एनपिएलका लागि टिकट मूल्य सार्वजनिक

डा.मणिकुमार क्षेत्रीको गिरफ्तारी, नेपाली समुदायका लागि पीडा र शिक्षा  

कोलकाता, भारत । उमेरमा मभन्दा अलि पाकै थिए ती साथी । उनी सत्तरीको दशकको अन्तिमतिर मध्य कोलकाताको एउटा प्राइभेट कम्पनीको सुरक्षा गार्डमा अस्थायी रूपमा तैनाथ थिए । काम गरेको ठाउँमा इमान्दारी र विश्वास आर्जन गर्नु नेपालीहरूको जन्मगत परम्परा पनि हो । त्यसैले उनलाई स्थायी गर्ने सोचकासाथ कम्पनीले नियमित मेडिकल जाँच गर्न पत्र दिएर सधैँ परीक्षण गर्ने गरेको दक्षिण कोलकाताको एउटा प्राइभेट हस्पिटलमा पठाउने काम ग¥यो, उनी पत्र लिएर त्यहाँ पुगे । जाँचका सबै प्रक्रियाहरू पूरा गरेर ‘रिपोर्ट भोलि अफिसमा जान्छ’ भनेर त्यस मेडिकलका इन्चार्जले भने । उनी आफ्नो डिउटीमा फर्के । भोलि रिपोर्ट आउँछ, कम्पनीले स्थायी गर्छ भन्ने आनन्दमा त्यो रात व्यतित गरेर बसे । दोस्रो दिन दिउँसो रिपोर्ट कम्पनीको जेनरल म्यानेजरको अफिसमा आयो । उनले रिपोर्ट पढेर तुरुन्तै ती व्यक्तिलाई बोलाए ‘तिमीलाई टिबी रोग लागेको रहेछ, अब यहाँ काम गर्न मिल्दैन, स्टाफ रुममा रहेका तिम्रा भाँडा–बर्तन, लत्ता–कपडा लिएर निस्किहाल’ भनेर आदेश गरे । उनको एक्स—रेमा पनि छातीभित्र कालो दाग स्पष्टै देखिन्थ्यो । बिचरालाई ‘चौटा खान गएको सम्धी, झोलमा डुबेर म¥यो’ भन्ने उखानजस्तो भयो । उनी रुँदैरुँदै अफिसबाट निस्के । अब अरू साथीहरूकोमा बस्न देऊ भन्नेभन्दा पनि आफ्नै घर नेपाल जाने निर्णय गरे र हावड़ा स्टेशनबाट मिथिला एक्सप्रेसको टिकट काटेर त्यसै दिन रेलद्वारा स्वदेश फर्के ।  

घरमा आफ्ना सरसामान राखेर दोस्रो दिन उनी काठमाडाँैको टेकुमा रहेको सरकारी टिबी हस्पिटलमा उपचारको लागि पुगे । त्यहाँ उनलाई सबै कुराको राम्रोसँग जाँच गरियो । त्यसको सम्पूर्ण रिपोर्ट हेरेर मेडिकल इन्चार्ज (डाक्टर)ले भने “तिमीलाई टिबी छैन, छातीमा सामान्य कफ जमेको रहेछ, यो औषधि खाँदा ठीक हुन्छ’ भन्ने सल्लाह दिए । 

अब परेन त फसाद ! यता छँदाखाँदाको नोकरी गइसक्यो, कोलकाता छोडेर आफ्नै गाउँ पुगेका छन्, त्यताको डाक्टरले फेरि यस्तो रिपोर्ट दिए । अनि, उनले यहाँको सारा घटना र विवरण ती डाक्टरलाई सुनाए, आफू अन्यायको शिकार भएको कुरा बताए र अब के गर्न सकिन्छ ? भन्ने सुझाव मागे । ती डाक्टरले भने ‘नेपालभित्रको मामिला भए मैले सोझै पत्र लेखिदिने थिएँ, यो भारतको कुरा भयो । तर यो मेरो सम्पूर्ण रिपोर्ट लिएर तिमी कोलकाताको पिजी हस्पिटलमा जाऊ, त्यो पश्चिम बङ्गाल सरकारको ठूलो हस्पिटल हो, त्यहाँ पश्चिम बङ्गाल सरकार हेल्थ डिपार्टका डाइरेक्टर डा.मणिकुमार क्षेत्री छन्, यो सबै विवरण उनीसमक्ष राख, मलाई उनले चिन्दछन् । आशा छ, तिम्रो समस्याको समाधान हुन्छ’ भन्ने सुझाव दिएछन् । 

ती साथीले एउटा आशाको किरण देखे । उनी फेरि कोलकाता फर्केर आए । उनै डाक्टरले दिएको सुझाव अनुसार सरासर पिजी हस्पिटल पुगेर डा क्षेत्रीलाई भेटे । माथि उल्लिखित सबै विवरण पेस गरेपछि डा.क्षेत्रीले आफ्नै तरिकाले सम्पूर्ण जाँच गराए । रिपोर्ट हेर्दा काठमाडौँमा जाँच गराएजस्तै यहाँ पनि डाक्टरले ती पीडितको टिबी रोग देखेनन् । त्यसपछि उनले आफ्नो लेटर प्याडमा पत्र लेखे र पत्र उनलाई दिँदै भने ‘यो पत्र लिएर आफूले काम गरेको अफिस जाऊ । त्यो तिम्रो मेडिकल जाँच गर्ने हस्पिटलको डाक्टरलाई देखाएर गर्दै गरेको नोकरी मलाई अहिल्यै चाहियो भनेर माग राख, यदि यताउति कुरा गरे भने मलाई आएर भन्नू, त्यसको कारबाही म गरौँला ।’ उनी सरासर त्यो पत्र लिएर आफूले काम गरेको कम्पनीमा गए र पत्र जिएमलाई देखाए । पत्र देखेर अचम्मित हुँदै यो गलत गरेको रहेछ, जसले तिमीलाई टिबी रोग छ भनेर लेखेको थियो ती डाक्टरलाई लगेर देखाऊ’ भन्दै उसैकोमा पठाए ।  

उनी डा मणिकुमार क्षेत्रीको पत्र लिएर त्यसै डाक्टरकोमा पुगे, जसले उनलाई टिबी रोग छ भनेर लेखेको थियो । पत्र देखेर उनी पनि हताश भए उनैको कारणले त्यो गरिब बेसहाराको नोकरी गएको थियो र उसले धेरै हण्डर अविगत भोग्नु परेको थियो । आफ्नो हस्पिटलमा जाँचको समय भएको त्रुटिलाई महसुस गर्दै उनले बुझे, यदि उसको नोकरीको व्यवस्था न मिलाइदिने हो भने उनको आफ्नो हस्पिटल सुरक्षित नरहन सक्छ । किनभने उसले त्यो पत्र लिएर आएको छ, जो पश्चिम बङ्गाल हेल्थ डिपार्टमेन्टको डाइरेक्टर स्वयंले लेखेर पठाएका छन् ।  

अब जुन ठाउँमा उसले नोकरी पाउनु पर्ने थियो त्यो कम्पनीले त्यहाँ मान्छे भर्ना गरिसकेको थियो । उनले बाध्य भएर आफ्नै हस्पिटलमा काम गर्न सुझाए, तर ती साथी पनि के कम “मैले यहाँ नै काम गर्नु पर्छ भने मैले गरिरहेको नोकरीमा जो तलब पाउँथे, त्यसको दुई गुणा दिनुपर्छ, किन भने स्थायी भएपछि मैले त्यहाँ दुई गुणा नै पाउँथे” भनेर कस्सिए । अरू विकल्प नदेखेपछि ती डाक्टरले उसलाई माग अनुसार नै तलब दिएर राखे । त्यसै संस्थामा उनले जीवनभर नोकरी गरे ।  

मेरो मस्तिष्कमा कहिलेकाहीँ खड्किने गर्दछ यदि त्यस समय डा.मणिकुमार क्षेत्री पश्चिम बङ्गाल हेल्थ डिपार्टमेन्टको डाइरेक्टर नभएका भए त्यो मेरो प्रवासी साथीले नोकरी पाउँथ्यो होला ? अथवा उसको जिन्दगी कुन अवस्थामा बित्ने थियो होला ? 
भारतमा रहेका नेपाली समुदायको लागि कुनै आफ्नो समुदायबाट माथि कोही उठ्दछ भने राम्रो गर्व गर्ने विषय बन्दछ । जस्तै कोलकाता उच्च अदालतका न्यायाधीश रामकृष्ण शर्मा, पश्चिम बङ्गाल हेल्थ डेपार्टमेन्टका तत्कालीन डाइरेक्टर डा मणिकुमार क्षेत्री, प्रसिद्ध फुटबलर श्याम थापा आदिले गर्दा यहाँका नेपालीभाषी समुदायमा राम्रो प्रभाव परिरहेको देखिन्छ । त्यस्तै उत्साही मध्यको म पनि एक हो । 

न चिन्नु, न जान्नु; तर कोलकातामा डा. क्षेत्रीको योगदान र व्यक्तित्वको म सधैँ स्मरण गरिरहन्थेँ । उनका विद्यार्थीहरू उनलाई भगवानतुल्य मान्दथे । उनी सेवा निवृत्त भइसकेपछि पनि आफ्नो पेसा चलाइरहेका छन् । एएमआरआई हस्पिटलले उन्नलाई ठूलो दायित्व सुम्पेर राखेको थियो । यसैबीच डिसेम्बर २०११ को  दिन बिहानको उज्यालो नहुँदै दक्षिण कोलकाताको ढाकुरियामा रहेको एएमआरआई हस्पिटलमा आगलागीको ठूलो घटना घट्यो, त्यहाँ लागेको आगोले ९२ जना बिरामीहरूको ज्यान गयो र कैयौँ घाइते भए । हस्पिटलको सुरक्षामा लापर्बाही गरेको भन्दै प्रशासनले बोर्डका सम्पूर्ण सदस्यलाई हिरासतमा लियो । त्यसमा प्रोफेसर डा.मणिकुमार क्षेत्रीलगायत नाममा उजुरी (एफआइआर) प¥यो । यसमा सबैभन्दा पाको उमेरका ९२ वर्षीय डा क्षेत्री थिए । यो अवस्थामा त्यति ठूलो कीर्ति आर्जन गरेको व्यक्तिले पक्राउ परेर हिरासतमा बस्नु भनेको कस्तो कठिनाइको स्थिति थियो होला सबैले सहजै अनुमान गर्ने कुरा भयो । 

यो कुरा सुनेर म साह्रै दुःखित भएँ, के गर्ने होला भनेर सोच्न थालेँ । हाम्रो समुदायको तर्फबाट उनलाई यो अवस्थामा नराखियोस् र सरल प्रक्रियाबाट कारबाही चलाइयोस् भन्ने माग लिएर प्रशासनमा जानु प¥योभन्दै एकजना हितैषी थिए कोलकाता उच्च न्यायालयका अधिवक्ता, उनीसँग सल्लाह लिन पुगेँ । मेरा सबै कुरा सुनेर उनले आफ्ना कुरा मसँग राखे । “सहानुभूति राख्नु स्वाभाविक हो, तर तिमी हाम्रो समुदायको तर्फबाट माग लिएर जाँदैछौ भने यो कुराको पनि ख्याल राख्नु पर्दछ, उनले हाम्रो समाज र समुदायको उत्थानका लागि के गरेका छन् र हाम्रो समाजले उनको तर्फबाट के पाएको छ ? अनि मात्र तिमीले त्यस्तो मागको साथ प्रस्ताव लिएर जान मिल्छ” भन्ने सवाल राखे । यहाँबाट म अगाडि बढ्नुभन्दा पनि पछाडि फर्कन बाध्य हुनु पर्ने स्थिति बन्यो । 

यो कुरा सुनिसकेपछि मेरो मस्तिष्क १८० डिग्री घुमेर सोच्न बाध्य गरायो । म अब सोच्न थालेँ, उनी मात्र किन ? यस्ता मान—सम्मान र सम्पन्न आर्थिक अवस्था भएका राणाहरूलगायतका मानिसहरू नेपाली समुदायका व्यक्तिहरू कोलकातामा धेरै थिए, तर तिनीहरूले केही पनि गरेका रहेनछन् । राणाहरू यहाँका रैथाने बनेर बसे, उनीहरूले आफ्नो व्यापार कारोबार त राम्रैसँग चलाए, तर समुदायको निम्ति केही गर्नुपर्छ भन्ने बुद्धि पलाएन । हाम्रा अग्रजहरूलाई पनि त्यता ध्यान गएन, डा. क्षेत्रीजस्ता व्यक्तिहरूको त्यता ध्यान गएन या साथ सङ्गत पाएनन् । आफ्नो समुदायका लागि केही गर्ने चिन्तन पलाएको भए भाषिक समुदायको लागि धेरै कुरा गर्न सक्ने क्षमता भएका व्यक्ति थिए डा मणिकुमार क्षेत्री । यहाँ मारवाडीहरू लगायत अन्य समुदायका अनेकौँ प्रतिष्ठित संस्थाहरू  भवानीपुर एडुकेशन कलेज, गोइन्का कलेज, माठवारी रेलिफ सोसाइटी, बिरलाहरूका स्कुल कलेज, बिरला हार्ट रिसर्च सेन्टर, र अन्य हस्पिटल, हिन्दी भाषीहरूका स्कुल—कलेज, मुस्लिमहरूका शिक्षण संस्था र हस्पिटलहरू, पंजाबीहरूका गुरुद्वारा, हस्पिटल, कलेज र खाल्सा स्कुल आदि । त्यस्तै महाराष्ट्रियनहरूका आफ्नै सामुदायिक स्थल, महाराष्ट्र निवास, महाराष्ट्र भवन, जैनहरूका आफ्नै मठमन्दिर छन्  । अन्य विभिन्न समुदायले त्यस्तै प्रकारका प्रतिष्ठानहरू निर्माण गरेका रहेछन् तर हाम्रा नेपालीभाषी समुदायले भने कुनै प्रकारको सोच नै नराखेको देखियो । अब नेपाली समुदायले पनि यसरी सोच्ने, मनन गर्ने र व्यवहारमा नै उतार्ने बेला आएको छ । यसको सुरुआत नेकपाको स्थापना भएको घरबाट गर्न सके राम्रो हुने छ । 

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : ४५ बजे