बञ्चरेडाँडामा बढ्यो फोहर

देशका अधिकांश भागमा मौसम सफा रहने

नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर !

काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बंगलादेश खेल्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुने छ ।

नेपालले साफ च्याम्पियनसिपमा छैटौँ पटक फाइनल खेल्दै छ । गत साफमा काठमाडौँमै नेपाल फाइनलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । नेपालसँग सो फाइनलको हारको बदला लिने यस पटक सुनौलो अवसर जुरेको छ ।

सन् २०१० मा पहिलो साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो । बंगलादेशमा आयोजना गरियो यो प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । सो खेलमा भारतकी सस्मिता मालिकले खेलको ६५औँ मिनेटमा गरेको गोलनै निर्णायक गोल बनेको थियो ।

त्यसपछि २०१२ मा श्रीलंकामा आयोजना गरिएको दोस्रो साफमा पनि नेपालले फाइनलमा भारतकै सामना गरेको थियो ।  सो खेलमा नेपाल ३-१ गोलले पराजित भयो । यस फाइनलमा खेलको तेस्रो मिनेटमा नै दिपा अधिकारीले गोल गर्दै अग्रता दिलाएपनि नेपालले अग्रता जोगाउन सकेन । त्यसपछि भारतका लागि सुप्रिया रोउत्राय, बमबम देवी र कमला देवीले एक एक गोल गरेर उपाधि जिते । भारत दोस्रो पटक च्याम्पियन बन्दा नेपाल दोस्रो पटक उपविजेता बन्यो ।

त्यस्तै २०१४ मा पाकिस्तान भएको साफको फाइनलमा पनि फेरी एक पटक भारत र नेपाल आमने सामने भए । यस फाइनलमा भारतले नेपाललाई ६-० ले हरायो । भारतकी बाला देवीले ४ गोल गरेकी थिइन् भने कमला देवी र परमेश्वरी देवीले एक गोल गरेकी थिइन् । यसरी भारत लगातार तेस्रो पटक च्याम्पियन बन्यो भने नेपाल लगातार तेस्रो पटक उपविजेता बन्यो ।

त्यसपछि २०१६ मा भारतमा आयोजना भएको साफमा भने नेपाल सेमिफाइनलमा भारतसँग नै पराजित भयो । फाइनलमा भारत र बंगलादेश पुगेका थिए । फाइनलमा भारतले बंगलादेशलाई ३-१ ले पराजित गरेर  लगातार चौथो पटक उपाधि जितेको थियो ।

त्यसपछि २०१९ मा नेपालमै आयोजना गरिएको साफमा नेपाल फेरी एक पटक भारतसँगै फाइनलमा पुग्यो । फाइनल खेलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भयो । यस खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । यससँगै भारत लगातार पाँचौँ पटक साफको च्याम्पियन बनेको थियो भने नेपाल चौथो पटक उपविजेता बनेको थियो ।

त्यसपछि २०२२ मा पनि नेपालमा आयोजना गरिएको साफमा फाइनलमा बंगलादेश र नेपाल पुगेका थिए । पहिलो पटक नेपालले भारतलाई सेमिफाइनलमा रोक्दै फाइनलमा पुगेको थियो । तर फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भयो र फेरी उपविजेतामै चित्त बुझायो ।

अब यस पटक पनि २०२२ कै अवस्था दोहोरिएको छ । आज हुने फाइनलमा नेपालका अगाडी २०२२ को फाइनल हारको बदला लिने अवसर त छदै छ, अर्को तर्फ अहिलेसम्म ५ फाइनलमा हारेको पिडा मेटाउने सुनौलो अवसर पनि छ ।


प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १ : ३७ बजे