बार्सिलोना । पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको थियो । निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा अधिकारीहरूले यात्रु रेल सेवा स्थगित गर्नुपर्यो ।
स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीहरूको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाका ८० लाख जनसङ्ख्या भएको क्षेत्रमा सबै यात्रु रेलहरू स्थगित गरेको बताउनुभयो ।
बार्सिलोनाका मोबाइल फोनहरूमा शहरको दक्षिणी सीमामा ‘अत्यधिक र निरन्तर वर्षा’ को चेतावनी बजेको थियो । चेतावनीमा मानिसहरूलाई सामान्यतया सुक्खा खोँच वा नहरहरूबाट टाढा रहन आग्रह गरिएको थियो ।
पुएन्टेले वर्षाका कारण हवाई यातायात नियन्त्रकहरूले बार्सिलोनाको विमानस्थलमा सञ्चालन भइरहेका १५ उडानको मार्ग परिवर्तन गर्नुपरेको जानकारी दिनुभयो । विमानस्थल शहरको दक्षिणी भागमा अवस्थित छ । बाढीका कारण धेरै राजमार्गहरू बन्द गरिएका छन् ।
बार्सिलोना र भ्यालेन्सियाको बीचमा पर्ने दक्षिणी क्याटालोनियाको टारागोना शहरमा वर्षाको रातो चेतावनी जारी गरिएपछि कक्षाहरू रद्द गरिएका छन् ।
यसैबीच भ्यालेन्सियामा घरभित्र र हजारौँ क्षतिग्रस्त कारभित्र शवहरूको खोजी जारी छ । गत हप्ताको बाढी बस्ती भएका क्षेत्रहरूमा पुग्दा कारहरू सडक, राजमार्ग र नहरहरूमा छरिएका छन् ।
नागरिक, स्वयंसेवक र हजारौँ सैनिक तथा प्रहरी अधिकारीले हिलो र भग्नावशेष सफा गर्ने विशाल अभियानमा सहयोग गरिरहेका छन् ।
प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार ८ : २२ बजे
प्रतिक्रिया