सुदूरपश्चिममा एमालेको जिल्ला अधिवेशन : कुन जिल्लामा को–को अध्यक्षका आकांक्षी ?

धनगढी । नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा नेतृत्वका आकांक्षीले दौडधुप बढाएका छन् । 

सुदूरपश्चिमका नौ जिल्लामध्ये अछाममा मात्र एक जनाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा दावी गरेका छन् । बाँकी जिल्लामा आकांक्षी आन्तरिक तयारीमा जुटेका छन् । एमालेको जिल्ला महाधिवेशन २३ पुसमा  हुँदैछ ।

जसमध्ये कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र डेजी पोण्डे आकांक्षी देखिनुभएको छ । एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित थापा र सचिवमा निर्वाचित चन्दले एमाले विभाजनपछि अध्यक्ष र उपाध्यक्षको पद सम्हाल्नुभएको छ । दुवै जनाले स्वभाविक रुपमा आफूहरुको उम्मेदवारी हुने बताउँदै आउनुभएको छ ।

थापाले आफू उपाध्यक्ष भइसकेकाले स्वभाविक रुपमा अध्यक्षमा दाबी रहने बताउनुभयो । उहाँले सहमतिमै आफू अध्यक्ष बन्ने दावीसमेत गर्नुभयो ।

चन्दले पनि स्वभाविक रुपमा आफू अध्यक्षको दावेदार भएको बताउनुभएको छ । ‘विद्यार्थीकालदेखि नै एमालेको संगठन निर्माणमा जुटेको र अहिलेसम्म मैले त्याग गरेको छु,’ चन्दले भन्नुभयो, ‘त्यसैले पनि म अध्यक्षका लागि दावेदार हुँ, सबैले मलाई सहजरुपमा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’ अर्का आकांक्षी पाण्डेले पनि पार्टी निर्माणका लागि लामो समय काम गरेको भन्दै अब नेतृत्वमा आउन चाहेको बताउनुभएको छ ।

त्यसैगरी कञ्चनपुरमा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट अध्यक्षमा लागि आकांक्षी देखिनुभएको छ । दुवै जना आन्तरिक तयारीमा रहे पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छैन ।

डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउदसँगै अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पाल आकांक्षी देखिनुभएको छ । तर, कुनै पनि नेताले अहिलेसम्म उम्मेदवारी घोषणा गर्नुभएको भने छैन । 
 
त्यसैगरी बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी हुनुहुन्छ । दुवै नेताले आन्तरिक तयारी थालेपनि  उम्मेदवारी घोषणा गरिसक्नुभएको छैन ।

दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी सहमति भए पुनः अध्यक्ष बन्ने दाउमा हुनुहुन्छ । उहाँसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल, ज्ञानेन्द्र घर्ती पनि अध्यक्षका लागि आकांक्षी देखिनुभएको छ ।

त्यस्तै बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी हुनुहुन्छ ।

बझाङमा भने अहिलेसम्म अध्यक्षमा आकांक्षी खुलिसकेका छैनन् । एमाले जिल्ला सदस्य नवराज भट्टका अनुसार अहिले नेताहरु संगठन विस्तारका लागि स्थानीय तह केन्द्रित भएका कारण आकांक्षी खुलेका छैनन् ।

यस्तै अछाममा प्रकाश शाहले पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उनीसँगै अछाममा चन्द्र बोहरा र कृष्णप्रसाद जैसी पनि अध्यक्षका आकांक्षी हुनुहुन्छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ११ बजे