नेपाली गीत संगीतको श्रीबृद्धिमा रेडियो नेपाल सधै अग्रपङिक्तमा उभिन्छ : कार्यकारी निर्देशक लामा

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपालका) कार्यकारी निर्देशक अमरध्वज लामाले नेपाली गीत संगीतको श्रीबृद्धिमा रेडियो नेपाल सधै अग्रपङिक्तमा उभिने बताउनुभएको छ ।

रेडियो नेपालले तिहार,नेपाल संवत् र छठपर्वका अवसरमा आज सिंहदरबारमा आयोजना गरेको पर्व विशेष धुनहरुको प्रस्तुतीमा कार्यकारी निर्देशक लामाले आगामी दिनमा नेपाली समुदायमा प्रचलित सबै पर्वका धुन निर्माण गरि सबै समुदायको अपनत्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने बताउनुभयो ।

मन्तव्यका क्रममा उहाँले प्रसारण पहुँच अभिबृद्धि गरी आम श्रोतागणको रुचि र चाहानाको आधारमा रेडियो नेपालका पुराना गीत सङ्गीतलाई डिजिटल प्लेटफर्ममा समेत राखिने बताउनुभयो ।

कार्यकारी निर्देशक लामाले समूहकार्यले संस्थाको कार्यसम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्नुहुँदै सरकारको सय दिनको उपलब्धीमा रेडियो नेपालले हांसिल गरेको सफलता समूहकार्यको परिणाम भएको बताउनुभयो ।

उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको समावेशी चरित्र स्थापित गर्दै सबै जातजाती, भाषा–भाषी र समुदायको प्रतिधित्व सुनिश्चित हुनेगरी रेडियो नेपालले विभिन्न २५ वटा भाषामा समाचार प्रसारण गरिरहेको जानकारी दिनुभयो ।

मौलिक धुनका सर्जहरुप्रति सम्मान व्यक्त गर्नुहुँदै कार्यकारी निर्देशक लामाले पर्वविशेष संगीत धुनहरुको प्रस्तुतीका लागि सम्वद्ध सबैमा आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा नायव कार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले आगामि दिनमा पनि विभिन्न पर्वका अवसरमा रेडियो नेपालले सांगीतिक प्रस्तुती राख्ने बताउनुभयो ।

पर्व विशेष संगीत धुनहरुको प्रस्तुतीमा मंगल धुन, देउसी धुन,नेपाल संवत् धुन, छठ धुन र भैलो धुन राखिएको थियो
पर्व विशेष धुनहरुको प्रस्तुतीमा मनराजा नकर्मी ,बद्रि विशाल तण्डुकार, डा. निरञ्जन भण्डारी, न्हुछे मर्हजन,सुनिल बर्देवा,नवराज गुरुङ,दिपक सुनाम ,हरिशंकर चौधरी,खड्ग गर्बुजा,खड्ग गन्दर्भ र रुबिन गन्दर्भको सहभागिता रहेको थियो ।

यस्तै कोरसमा निर्मला घिसिङ,सुखकला राई, हरिशंकर चौधरी, प्रज्वल खड्का, सितु मानन्धरको प्रस्तुती थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो नेपालको अनलाइन पोर्टल https://radionepalonline.com/, radionepal facebook page / radionepal youtube channel मार्फत् गरिएको थियो ।

मंगल धुनको प्रस्तुतीमा बाँसुरी–निरञ्जन भण्डारी, किबोर्ड–न्हुछे मर्हजन, खीं/मादलमासुनिल बर्देवा,गीतारमा नवराज गुरुङ, बेस गीतार –दिपक सुनाम , हार्मोनियममा हरिशंकर चौधरी र इफेक्टस् खड्ग गर्बुजाको रहेको थियो ।

त्यस्तै नेपाल संवत् धुन तर्फ, हार्मोनियममा मनराजा नकर्मी , कोरसमा निर्मला घिसिङ,सुखकला राई, हरिशंकर चौधरी, प्रज्वल खड्का, सितु मानन्धरको प्रस्तुती थियो भने धिमेबाजामा बद्रि विशाल तण्डुकार,सारङ्गीमा खड्ग गन्दर्भ सहितको प्रस्तुती थियो ।
छठ धुन तर्फ हरिशंकर चौधरी हार्मोनियममा, किबोर्ड–न्हुछे मर्हजन, तबल सुनिल बर्देवा,गीतारमा नवराज गुरुङ, बेस गीतार –दिपक सुनाम , हार्मोनियममा हरिशंकर चौधरी र इफेक्टस् खड्ग गर्बुजाको प्रस्तुती रहेको थियो ।

भैलो धुनको प्रस्तुतीमा पनि सारङ्गी खड्ग गन्धर्व, बाँसुरीमा निरञ्जन भण्डारी, किबोर्ड–न्हुछे मर्हजन, मादलमा , सुनिल बर्देवा,गीतारमा नवराज गुरुङ, बेस गीतार –दिपक सुनाम , हार्मोनियममा हरिशंकर चौधरी र इफेक्टस् खड्ग गर्बुजाको रहेको थियो।

आज प्रस्तुत गरिएका धुनहरु रेडियो नेपालको युट्युब च्यानलमा गएर हेर्न र सुन्न सकिने छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : ५१ बजे