मन्त्रिपरिषद् बैठक बस्दै

सम्पादकीय

तिहार र छठको एकमुष्ट शुभकामना !

नेपाली संस्कृतिमा तिहारको छुट्टै मौलिक विशेषता छ । नेपालीहरूको दोस्रो ठुलो चाडकाे रुपमा मनाइने तिहार (यमपञ्चक)मा काग, कुकुर, गोरु, गाई र भाइ पूजा गर्ने गरिन्छ भने सँगै लक्ष्मीपूजा, दीपावली र म्हँ (आफ्नै) पूजा पनि गरिन्छ । यद्यपि, कतै दीपावलीलाई महत्त्व दिइएको छ भने कतै भाइटिका र म्हँ पूजालाई । जेसुकै भएतापनि विभिन्न पशुपन्छीको पूजा गर्नुले के सङ्केत गर्दछ भने दसैँभन्दा पनि तिहारको बढी स्थानीयकरण भएको छ र तिहार लगायतका पर्वहरू प्रकृति पूजकहरूकै थलो भएको पुष्टि गर्दछ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ।

तिहार पर्व महान् सांस्कृतिक पर्व त हुँदै हो तर यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्त्व देखिएता पनि बढी वैज्ञानिक महत्त्व देखा पर्दछन्। जस्तो चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन्। बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउने काम त यसै पनि गर्दै आएका छन् अप्रत्यक्षरूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बुजिन्छ । त्यस्तै कुकुरको स्वामीभक्ति त यसै पनि संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदार हुनु कुकुरपूजाको प्रसङ्गले बुजिन्छ । त्यस्तै गाईबाट दूधदेखि मलमूत्र र हलो तान्ने वहर दिएर हाम्रो जीवन बचाउने वहरले हलो तानेर र पहाडपर्वतले अक्सिजन दिएर सम्पुर्ण प्रा‍णीको प्राण बचाउने गरेको बुजिन्छ । त्यसैले यतिबेला गरिने गाई, गोरु र गोवर्द्धन पर्वतको पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्छ भन्ने हुन्छ ।

लक्ष्मी पूजाको अर्थ धन सम्पत्ति प्राप्तिको कामना हो । धन कमाउनका लागि शरीर स्वस्थ र निरोगी हुनुपर्छ भने शरीर स्वस्थ र निरोगी रहन सदैव प्रसन्न चित्त रहन सक्नुपर्छ । दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्दा यसको अर्थ मान्छेले मान्छेको सम्मान गर्न सक्नु र जान्नुपर्छ भन्ने सन्देश दिनु हो । संसार बिग्रेको मान्छेले मान्छेप्रति गर्ने व्यवहार सन्तुलित हुन नसकेर नै हो । जहाँ मान्छेबाट मान्छेको सम्मान हुन सकेको हुन्छ त्यहाँ अहिलेको संसारमा विद्यमान आधाभन्दा बढी समस्या आफैँ समाधान हुन्छ । त्यसोत पछिल्ला दिनमा तिहार क्रमशः सहरीकरणसँगै गाई र गोरुको पूजा गर्न चलन घट्दै गएको छ भने लक्ष्मीपूजा र दीपावलीको तडकभडक बढ्दै गएको देखिन्छ, जुन कार्यलाई न्यूनीकरण गर्न जरुरी छ । 

सांस्कृतिक तथा धार्मिक विविधताका साथै पारस्परिक सद्भाव बलियो भएको नेपाली समाजमा बाह्रै महिना कुनै न कुनै चाड परिरहेकै हुन्छ । र जतिसुकै पीडा भएतापनि नेपालीहरू उक्त पीडा बिर्सेर रमाइरहेका हुन्छन् । पछिल्ला दशकहरूमा मधेसमा दसैँ, तिहार र पहाडमा छठ मनाउने चलन बढ्दै गएको छ । बढ्दो सांस्कृतिक अतिक्रमण भइरहेको यो अवस्थामा यस्ता पर्वले हर्षोउल्लासकासाथ मनाउँदा अवश्य पनि नेपाली राष्ट्रियता बलियो बनाउन मद्दत पु¥याउने कुरामा कुनै शंका छैन । यसकासाथै नेपाली समाजले शासन पद्धतिमा प्रगतिशील लोकतान्त्रिक पद्धति अपनाएजस्तै सांस्कृतिक उदारता र विविधतालाई पनि व्यापकरूपमा आत्मसात् गरिरहेको छ, यो अति राम्रो पक्ष हो । 

तसर्थ यस दोस्रो ठुलो पर्वलाई स्नेह, सद्भाव र उल्लासको परम्परालाई कायम राखौँ र सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्ने कार्यमा सिंगो नेपाली समाज शान्ति, समृद्धि र उन्नतिका मार्गमा निरन्तर अगाडि बढ्न सक्षम होस् भन्ने कामना गर्दै तिहार,नेपाल सम्वत् र छठका अवसरमा हाम्रा पाठक, शुभेच्छुक, लेखक, विज्ञापनदाता लगायत स्वदेश तथा विदेशमा बस्ने आमनेपाली दाजुभाइ,दिदीबहिनीहरूमा www.chakrapath.com परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।    

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ४ : २५ बजे