आजबाट कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै, क-कसले पाउँछन् ?

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागिएको हाे । 

मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ । बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्ने छ । थप एउटा अतिरिक्त मात्रा खोप बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने उनकाे भनाई छ । 

क-कसले पाउँछन् अतिरिक्त खाेप ?

-मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति

-सक्रिय क्यान्सरका रोगी

-अंग प्रत्यारोपण गरेका बिरामी

-एचआईभी संक्रमण भएका बिरामी

-रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी

-भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिक

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : ५५ बजे