कर्णाली प्रदेशका लागि एमालेद्वारा राष्ट्रियसभाको उम्मेदवार छनोट

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ ।

राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन हुनुभएको हो । 

राष्ट्रियसभाका लागि नौ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले बताउनुभयो । 

राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता वोगटी (एमाले) को फागुन १८ पदावधि सकिदैँ छ । अन्य राजनीतिक दलहरुले अहिले उम्मेदवारको टुङ्गो लगाउनका सकेका छैनन् । 

कर्णालीमा कस्तो छ मतभार ?

राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा मतभारका हिसाबले सबैभन्दा ठूलो दल माओवादी केन्द्रमा रहेको छ । एमाले दोस्रो, नेपाली कांग्रेस तेस्रो दल, नेकपा (एकीकृत समाजवादी) चौथो र रापप्रा नेपाल पाँचौँ दलका रुपमा रहेको छन् । 

माओवादी केन्द्रका स्थानीय तहमा ५२ पदाधिकारी छन् । उनीहरूको मतभार ९३६ र प्रदेश सांसद १२ जनाको ५७६ मतभार गरेर कुल १५१२ मतभार छ ।

एमालेकासँग प्रदेश सांसद १३ जना छन् । उनीहरुको मतभार ६२४ र ४५ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार ८१० रहेको छ । एमालेसँग कुल मतभार १४३४ रहेको छ । 

नेपाली कांग्रेससँग स्थानीय तहका जनप्रतिनिधिको मतभार ७२० र ६ जना प्रदेश सांसदको २८८ मतभार छ । कांग्रेससँग कुल मतभार १००८ मत छ ।

कर्णालीमा एकीकृत समाजवादीका तीन जना प्रदेश सांसद  छन् भने स्थानीय तहका १३ जना जनप्रतिनिधि छन् । प्रदेश सांसदको मतभार एक जना बराबर ४८ हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको एक जना बराबर १८ हुन्छ । तीन जना प्रदेश सांसदको मतभार १४४ र १३ जना स्थानीय तहका जनप्रतिनिधिको मतभार २३४ जोड्दा ३७८ रहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ११ : १४ बजे