एनपिएलका लागि टिकट मूल्य सार्वजनिक

भाषा विज्ञानमा नेपालको योगदान ! 

धेरैजसो सफल मानिसहरूले हण्डर ठक्कर खाएकै हुन्छन् । महर्षि पाणिनिले पनि ठुलै हण्डर बेहोरेको देखिन्छ । अर्को, बाल्यकाल पुलपुलिने समय पनि हो । पाणिनि पनि पुलपुलिएका थिए । पाणिनिले सुरुमा साक्षरता शिक्षा घरैमा शलातुरमा पढेका थिए भनिन्छ । धनी व्यापारीका छोरा हुनाले घरमा पुलपुल हुनु स्वाभाविक हो । पुलपुलिएका केटाकेटीले घरकालाई टेर्दैनन् । तसर्थ सामन र दाक्षीले उनलाई शलातुरदेखि नजिकै रहेको तक्षशिला –हालः तक्सेला पाकिस्तान) विश्वविद्यालयमा पढ्न पठाए । (सिन्धुंतक्षशिलादिभ्योकणञौ–पाणिनि: अष्टाध्यायी) त्यहाँ पनि पाणिनिले प्रगति गर्न सकेनन् । त्यसपछि उनलाई उनको मावली वेतसी पठाइयो ।  त्यहाँ केही समय बसेपछि मामा ‘व्याडि’ र उनी भएर पाटलिपुत्र (गंगा र सोननदीको संगमनेर थियो भनिन्छ, त्यो नगरलाई पछि बाढीले बगायो र त्यसको अलिक पूर्वतर्फ गंगा र कोशीको सङ्गममा केही पश्चिमतर्फ पटना नगरको विकास भयो) गए । पाटलिपुत्रमा विद्यापीठ थियो । त्यसका आचार्य ‘वर्ष’ थिए । पाणिनिका मामा व्याडि पढ्ने हुनाले उनलाई बस्न र पढ्न अनुकूल अवस्था थियो । अनुकूल अवस्था भएर पनि पाणिनिले पढाइमा अपेक्षित प्रगति गर्न सकेनन् । सहपाठीहरू बररुचि कात्यायन, मामा व्याडि, इन्द्रदत्त आदिभन्दा पछि परे । उनीहरूसँगको शास्त्रार्थमा हारेको विषय कथा सरीत्सागरमा, कथा पीठ लम्बकको चतुर्थ तरङ्गमा घटनावलीलाई प्रस्तुत गरिएको छ ।

बृहत् कथा मञ्जरीमा कथा पीठको उपकोशको कथामा ‘व्याडि र इन्द्रदत्त सहितको म सब शास्त्र जान्ने बनेर प्रसिद्ध हुँदा पाणिनि नामका वर्ष आचार्यका शिष्य पहिले त जडमतिका थिए, जितेन्द्रिय बनेर उनले तपस्याद्वारा शंकरबाट नयाँ व्याकरण प्राप्त गरे र आठ दिनका शास्त्रार्थमा म (कात्यायन) लाई परास्त गर्नेवाला पनि भए’ भनेका छन् । 

गुरु पत्नी वा माइजूको सल्लाहमा साथीहरूसँग शास्त्रार्थमा हार्नुपर्दा खिन्न भएका पाणिनि खुसी भएर तपस्या गर्न भनी हिमालयतिर जान उत्तराभिमुख भएर उनी ग्रामीण बस्ती, जङ्गल, खेत, चरन र नदी किनार हुँदै बाटो सोधपुछ गर्दै श्रावस्ती पुगे । कुशीनगर, वाल्मीकिनगर, पिप्पलीवन, पावा, कोलियग्राम, रामग्राम, कपिलवस्तु, श्रावस्ती आदि त्यो बेलाका प्रसिद्ध नगर–बस्तीहरू थिए । श्रावस्तीबाट उनी कपिलवस्तु, वाणगंगा, शृंगीघाट हुँदै पहाडको फेद समाते । पावरामा ग्वालाहरूका गोठ थिए । उनले गोरस मागेर खाइवरी बाटो सोधेर उकालो लागे । शिवालिक वा चुरे श्रेणी कटेर अलि बलियो चट्टान भएको महाभारत पर्वत शृङ्खला भेटियो । उनी त्यसको भन्ज्याङमा पुगे । ग्वालाहरूसँग सोद्धा हाल पणेना दह नाउँ भएको त्यति बेलाको गोपर्वत–सिद्धेश्वर त बडो सुन्दर थलो छ भन्ने थाहा पाए । उकालिएर त्यो सुन्दर थली सिद्धेश्वर दहमा पुगे । उनले चारैतिर हेरे । आफू आएको समथल तराईको फाँटमा बस्ती र जङ्गल कति सुन्दर ! उत्तरतिर हेरे, आहा कति सुन्दर हिमालय पर्वतमाला ! पाका ग्वालाहरूबाट मुक्ति क्षेत्र धवलागिरि, निलगिरी, मुकुट, सिस्ने, चुरेन आदि हिमस्थली  पत्ता लगाए । त्यहाँभन्दा उत्तर जान उनले कठिन देखे । फेरि यो सुन्दर स्थलले उनलाई लोभ्याइसकेको थियो । । यसैलाई उनले आफ्नो तपस्थली बनाउने निर्णय गरे । आफ्नो विचार त्यहाँ ग्वालाहरूलाई सुनाए । उनीहरूले भोलिपल्ट पाका किसानहरूलाई पनि डाकिदिए ।

‘यी साधु त घगडान होलान् जस्तो छ, यतै नै राखौँ’ भन्ने विचार स्थानीय पाका किसान र ग्वालाहरूमा आयो ।  त्यस अनुसार उनलाई कुटी बनाउन, अत्यावश्यक भाँडा र ओढ्ने ओछ्याउने बटुल्न,  गोठ बनाएर केही गाई पाल्न र एउटा गोठालो साथी राखिदिन समेत पहल गरे । गाउँबाट सागपात, अन्न, दाल, नुन, तेल, बेसार आदि ल्याइदिए ।  वरपर कन्दमूल पनि पाइन्थ्यो ।  यसरी पाणिनिलाई त्यहाँ बस्न कुनै खास समस्या भएन ।

तूदी (तूदी शलातुर वर्मवती कूच वाराड्ढक्छण् ढञ्यक — पाणिनि अष्टाध्यायीमा उनले जन्मभूमि शलातुर बताएका छन् ) र वरपरका गाउँलेहरू आउने र शास्त्रार्थमा भाग लिने, उपहार दिने गर्न थाले पछि भाषिक संवाद पनि सरल हुन सक्यो । उनी धेरै समय चिन्तन, ध्यान र तपस्यामा लिन हुन्थे । मध्यान्हपछि मात्र अरूलाई भेट दिन्थे । उनले लामो समय सिद्धेश्वर महादेवको ध्यान गर्दा महादेश स्वयं उपस्थित भएर वाङ्मयको व्याकरण अन्तःस्फुरण गराइदिएको अनुभव भयो ।

उनले सपनामा महादेव स्वयं उपस्थित भएर १४ पटक  डमरु बजाएको देखे । तदनुसार नै उनले १४ सूत्रीय नव्यव्याकरण तयार गरे । त्यसलाई उनले त्यहाँ केही किसान–गोठालाका छोरा जम्मा गरी साक्षर बनाई आफ्ना व्याकरणका सूत्रहरूको प्रयोग गरी जाँचेर हेरे । कालान्तरमा कुनै शास्त्रार्थ गरी जित्ने मनसायले पाटलिपुत्र फर्के । त्यहाँ साँच्चै उनले कात्यायनहरुलाई जितेरै छाडे जसको उदाहरण माथि नै प्रस्तुत छ । जीवनको उत्तरार्धमा उनी आफ्नो घर फर्के । पाणिनि फर्केपछि  सिद्धेश्वर  उनको स्मृतिमा पणेना दह भन्न थालियो । दहमुन्तिर उत्तरतर्फको गाउँ ‘पणेना’ प्रचलित भयो । त्यहाँ पाटलिपुत्रमा उनले कात्यायनहरूलाई जितेरै छाडेपछि त उनलाई शान्ति मिल्यो । उनी आफ्नो घर शलातुर फर्कीवरी तक्षशिलामा  पैतृक उत्तराधिकारबाट पाएको धन सम्पत्तिले विद्यालय खोलेर विद्यार्थीहरूलाई खाने—बस्ने व्यवस्थासहित पढाएर विद्वान बनाए भनिन्छ । 

पाणिनिका धातु पाठ, गणपाठ, उणादि शब्दकोश लिङ्गानुशासन, अष्टाध्यायी, शिक्षा, जाम्बवती विजय, द्विरूप कोश गरी आठ ग्रन्थ स्वरूपका कृतिहरू प्रकाशमा ल्याइएका छन् । यीमध्ये पहिलेका चार ग्रन्थहरू शब्द शिक्षाको पूर्तिका लागि लेखेका हुन् । त्यसकारण यी प्राचीन चार ग्रन्थहरूलाई परिशिष्ट भन्ने शब्दले व्यवहार गरिन्छ । अष्टाध्यायीमा आठ अध्याय छन् त्यसैले अष्टाध्यायी भनिएको हो । हरेक अध्यायमा चार चार पाउ छन् । अष्टाध्यायीमा ३९९५ सूत्रहरू रहेका छन् । ती सूत्रहरूले वैदिक र लौकिक दुवै प्रकारका शब्दहरू सिद्ध गर्दछन् । शब्दहरूको सही उच्चारण जान्नका लागि सू्त्रस्वरूप शिक्षा बनाइएको थियो जसका कतिपय सूत्रहरू व्याकरणका विभिन्न ग्रन्थहरूमा पाइन्छन् । सम्पूर्ण शिक्षा भने अहिले भेटिँदैन । फेला परेको श्लोकात्मक पाणिनीय शिक्षाको मूल ‘पाणिनि शिक्षा’ त सूत्रमा नै थियो । शिक्षा (प्रकाश– टीका ) त  पिङ्गलले तयार गरेका हुन् ।

जाम्बवती विजय महाकाव्यको नाउँ पाताल विजय पनि हो । यसमा पातालमा झरेका कृष्णका साथ विजयपूर्वक गरिएको जाम्बवती विवाहको वर्णन रहेको छ । अहिले यो महाकाव्य पनि भेटिँदैन तर अलङ्कार सर्वस्व, कुवलयलानन्द, दशरूपक, ध्वन्यालोक, गणरत्न महोदधि, शाङ्र्गधर पद्धति, काव्यालङ्कार आदि पुस्तकहरूमा उदाहरण दिइएका यसका श्लोकहरू मात्र भेटिन्छन् ।

शरण देवले दुर्घटवृत्तिमा जाम्बवती विजयको अट्ठारौँ सर्गको निम्नलिखित पद्यांश उद्धृत गरेका छन् ः ‘अघि तिम्रासाथ मेरो जुन मित्रता थियो त्यो फेरि धेरै कालपछि मेरो मनमा ताजा गरायौँ ।’ –नेपाली सार) यसबाट सो महाकाव्यमा अट्ठारभन्दा धेरै सर्ग रहेछन् भन्ने अनुमान गर्न सकिन्छ । कुनै लेखकले भने जाम्बवती विजय र पाताल विजय अलग अलग हुन् पनि भनेका छन् (सिताराम–जयराम जोशी र विश्वनाथ शास्त्री भारद्वाज, संस्कृत साहित्यको संक्षिप्त इतिहास)।

द्विरूपकोश हस्तलिखित पुस्तकको रूपमा संयुक्त अधिराज्यको लन्डनस्थित भारतीय कार्यालयको पुस्तकालयमा ७८९० सङ्ख्यामा सुरक्षित छ । यस पुस्तकको अन्तमा ‘इति पाणिनिमुनिना कृत द्विरूप कोश: सम्पूर्ण:’ लेखिएको छ ।

व्याकरण बनाउने पाणिनिको प्राण  सिंहले ह¥यो, मीमांसा निर्माता जैमिनि मुनिलाई अकस्मात् हात्तीले किचेर मा¥यो, छन्द शास्त्रका प्रणेता पिङ्गललाई समुद्रका किनारमा मगरगोहीले मार्यो । अज्ञानताले चित्त मोडिएका अति क्रोधी पशुहरूलाई के अर्थ छ र ? ( विष्णु शर्माःपञ्चतन्त्र) ।

पाणिनिको पूर्ण जीवनी र अन्त्यको अवस्थाको विस्तृत वर्णन त कतै पाइँदैन, तथापि पञ्चतन्त्रमा विष्णु शर्माले राख्नुभएको उपर्युक्त पद्यांश सारले पाणिनिका भाइ आचार्य पिंगल र जमिनिमुनिको साथै महर्षि एवं वैयाकरण पाणिनिको पशुहरूको आक्रमणबाट देहान्त भएको देखाइएको छ । अन्य आधार नपाउँदासम्म यसैलाई सत्य मान्दा पाणिनिको प्राणवियोग सिंहको आक्रमणबाट भएको मान्नुपर्छ । प्रा.डा. विष्णुराज आत्रेयले आक्रमण पणेनातिरै भएको अनुमान गर्नु भको छ । पाणिनि परम्पराअनुसार त्रयोदशी तिथि बारिने भएकोले उनको देहान्त त्रयोदशी तिथिमा भएको बुझिन्छ ।

पाणिनिको तसस्थली पुग्नको लागि तानसेनबाट करिब ३१ किलोमिटर पश्चिम गाडीमा गएर आधा घण्टा जतिको पैदल उकालो हिँडेर पुग्न सकिन्छ । सालझण्डी–ढोरपाटन सडकको देउराली भन्ज्याङबाट केही समय गाडीमा पूर्वोत्तर गई उसरी नै आधा घण्टा पैदल उकालो हिँडेर पुग्न सकिन्छ । सन्धिखर्कदेखि गाडीमा यहाँ भएर तानसेन जान सकिन्छ । सुपादेउरालीदेखि सिधा बाटो महभारतको दक्षिणी काख हुँदै यहाँ पुर्‍याउने योजना छ । तमघासबाट सालझन्डी झर्ने बाटोको नजिकै पर्छ यो तपस्थली । लुम्बिनीदेखि यो ठाउँ दर्शन गरीकन ढोरपाटन जान सकिन्छ ।

यहाँ साहित्यिक, सांस्कृतिक यात्रा पनि हुने गर्दछन् । तरङ्ग साहित्य समाज मदन पोखरा पाल्पाले त्यस्तो यात्रा गरी तपो भूमिमा एक बिहानभरि साहित्य सिर्जना गोष्ठी सम्पन्न गरेको थियो । कर्णाली प्रदेशका संस्कृति मन्त्री र प्रदेश सभा सदस्यसहितको सांस्कृतिक अध्ययन टोलीले पनि अवलोकन भ्रमण गरेको छ । विगतमा सरकारी दृष्टि कम पुगे पनि अहिले यो देशभरका १०१ पर्यटन स्थलमा परेको छ र सम्भारको विशेष योजना बन्दैछ । संसारलाई भाषा व्याकरण दिएको यस ठाउँप्रति गर्व गर्दै यसको गौरव बढाऔँ ।​​​​​​​

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १० : २७ बजे