इटहरी । इटहरी उपमहानगर पालिका वडा. नं ५ स्थित पचरुखी चोकमा सातबटा साहित्यिक सांस्कृतिक संघ संस्थाहरुको आयोजनामा ११६ औँ लक्ष्मी जयन्ती सम्पन्न गरेको छ ।
जनजागरण पुस्तकालय,प्रगतिशील लेखक सङ्घ,सुनसरी,अच्छा राई रसिक प्रतिष्ठान,सेवा निवृत्त कर्मचारी संगठन,इटहरी साहित्यिक समूह,अखिल नेपाल लेखक सङ्घ निरन्तर अभियान, लगायत संस्थाका सामुहिक सहभागितामा विचार गोष्ठी र कवि गोष्ठी सहित कार्यक्रम सम्पन्न गरेको थियो ।
देवकोटाको अर्धकदको प्रतिमामा माल्यार्पण गरी कार्यक्रम सुरु गरिएको थियो उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् प्रा.डा. बद्रीविशाल पोखरेलले हरेक स्रष्टा लक्ष्मी प्रसाद देवकोटा झैँ देशभक्र हुन्छन् र हुनुपर्छ तर त्यसभित्र सिर्जना र सौन्दर्यशास्त्रीय चिन्तनका अनेक वाद, विचार र बान्की हुनु स्वाभाविक रहेको बताउनु भयो । डा. पोखरेलले पूर्ववक्ताका अभिव्यक्तिको समीक्षात्मक विचार राख्दै उक्त कुरा भन्नु भएको हो । यसरी हेर्दा देवकोटा देशभक्त प्रगतिशील तथा लोकतान्त्रिक सिर्जनाका सगरमाथा रहेको डा. पोखरेलले बताउनु भयो । रुस गइस् कम्युनिस्ट भइस् भनी अनावश्यक रुपमा लान्छित गरेर नेपाल एकेडेमीबाट पाउनु पर्ने पारिश्रमिक नपाउँदा राजाकै पालामा देवकोटा भोकभोकै रहनु पर्ने पनि डा. पोखरेलले उल्लेख गर्नु भयो । सबै वाद विचार र चिन्तनका सर्जक र संस्था मिलेर यसरी भव्य कार्यक्रम सम्पन्न गरेकामा प्रमुख अतिथि डा. पोखरेलले आयोजकको सह्राहना पनि गर्नु भयो ।
वरिष्ठ शिक्षक भैरव सापकोटाका अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. दिवाकर रेग्मी,वरिष्ठ बुद्धिजीवी लेखनाथ घिमिरे,वरिष्ठ कवि कृष्ण विनोद लंसाल, वडाध्यक्ष भीष्म घिमिरे, प्रसिद्ध कवि निरज कोइराला, लगायतले मन्तव्य व्यक्त गर्नु भयो ।
कविता वाचन वरिष्ठ कवि टीका आत्रेय, प्रलेस सुनसरी उपाध्यक्ष विमला पोखरेल युवराज गौतम, पुण्य चौलागाई,कृष्ण गौतम,सशक्त युवा कवि आलोक खनाल लगायतले कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी हास्यकलाकार कृष्ण नेपालले पत्रकारका प्रश्नको उत्तर दिँदै डा. पोखरेलकै प्रेरणामा अनुसार पचरुखीमा देवकोटा जयन्ती मनाउन थालिएको बताउनु भयो भने प्रलेस,अध्यक्ष टीका मिलनले प्रसिद्ध मूर्तिकार अभिशेख तिम्सिना,इटहरीले देवकोटाको प्रतिमा हाम्रै आर्थिक सहयोगमा तयार गरी यहाँ स्थापना गरेको उल्लेख गर्नु भयो । त्यसैगरी स्थानीय ज्येष्ठ नागरिक कर्ण बहादुर कार्कीले स्रष्टाहरु भेला देवकोटाको व्यक्तित्व बारे प्रवचन गरेर र मीठा रसिला कविता सुनाएकामा धेरै खुसी प्रकट गर्नु भयो ।
प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार २ : ३८ बजे
प्रतिक्रिया