चीनविरोधी गतिविधि गर्न नेपाललाई एमसीसी सहयोग : महासचिव गजुरेल

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको बताउनुभएको  छ ।

आइतबार नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २२ दलीय मोर्चाले ​​​​​​​मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित नगर्न माग गर्दै गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेलले नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको र एमसीसी सम्झौता सदनबाट अनुमोदन गरेमा अमेरिकी सेना नेपाल आउन सक्ने बताउनु भएको हो । 

महासचिव गजुरेलले छिमेकी देश वा अन्य देशविरुद्ध क्रियाकलाप गर्न आफ्नो भूमि प्रयोग गर्न नेपालले दिन नहुने भन्दै उहाँले यसका लागि एमसीसी स्वीकार्न नहुनेमा जोड दिनुभएको छ । 

माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले ‘जनराष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, वैदेशिक हस्तक्षेप मुर्दावाद, देश बेच्न पाइँदैन’ जस्ता नारा लगाउनुका साथै एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै विरोध प्रदर्शन गरेका थिए। 

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ४ : ०९ बजे