मेरो इम्युन सिस्टम शून्य छ, हजारौंको बीचमा छु, तर पनि मलाई कोरोनाले छोएको छैन : अध्यक्ष ओली

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताउनु भएको छ । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उहाँको भनाइ छ ।

संस्कृति बचाउ अभियानले बुधबार अध्यक्ष ओलीको भक्तपुरको बालकोटस्थित निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए ।

कलाकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले परम्परागत ज्ञानका आधारमा आफू अहिलेसम्म संक्रमणबाट बचेको बताउनु भयो । ‘मिर्गौला प्रत्यारोपण गरेकाले मेरो इम्युन सिस्टम शून्य छ । औषधि खाइरहनु पर्छ, जसकारण मेरो प्रतिरोधी क्षमता जिरो छ । हजारौंको बीचमा छु । दिनहुँ भेट भइरहन्छ । माला लगाउँछन् । फोटो खिच्छन् । तर पनि अहिलेसम्म संक्रमित भइएको छैन । यो परम्परागत ज्ञानकै कारण हो ,’ ओलीको भनाइ उद्धृत गर्दै एक कलाकारले भने ।

उनले पछिल्लो समय आफूमा पनि स्मरण शक्ति कमजोर हुँदै गएको उहाँको भनाइ थियो । ‘पहिले पहिले पाँच सयभन्दा बढी टेलिफोन सम्झन्थे । अहिले श्रीमतीको मोबाइल नम्बरसमेत कति हो सोध्नुपर्छ,’ उहाँले भन्नुभयो । ओलीले पुर्खाका ज्ञानका राम्रा पक्ष अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  २ : १६ बजे