कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने बताउनुभयो । 

 

माओवादी केन्द्रको आठौँ महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्नुहुँदै ओलीले  कम्युनिष्टलाई कमजोर बनाएर  र आफ्नै पार्टीको सरकार ढालेर विपक्षीहरूसँग मिल्दै हिँड्नेले समाजवाद नल्याउने बताउनुभयो । ‘सबै ठाउँमा कम्युनिष्टलाई कमजोर बनाउने अनि समाजवादको नेपाली बाटो रे ! यही हो नयाँ बाटो रु ओलीको प्रश्न थियो । 

प्रचण्डको पहलमा साबिक नेकपाको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाउन माधव नेपालकोसमेत हात रहेको ओलीले  बताउनुभयो । आफू नेतृत्वको तत्कालीन सरकारलाई ६४ प्रतिशत वामपन्थीहरूको समर्थन रहेको स्मरण गराउँदै ओलीले भन्नुभयो, ‘नेकपाको सरकारलाई वामपन्थीहरूको ६४ प्रतिशत समर्थन थियो । त्यही सरकार ढाल्ने, पार्टी फुटाउने, कम्युनिष्टलाई कमजोर बनाउने अनि त्यसपछि समाजवादको कुरा गर्ने ? यही हो नयाँ समाजवादको बाटो ? ओलीको प्रश्न थियो । 

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ४ : ०६ बजे