राष्ट्रपति भवनमा घटस्थापना

प्रवासी नेपालीहरूप्रति थप उत्तरदायी बन्न आग्रह

काठमाडौँ । प्रवासी नेपाली सङ्घ भारतको उच्चस्तरीय प्रतिनिधि मण्डलले भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा राजदूत रामप्रसाद सुवेदीसँग भेटघाट गरेको छ । 

भेटका क्रममा प्रवासी नेपाली सङ्घ भारतका महासचिव टिका पौडेलले राजदूत सुवेदीसमक्ष भारतमा प्रवासी नेपालीहरूको अवस्था तथा अपेक्षा बारे जानकारी गराउनुभएको थियो । 

भेटका क्रममा महासचिव पौडेलले भारत प्रवासमा रहेका प्रवासी नेपालीहरूले भारतमा दूतावास रहेको अनुभूति हुने गरी दूतावासले भूमिका देखिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले प्रवासी नेपालीहरूप्रति थप उत्तरदायी बन्न राजदूत सुवेदीसमक्ष आग्रह गर्नुहुँदै भारत प्रवासमा रहेका प्रवासी नेपाली सङ्घ संस्थाहरूसँग सम्पर्क सम्बन्ध फराकिलो बनाउन आग्रह गर्नुभयो । 

उहाँले यसका लागि प्रवासी नेपालीहरूका प्रतिनिधिमूलक सङ्गठनहरू समेतको सहभागिता तथा दूतावासको समन्वय र नेतृत्वमा एउटा संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभयो । 

भेट तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नेपाली भाषा र संस्कृतिको क्षेत्रमा सहयोगात्मक भूमिकाका लागि अनुरोध समेत गर्नुभएको छ । 

उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रवासी नेपाली सङ्घका प्रमुख सल्लाहकार हरि घिमिरे, सङ्घका पूर्व अध्यक्ष रामलाल काफ्ले, सङ्घका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारी, सांस्कृतिक काउन्सिलर यदुनाथ पौडेलको सहभागिता रहेको थियो ।

भारतमा रहेका प्रवासी नेपालीहरूले नेपालको राजनीतिक, आर्थिक पक्षमा योगदान पुर्‍याउँदै आएका छन् । 

प्रवासी नेपालीहरूले दुई देशबीचका जनमैत्री सेतुको रूपमा समेत योगदान गर्दिआएका छन् ।  प्रवासी नेपालीहरूका चासोप्रति राजदूतावास सकारात्मक रहेको बताइएको छ । 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ५९ बजे