिएको छ ।

कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०७६ फागुनअघि प्राप्त भएका माग पत्र कार्यान्वयनका लागि २०७८ मङ्सिर २२ देखि २०७९ जेठ २१ गतेसम्म कायम रहने गरी छ महिना म्याद थप गरिएको हो । 

सरकारको यो निर्णयसँग कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनअघि प्राप्त भएका ३० हजारभन्दा बढी माग पत्र कार्यान्वयन हुनेछ । वैदेशिक रोजगारीसम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेदेखि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो । 

अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भई आएकाले पहिले नै प्राप्त भएका माग पत्रअनुरूप श्रमिक पठाउन छ महिनाको म्याद थप गरिएको हो । 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ६ : ५७ बजे