साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपालले अनुकूलताको फाइदा उठाउन सक्नुपर्छ 

संसार  गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, कृषिमा आधुनिकीकरण, उत्पादनमा वृद्धि, विविध विषयमा अनुसन्धान, परिपक्व भौतिक निर्माण, समाज कल्याणमा नयाँ सोच र समग्र विकासमा प्रतिस्पर्धा गरिरहेको छ । यो २१ औँ शताब्दीका यस्ता गहकिला विषय एकातिर पन्छाएर नेपालको राजनीति भने कसरी पुग्ने र राष्ट्र दोहन कसरी गर्ने भन्ने खेलमा सीमित भएको देखिन्छ । जनचाहना अनुरूप निर्माण भएको सरकारलाई ढालेर संविधानको मर्म विपरीत सत्ताको भागवण्डा गर्ने, जनताको हित र विकासका काम ठप्प पारिएको छ ।

शक्तिशाली देशहरूमा अहिले विकासवादी, जनप्रेमी, समाजवादीहरूको नेतृत्वले शासन गरिरहेको छ । उदाहरणका रूपमा चीनमा सी जीनपीङ जस्तो अरूको देशको सार्वभौमिकताको कदर गर्ने अहस्तक्षेपकारी  सहयोगी र समाजवादी राष्ट्रपति हुनु, भारतमा नरेन्द्र मोदी जस्तो धार्मिक मानवतावादीको नेतृत्वमा सरकार हुनु, रसियामा समाजवादी र जनप्रेमी पुटिनको नेतृत्व हुनु, अमेरिकामा जो वाइडेन जस्तो प्रजातान्त्रिक जनप्रेमी राष्ट्रपति हुनु, बेलायतमा अहस्तक्षेपकारी बोरिस जनसनको नेतृत्वमा सरकार रहनु नेपालका लागि अनुकूलता हो । 

त्यसरी नै अष्ट्रेलिया, क्यानडा, जर्मनी, फ्रान्स,  युरोपियन युनियनका देशहरू अनि न्युजिल्याण्ड, अरबका देशहरू पनि नेपालको विकासका बाधक छैनन् । यिनीहरू पनि आफ्ना अनुकूल साझेदार मित्र खोजी गरिरहेका देखिन्छन् । 

यस्तो अनुकूल परिवेशमा नेपालले आफूmभित्रको सम्भावनाको खोजी तथा पहिचान गरी  प्राकृतिक साधन स्रोत, मानव स्रोतको सदुपयोग र परिचालनद्वारा देशको विकासमा केन्द्रित हुनुपर्ने हो ।  तर, नेपालको सरकारको अहिलेको गतिविधि हेर्दा त्यस्तो भइरहेको देखिँदैन । अधिकारको चरम दुरुपयोग गरी अनावश्यक मन्त्रालय स्थापना गरी मन्त्री थप्ने काम भइरहेको छ । यसो गर्नु आफैमा राजस्वको दुरुपयोग र अर्को अर्थमा भ्रष्टाचार हो । राजनीतिक नेतृत्वमा जबसम्म आफ्नो देशको पहिचान उँचो बनाउने र जनतालाई सुविधा सम्पन्न अनि सुरक्षित राख्ने दृष्टिकोण हुँदैन र यसका लागि प्रतिबद्धता आउँदैन, तबसम्म देशले गति लिन सक्दैन ।

१० प्रतिशत जनता सुविधा सम्पन्न हुँदैमा देशको स्तरीय पहिचान बन्न सक्दैन । देश अविकसित  भएपछि ती १० प्रतिशतको पहिचान पनि सबै नेपालीको पहिचानभित्र पर्दछ । केही समयदेखि देशमा जनहित र देशको हितको विपरीत देशलाई गतिहीन बनाउने अभ्यासहरू भइरहेका छन् । 

यस्तै, विभिन्न स्वार्थ लिएर राजनीतिमा लागेकाहरूले विकासको गतिलाई रोक्ने प्रयास गरेको देखिन्छ । देशमा जनहितप्रति गम्भीर र देश विकासमा प्रतिबद्धहरूको शासन भएमा मात्र राष्ट्रिय साधन स्रोत तथा अन्तर्राष्ट्रिय अनुकूलताको लाभ लिई देशको सर्वाङ्गीण विकास गर्न सकिन्छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ४० बजे