चराचुरुङ्गीको आकर्षणको केन्द्र बन्दै लुम्बिनी, जाडो छल्न साइबेरियाबाट पनि आउँछन् चरा

बुटवल । लुम्बिनी बौद्धमार्गीको आकर्षणको स्थल मात्र नभई चराचुरुङ्गीको पनि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । 

लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पति, फूल बगैँचा, नहर र पोखरी आदिले गर्दा लुम्बिनीमा चराचुरुङ्गीको आकर्षण बढेको हो ।

लुम्बिनीमा २९० प्रजातीका चराचुरुङ्गी छन् । कतिपय चरा रैथाने छन् भने कतिपय बसाइसराइ गरेर आउने गरेका छन् । विशेष गरी जाडोयाममा अत्यधिक चिसो हुने स्थान साइबेरिया, मङ्गोलिया, काजकिस्तान, तुर्कमेनिस्तान, तिब्बतसम्मका चरा लुम्बिनीको न्यानो घाममा जलचर गर्न आउने गरेको पाइएको छ । 

आगन्तुक चरामा मरुन सुनजुरेहास, खडरवर्ड, काली जुरे, मालक आदि रहेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो। लुम्बिनी विकास कोषले गुरुयोजनामा १.३ किलोमिटरलाई केन्द्रीय नहर, सर्कुलर लभीको गोलाकार पोखरी र प्रत्येक विहार क्षेत्रमा चराको वासस्थान र आकर्षण बढाउन सुन्दर पोखरीको निर्माण गरेको छ । 

लुम्बिनीको अर्को सुन्दर पक्ष यहाँ पाइने दुर्लभ प्रजातीका चरा (क्रेन) पनि रहेको भट्टराईले बताउनुभयो । यसका लागि गुरुयोजना अनुसार लुम्बिनी एक सय हेक्टर भूमिलाई सारस संरक्षणका लागि सिमसार क्षेत्र बनाइएको छ । जसलाई अमेरिकन क्रेन फाउन्डेशनको सहकार्यमा सारस संरक्षणको प्रयासको थालनी गरिएको छ । लुम्बिनीभित्र र बाहिरी ग्रामीण क्षेत्रमा करिब पाँच सय सारस पाइने गर्छन् । 

बुद्ध र सारस बीचमा दया र करुणा जोडएअनुसार बुद्धका  काकाका छोरा देवदत्तले बाणले घाइते बनाएको सारसलाई बुद्धले औषधि गरी जीवित तुल्याएको घटनाले पनि लुम्बिनी सारसको प्रिय स्थल बन्न पुगेको मान्यता छ । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी क्षेत्रमा सारसपछि स्थानीय चरामा भुडीफोड, गरुड, धोधीफोड, हुटिट्याउँ, भँगेरा, बगेडी, सिलसिले, चिल, कृष्णकांड, नीलकण्ठ लगायत सयौँ प्रकारका छन् ।

लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतबारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलबिहारको आनन्द लिने अनुकूल वातावरण भएको हुँदा लुम्बिनी चराहरूको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको योजना प्रमुख भट्टराईले बताउनुभयो । 

लुम्बिनी विकास गुरुयोजनाले निर्दिष्ट गरे अनुसार लुम्बिनीमा ६० प्रतिशत भू-भाग हरित क्षेत्र, ४० प्रतिशत क्षेत्र नहर पोखरी एवं सुन्दर उद्यान भएको हुँदा लुम्बिनी चराको पवित्र स्थल बन्दै गएको उहाँको भनाइ छ । 

विश्वबाट कतिपय पर्यटक, चराविद् तथा चराबारे अनुसन्धान गर्नेहरू वर्षेनी सयौँको सङ्ख्यामा लुम्बिनी र वरपरका तालतलैया क्षेत्रमा आउने गर्छन् । सारस संरक्षणमा लामो समयदेखि लागेका रवीन्द्रमान श्रेष्ठले लुम्बिनी क्षेत्रमा २५० को सङ्ख्यामा सारस रहेको बताउँदै संरक्षणका लागि विभिन्न कार्यक्रम गरिएको बताउनुभयो ।

केही वर्षअघि लुम्बिनी क्षेत्रको सिमसार क्षेत्रमा विभिन्न ४१ प्रजातिका जलपंक्षीका ९१० प्रकारका चरा भेटिएका थिए । लुम्बिनी क्षेत्रको जलपंक्षी गणना गर्दा चराको प्रजाति र सङ्ख्या खुलेको हो । 

लुम्बिनीसँगै नजिकैको गैडहवा ताल क्षेत्र र अन्य क्षेत्रमा समेत विभिन्न प्रजातिका चराहरू देख्न सकिन्छ । गैडहवा ताल वरपर १२ प्रजातिका चराहरू गणनाका क्रममा फेला परेको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ । 

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ४६ बजे